तामाङभाषा सरकारी कामकाजमा प्रयोगका आधार र आलेखन पद्धति

 

तामाङभाषा सरकारी कामकाजमा प्रयोगका आधार र आलेखन पद्धति  

डा.लोकबहादुर लोप्चन

 का.मु.सचिव भाषा आयोग

  • सरकारी कामकाजमा प्रयोगसम्बन्धी सबल आधारहरू

तामाङभाषाको छनोट

सरकारी कामकाजका भाषााका रूपमा तामाङभाषाको प्रयोग गर्न निश्चित आधारहरू पूरा गरेको हुनुपर्दछ। भाषा आयोगले तामाङ भाषालाई बागमती प्रदेशका सरकारी कामकाजको भाषाका रूपमा सिफारिस गर्दा आधारहरू तय गरेको पाइन्छ। शिक्षा क्षेत्रमा तामाङ भाषाको प्रयोग गर्नु सरकारी कामकाजको भाषामा प्रयोगका निमित्त मूल आधार मानिएको छ। भाषाआयोगको सिफारिसमा शिक्षामा मातृभाषालाई माध्यम र विषयका रूपमा पठनपाठन गरेर सरकारी कामकाजको भाषाको रूपमा कार्यान्वयन गर्न सुझाएको छ।

शिक्षामा तामाङ भाषालाई माध्यम र विषयका रूपमा  प्रयोग गर्ने सन्दर्भम भाषिक लेख्य पद्धतिको जोडिएर आउँछ। हरेक भाषाको आफ्नै मौलिक लेख्य पद्धति हुन्छ। कुनै पनि भाषामा लेखनका लागि प्रयोगमा आएको लिपिको छनोट र प्रयोगसमेत भाषिक छनोटअन्तर्गत पर्दछ। शिक्षामा तामाङभाषाको प्रयोग गर्न यस भाषाको मौखिक र लिखित पद्धतिको सर्वेक्षण गर्नुपर्दछ। यस भाषामा रूपमा प्रयोग हुने लेख्य पद्धति आवश्यक हुन्छ। यसले जाति र भाषि समुदायको धर्म, परम्परा, संस्कार, भेला सम्मेलनमा प्रयोग हुने भाषिक स्वरूपलाई समेत प्रतिनिधित्व गर्दछ। यसबाहेक उक्त भाषाको शिक्षा, सञ्चार, श्रव्यदृश्य र छापा माध्यममा प्रयोग आदि पक्षहरू समेत ख्याल गर्नुपर्दछ। शिक्षामा पनि अनौपचारिक शिक्षा, विद्यालय र विश्वविद्यालय शिक्षामा प्रयोगको स्थिति के कस्तो छ भन्ने विषय समेतलाई आधार बनाइनु पर्दछ।

तामाङभाषाका क्षेत्रीय भेदहरूको पहिचान

तामाङभाषाको क्षेत्रीय भेदहरूमा पूर्वीय र पश्चिमी भेदमध्ये कुन भेद सरकारी कामकाजको भाषा हुने निर्क्यौल गर्नु भन्ने बुझाउँछ। यस भाषाको क्षेत्रीय भेदहरूको पहिचान र सूचीकरण गर्न उक्त भाषाहरूको विकास र प्रयोग अवस्थाको आधारमा शिक्षामा प्रयोगका लागि उपयुक्त भेदको छनोट गर्न  भाषा आयोगबाट तय गरिएको सरकारी कामकाजको भाषा छनोटका आधारहरूलाई मापदण्डको रूपमा लिई भाषा र लिपिको चयन र निर्धारण गर्न उपयुक्त देखिन्छ।

 भाषाको विकासका पक्षहरू

भाषाको विकास भन्नाले स्तरगत रूपमा उक्त भाषालाई बहुसङ्ख्यक जनताले बोल्ने र प्रयोग गर्ने हुनुपर्छ।भाषाको संरचनात्मक पक्षहरूको विकास भएको हुनुपर्दछ। सामान्यतया तामाङभाषाको विकास भन्नाले यस भाषाको वर्ण पहिचानदेखि पाठसङग्रह समेतलाई जनाउँछ।खासगरी कुनै पनि भाषाको विकासअन्तर्गत देहायका कार्यहरू पर्दछन्ः

  • वर्ण पहिचान
  • शब्द सङकलन
  • शब्दकोश निर्माण
  • भाषिक इतिहास लेखन
  • व्याकरण लेखन
  • लेखन पद्धति निर्माण
  • भाषा र साहित्यको भण्डार
  • पाठसङग्रह
  • भाषिक यान्त्रिकीरण
  • किंवदन्ती
  • गीत सङ्गीत
  • सांस्कृतिक अभिलेखीकरण

भाषाको प्रयोग

भाषा मौखिक पद्धतिमा जीवन्त रहन्छ।त्यसैले  तामाङभाषाको जीवन्ततालाई भाषाको पुस्तान्तरण वा वंशान्तरणसँग जोडेर हेर्ने गरिन्छ।यसलाई सामा जिक जीवन पद्धतिमा प्रयोग भएमा जीवित भाषा मानिन्छ।तर सरकारी कामकाजको भाषा लेख्य परम्परा भएका भाषासँग सम्बन्धित छ। यसका लागि यस भाषाको भाषिक र साहित्यिक विकासले  व्यापकता र  सम्प्रेषणीय भाषाका रूपमा विकास भइसकेको हुनुपर्दछ।

 तामाङभाषाको स्तर निर्धारण

तामाङ भाषालाई सरकारी कामकाजी भाषाा रूपमा निर्धरण गर्दा भाषा आयोगले लिएका आधारहरू देहायको तालिकामा प्रस्तुत गरिएको छः

तालिका-१

सरकारी कामकाजमा तामाङ भाषाको छनोटका आधारहरू

क्र.सं. सिफारिस गरिएका आधारहरू सूचकहरू सूचकगत उपलब्धि र सुझावहरू
१. अधिक जनसङ्ख्याको आधार नेपाल उत्पत्तिका भाषा र लिपि

शीर्ष क्रममा पर्ने भाषा

 

तामाङ जातिको जनसङ्ख्याः ५.६२%, भाषिक वक्ताः ४.८८%, बागमती प्रदेशमा जनसङ्ख्याः ४.१७%

तामाङ जनसङ्ख्या र वक्ताबीच अन्तर हुँदा तामाङ भाषा बोल्न छोडिएकोले पुस्तान्तरणको कार्यक्रम आवश्यक छ।

 

२. स्तरगत योजनाको सैद्धन्तिक आधार छनोट, स्तरण, कार्यान्वय र कार्यविस्तार प्रक्रिया बढेको,

भाषाको शब्द, वाक्य र उच्चारणका भेदसमेत निर्धारण भएको,

तामाङ भाषामा लेखन पद्धतिको विकास भइरहेको, तामाङ भाषाका पूर्वी र पश्चिमी भेद रहनाका साथै तामयीग, देवनागरी र परम्परागत सम्भोटा लिपिसहित  बहुलिपिको प्रयोग हुँदै आएको छ।
लेखन प्रणालीको आधार शब्दकोश र व्याकरण प्रकाशन भई पठनसामग्री उपलब्ध भएको हुनुपर्ने

भाषाको साहित्य, अभिव्यक्ति, सञ्चार सम्प्रेषण

अभिलेखीकरणमा लेख्य पद्धतिको विकास भएको

प्रज्ञा तामाङ नेपाली र अङग्रेजी शब्दकोश प्रकाशित छ।प्रज्ञा तामाङ व्याकरण उपलब्ध रहेको छ। गोरखापत्रमा प्रकाशन, नेपाल टेलिभिजनमा र रेडियो नेपालबाट समाचार प्रसारण, तामाङ डाजाङ साहित्यिक पत्रिका प्रकाशन भइआएको छ।
अभिलेखको आधार अभिलेख राख्न र सूचना सम्प्रेषण गर्न सकिने तामाङ भाषाबाट बहुभाषिक सूचना प्रकाशन हुने गरेको छ।भाषा आयोग, सूचना तथा सञ्चार मन्त्रालय र अन्य संस्थाबाट तामाङ भाषाको माध्यमबाट सूचना सम्प्रेषण हुँदै आएको छ।
५. आधारभूत सेवामा प्रयोगको आधार शिक्षा, स्वास्थ्य, सुरक्षा, कानुन निर्माण, अड्डा अदालत, जनप्रशासन,जनजीवका, प्रविधि, कृषि, वातावरण, वित्तीय कारोबार, विपद् व्यवस्थापन, नागरिक सचेतना, विद्यालय शिक्षामा तामाङ भाषा विषय पठनपाठन भइरहेको छ।नागरिक सचेतनाकालागि विभिन्न सरकारी र गैरसरकारी निकायबाट तामाङ भाषामा समेत सूचना तथा सन्देश सम्प्रेषण हुँदै आएको छ।तामाङ भाषामा श्रव्यदृश्य बालसामग्री, अनलाइन अध्ययन सामग्री उपलब्ध छन्।
६. शिक्षाको माध्यम  भाषाको आधार प्रदेशभित्रका विद्यालय, विश्वविद्यालय, शिक्षण संस्थाको शिक्षण माध्यमको रूपमा प्रयोग भएको हुनुपर्ने, विद्यालय तहको प्रारम्भिक कक्षामा तामाङ भाषा विषयका रूपमा मात्र सीमितछ। सङ्घीय विश्वविद्यालयमा तामाङ भाषा विभाग स्थापना र प्रदेश विश्वविद्यालयमा तामाङ भाषा विभाग स्थापना भएको छैन।

आधारभूत तहसम्म तामाङ माध्यम भाषामा शिक्षाको प्रबन्ध गर्नुपर्ने देखिन्छ।

७. वक्ताहरूको सघनता र विस्त रको आधार भाषिक वक्ताको सघनता र फैलावट भएको

वक्ताको फैलावट भएको

तामाङ भाषाका वक्ताहरू नेपालका ७७ वटै जिल्लाका साथै भारतको दार्जिलिङ, सिक्किम, बर्मा, भुटानमा रहेका छन्।
८. भाषाको जीवन्तताको आधार भाषिक पुस्तान्तरण भएको, मौखिक र लेख्य परम्परा भएको तर तेस्रो पुस्ता वा नाति पुस्ताले भने तामाङ भाषा बोल्ने छोड्न थालेको पाइन्छ। लेख्य पद्धतिमा लिपिगत विविधता र विश्वविद्यालयमा पठनपाठन हुँदा  भाषा र लिपिको मानक रूपमा विकास गरिनुपर्ने देखिन्छ।
९. सञ्चारमा प्रयोग भएको विद्युतीय र मुद्रणबाट सञ्चारमा प्रयोगमा भइरहेको गोरखापत्रको नयाँ नेपाल पृष्ठमा प्रकाशन, नेपाल टेलिभिजन र रेडियो नेपालमा प्रसारण भइरहेको छ। तामाङ डाजाङ साहित्यिक पत्रिकाले दुईसयअङक पार गरिसकेको छ।
१०. प्रविधउन्मुख भाषको आधार प्रविधिमा प्रयोग भइरहेको भाषा,

अन्तरभाषा अनुवाद पद्धतिउन्मुख

तामाङ भाषा लेखनमा प्रयोगमा आउने देवनागरी र परम्परागत सम्भोटा लिपिमा प्रविधिगत पहुँच छ तर तामयीग लेखन पद्धति वा लिपिमा अन्तरभाषा अनुवाद र लिप्यन्तरणको विकास गर्नुपर्ने देखिन्छ।
११. भाषाका वक्ता र भाषिक समुदायको आधार सम्बन्धित भाषाका वक्ता, सहभागिता र क्रियाशीलता अन्योन्यास्रित भएको हुनुपर्ने तामाङ जातिमा भाषिक बफादारिता र इमानदारिता ८६.७७% भन्दा  माथि रहेको छ। तामाङ जातीय/भाषिक सङ्‌घसंस्थाहरूजस्तो नेपाल तामाङ घेदुङलगायतले तामाङ भाषा, साहित्य र लिपिको विकासमा कार्य गरिरहेका छन्।

 

स्रोतः बागमती प्रदेश सरकारी कामकाजको भाषा कार्यान्वयन कार्यदलको प्रतिवेदन (२०८०)

ख)  आलेखन पद्धतिको विकास

 तामाङ भाषामा लेखन पद्धतिको विकास

तामाङ भाषा र लिपिको सम्बन्धमा नेपाल तामाङ घेदुङको मिति २०४९/१२/२२ गते बसेको प्रथम राष्ट्रिय कार्यकारिणी समितिको बैठकबाट सम्बोटा लिपिलाई नै तामाङ लिपि मान्ने र नेपालमा रहेका अन्य भाषाभाषीका बीचमा तामाङ भाषा साहित्यलाई लैजानका लागि देवनागरी लिपमा र अन्तर्राष्ट्रिय रूपमा परिचय दिन आइ.पि.ए. (International Phonetical Alphabet) प्रयोग गर्ने गराउने निर्णय देखिन्छ।साथै, वि.सं. २०५२ पुस १ र २ गते भारतको सिक्किम गान्तोकमा आयोजित अन्तर्राष्ट्रिय तामाङ भाषा लिपि गोष्ठीमा नेपाल तामाङ घेदुङ र सिक्किम तामाङ बौद्ध सङ्घले उछेन (लामा धर्मशास्त्र लिपिबद्ध लिपि) लिपिलाई परिस्कृत गरी तामाङ लिपिको रूपमा अपनाउनुपर्ने निचोडमा पुगेको थियो।वि.सं. २०५३ असारमा भारतीय केन्द्रीय भाषा संस्थान, मैसुर दक्षिण भारतमा १५ दिने गोष्ठी सम्पन्न भयो।सो गोष्ठीमा नेपालबाट भाषाविद् अमृत योन्जन तामाङ, सिक्किमबाट के. एम. तितुङ र महेन्द्रकुमार लामा लगायतका सहभागी हुनुहुन्थ्यो।सोही गोष्ठीमा भाषा ध्वनिवैज्ञानिक जोई रेड्डीसँग पनि छलफल भई सम्बोटा लिपिलाई केही परिमार्जन गरी तामयीग लिपि तयार गरिएको थियो।

वि.सं. २०५४ चैतमा नेपाल तामाङ घेदुङको पूर्व मोरङ जिल्लाको उर्लाबारीमा सम्पन्न चौथो राष्ट्रिय सम्मेलनमा भाषा र लिपिको विकासको सन्दर्भमा सम्भोटा लिपिलाई तामाङ भाषाको आधारभूत लिपि मान्ने, तामाङ भाषाको लेखनमा सबै सम्भोटा अक्षर प्रयोग नहुने तथा कुनैका लागि उच्चारण नपुग्ने हुँदा प्रयोगविहीन अक्षरहरू भिक्ने र नपुग भएकोलाई बनाई विकास गर्दै जाने, सिक्किम सरकारको सहयोगमा सम्भोटा लिपिलाई तामाङ उच्चारण प्रणालीअनुरूप बनाउने प्रयत्न गरिरहेकाले सिक्किम तामाङ बौद्ध सङ्घसँग मिलेर तामाङ उच्चारण (ध्वनि) प्रणाली अनुरूपको लिपिको विकास गर्ने र त्यसको नाम तामयीग राख्ने निर्णय भएको थियो।सोहीबमोजिम उक्त विकसित लिपिको आधारम तामाङ साहित्यको विकास तथा  पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण एवम् पठनपाठनमा लैजाने निर्णय भएको थियो।त्यस्तै, भारतस्थित सिक्किम राज्यमा तामाङ बौद्ध सङ्घको आयोजनामा जून ८ र ९ सन् १९९८ मा अन्तर्राष्ट्रिय तामाङ भाषा, लिपि विषयक सम्पन्न गोष्ठीमा नेपाल तामाङ घेदुङ, अखिल भारतीय तामाङ बौद्ध सङ्घ र सिक्किम तामाङ बौद्ध सङ्घका भाषिक अभियन्ता तथा भाषाविद्हरूक उपस्थिति रह्यो।गोष्ठीबाट तामयीग लिपि नामकरण स्वर्ण वर्ण ५ र व्यञ्जन वर्ण २५ निर्धारण गरिएकोमा हाल सिक्किममा कक्षा १२ सम्मको अध्ययन, अध्यापन भइरहेको छ भने सिक्किम हेराल्ड सरकारी समाचारपत्र प्रकाशित भइरहेको छ।यसैगरी नेपालमा गोरखापत्रमा मासिक दुईपटक एकपृष्ठको सामाग्री हालसम्म प्रकाशित भइरहेका छन्।

नेपालको पाँचौ ठूलो जनघनत्व ओगटेको तामाङ समुदायको राष्ट्रिय संस्था नेपाल तामाङ घेदुङले सम्भोटा लिपलाई नै तामाङ भाषाको आधारभूत लिपि स्वीकार गर्नुमा विभिन्न कारणहरु छन्।जसमध्ये तामाङ समुदाय बौद्ध धर्म मान्ने समुदाय, तामाङ भाषाको ध्वनिलाई अभिव्यक्त गर्न सक्ने, तामाङ समुदायको प्रमुख धरोहरहरूमध्ये लामा गुरुहरूले प्रयोग गर्ने लिपि, तामाङ भाषा र छ्योईका कतिपय शब्दहरुमा एकरूपता देखिनु, एउटै भाषाको परिवारका भाषा हुनु आदि हुन्। यसका साथै नेपालको बागमती प्रदेशमा सरकारी कामकाजको भाषाका रूपमा तामाङ भाषाको प्रयोग गर्दा यसै लिपिमा साइनबोर्ड, लेटरप्याङ र छाप समेत निर्माण भई प्रयोग गर्न थालिएको छ।भाषा आयोगको प्राविधिक सहयोग, स्थानीय सरकारको आर्थिक सहयोग र नेपाल तामाङ घेदुङको व्यवस्थापनमा १३ भन्दा बढी पालिकाहरुमा तामयीग लिपिमा आधारित तामाङ भाषा विषयको पठनपाठन भइरहेको छ।

भाषा आयोगको मिति २०८१/३/२६ गतेको बैठकबाट सङ्घ, प्रदेश र स्थानीय तहका निकायहरू र नेपाल तामाङ घेदुङलगायत तामाङ जाति/भाषासम्बन्धी अन्य संस्थाहरू भएमा सोसमेतको सहमतिमा तामाङ भाषाको लेखनका लागि तामयीग, देवनागरी र परम्परागत लिपिहरू प्रयोग गर्नका लागि सिफारिस भएअनुसार प्रचलित तामाङ भाषा र यस भाषाको लेखनका लागि बहुलिपिहरूको प्रयोग हुने सुनिश्चित भएको देखिन्छ।

भाषा र लिपि प्रयोग

नेपालको संविधानको धारा ३२ मा भाषा र लिपि संरक्षणको संवैधानिक अधिकार कुनै पनि जाति एवम् भाषिक समुदायलाई प्रदान गरिएको छ। त्यसैगरी बागमती प्रदेश सरकारी कामकाजको भाषा ऐन २०८० को दफा ३ को उपदफा (२) मा उपदफा (१) को प्रयोजनका लागि देवनागरी लिपिमा लेखिने नेपाली भाषाका अतिरिक्त तामाङ भाषाको लागि प्रयोग हुने लिपि र नेपाल भाषाको लागि प्रयोग हुने लिपिसमेतलाई सरकारी कामकाजको भाषाको रूपमा प्रयोग गर्न सकिनेछ।

उल्लिखित सन्दर्भमा तामाङ भाषाका लेखनमा प्रयोग हुने लिपि भन्नाले तामाङभाषा लेखनमा प्रयोग भएका लिपिहरू वा तामाङ भाषा लेखनमा एक भन्दा बढी लिपि वा बहुलिपिको प्रयोग हुँदै आएको पाइन्छ। यसरी कुनै पनि भाषाको लेखनका लागि कुनै पनि तहको सरकारको स्वीकृति, सरकारी संस्था वा निकाय एवम् सम्बन्धित भाषाका वक्ता, समुदाय, अधिकार प्राप्त भाषिक संस्थाको आवश्यक्ता, सञ्चार र सम्प्रेषणीयता, अपनत्व, स्वीकार्यता एवम् प्रविधिगत पहुँचका आधारमा एक भाषाका लागि एकल लिपिको मात्र प्रयोग नभई बहुलिपि प्रयोग गर्न आवश्यक देखिन्छ। तर सरकारी कामकाजको भाषाका रूपमा यी भाषाहरूको मानकीकरण, आधुनिकीकरण र यान्त्रिकीकरण भइसकेपछि कुनै एक सर्वस्वीकार्य भाषिक भेद र लिपिको प्रयोग गर्न उपयुक्त हुन्छ।

बागमती प्रदेश सरकारको सरकारी कामकाजको भाषाको रूपमा तामाङ भाषाको प्रयोगको सन्दर्भमा तामाङ भाषामा प्रयोग भइआएका देहायअनुसारका लिपिहरूमध्ये कुनै एक वा एक भन्दा बढी लिपिहरू एकसाथ प्रयोग गर्न उपयुक्त हुने देखिन्छः

क) तामयीग लिपि

ख) देवनागरी लिपि

ग) परम्परागत सम्भोटा लिपि

भाषाको व्याकरण र सम्पादन

सरकारी कामकाजअन्तर्गत शिक्षामा तामाङभाषा प्रयोगका लागि हाल उपलब्ध व्याकरण, प्रयुक्त आलेखन प्रणाली र सम्पादन शैलीलाई प्रयोग ल्याइनु पर्दछ।तर दीर्घकालमा भने दुवै भाषाका भाषिद भेदसमेतको आधारमा भाषिक मानकीकरण हुने गरी व्याकरण विकास गर्न सकिन्छ।तत्कालका लागि तामाङ भाषाको सन्दर्भमा नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित प्रज्ञा तामाङ व्याकरणलाई प्रयोगमा ल्याउन उपयुक्त देखिन्छ।

भाषाको शब्दकोश र प्राविधिक शब्दावली

बागमती प्रदेशमा सरकारी कामकाज र शिक्षामा तामाङभाषाको कार्यान्वयन गर्न तामाङ  भाषामा शब्दकोशहरू उपलब्ध छन्।त्यसमा तत्कालका लागि भएका शब्दकोशहरू प्रयोगमा ल्याउनु उपयुक्त हुन्छ।तामाङ भाषाको सन्दर्भमा प्रज्ञा तामाङ नेपाली र अङग्रेजी शब्दकोशसहित अन्य शब्दकोशलाई उपयोग गर्न सकिन्छ। साथै तामाङ भाषाका विभिन्न क्षेत्रीय भेदहरूको समेत अध्ययन गरी बृहत तामाङ शब्दकोश विकासका कार्य प्रारम्भ गर्नुपर्ने देखिन्छ। त्यसैगरी प्राविधिक शब्दकोश अभाव रहेको हुँदा यसको विकास कार्य थालनी गर्न जरूरी छ।

भाषाको यान्त्रिकीकरणः यान्त्रिक अनुवाद र लिप्यन्तरण

बागमती प्रदेशमा सरकारी कामकाजको भाषाका रूपमा कार्यान्वयनमा आएका तामाङ र नेपाल भाषा र प्रविधिसम्बन्धी कार्यहरू भएका छन्।जसमा तामाङ भाषामा यान्त्रिक अनुवाद पद्धतिको प्रारम्भ भएको छ।तामाङ भाषाको डिजिटल पुस्तकालय स्थापना गरी यसमा सयौँ पुस्तकलाई डिजिटलाइज्ड गरिएको छ।त्यसैगरी काठमाडौँ विश्वविद्यालयले तामाङ भाषा र नेपालीभाषामा अन्तरभाषा अनुवाद पद्धतिको विकास गरेको छ।यसमा देवनागरी लिपिको प्रयोग भएको पाइन्छ।

  • अध्ययन अनुसन्धान र मानकीकरणको अवस्था

विश्वविद्यालयस्तरमा तामाङ भाषामा स्वदेशी र विदेशी अध्येताहरूबाट अध्ययन अनुसन्धान भएका छन्।त्यसैगरी नेपाल प्रज्ञा प्रतिष्ठान, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, भाषा आयोगका साथै नेपाल बाहिर सिक्किम प्रान्तमा विद्यालयस्तरमा पठनपाठन हुने गरेको छ।यसबाट तामाङ भाषाको विकास, मानकीकरण र लेख्य पद्धतिको स्थापनाका लागि ठोस आधार प्रदान गरिएको देखिन्छ।बागमती प्रदेशमा तामाङ  भाषालाई सरकारी कामकाजमा प्रयोगको सन्दर्भमा यी भाषाहरूमा भएका अध्ययन अनुसन्धान र मानकीकरणको अवस्थाको विश्लेषणसहित देहायअनुसार सुझाव प्रस्तुत गरिएको छः

तामाङ भाषषाको विकास्तर स्तर निर्धारण र प्रयोग सम्भाव्यता

क्र.संक. भाषिक विकास पक्षहरू भाषिक स्थिति   विकास गर्नुपर्ने वा सुझावहरू
१. अध्ययन अनुसन्धान
  क )विद्यालयमा पठनपाठन कक्षा ६ सम्म तामाङ भाषा विषय पठनपाठन भएको (तामयीग, देवनागरी र परम्परागत सम्भोटा लिपिमा) कक्षा १२ सम्म तामाङ भाषा विषयको पठनपाठन प्रबन्ध गरिनु आवश्यक छ।
  ख)क्याम्पसमा पठनपाठन क्याम्पस वा कलेज तहमा तामाङभाषा  विषयको भर्खरै पठनपाठन हुन थालेको छ। उच्च शिक्षमा स्नातक तहदेखि विद्यावारिधिसम्म तामाङ भाषा पठनपाठनको व्यवस्था गरिनु पर्दछ।
  ग)नेपाल प्रज्ञा प्रतिष्ठान भाषा तथा लिपि विभाग, नेपाल तामाङ घेदुङ रहेको छ। तामाङ प्रज्ञा प्रतिष्ठान गठन गरिनु पर्दछ।
  घ) तामाङ भाषा पुस्तकालय सञ्चालन राष्ट्रिय तामाङ पुस्तकालय स्थापना भएको छ। विद्युतीय माध्यमबाट तामाङ पुस्तक वा  पुस्तकालयीय सेवा सञ्चालन गरिनु पर्दछ।
२. भाषाको मानकीकरण
  क)व्याकरण प्राज्ञ तामाङ व्याकरण उपलब्ध छ। तामयीग, देवनागरी र परम्परागत सम्भोटा लिपिमा समेत व्याकरण लेखन गरिनुपर्ने
  ख)भाषा सम्पादन देवनागरी लिपिमा आधारित तामाङ आलेखन पद्धति विकास भएको छ। तामयीग लिपि र परम्परागत सम्भोटा लिपिमा आधारित तामाङ भाषा लेखन पद्धतिको विकास गरी लागू गरिनु पर्छ।
  ग)शब्दकोश प्रज्ञा तामाङ नेपाली र अङ्ग्रेजी शब्दकोश रहेको, व्यक्तिगत रूपमा लेखिएका अन्य शब्दकोशहरू  उपलब्ध छन्। पूर्वी र पश्चिमी तामाङ भाषाका शब्द प्रविष्टि सहितको तुलनात्मक शब्दकोश विकास गरिनु पर्छ।
  घ) प्राविधिक शब्दकोश विभिन्न पुस्तक, ग्रन्थ र लेखहरूमा छरिएर छन्। विभिन्न क्षेत्र र विषय समेटेर प्राविधिक शब्दकोशको विकास गरिनु पर्छ ।
३. भाषाको प्रविधीकरण
  भाषाको यान्त्रिक अनुवाद काठमाडौँ विश्वविद्यालयबाट तामाङ भाषा र नेपाल भाषामा  यान्त्रिक सामान्य अनुवाद गर्ने सुविधा छ। गुगल ट्रान्सलेसन पद्धतिको विकास गरिनु पर्दछ।
  क)               लिप्यन्तरण देवनागरी, तामयीग र परम्परागत सम्भोटा लिपिमा लेखिए पनि लिप्यन्तरण भएको पाइँदैन। गुगल ट्रान्सलेन्सनको विकास गरिनु पर्छ।

देवनागरी, तामयीग र परम्परागत सम्भोटा लिपिमा लिप्यन्तरणको पद्धतिको विकास गरिनु पर्छ।

स्रोतः बागमती प्रदेश सरकारी कामकाजको भाषा कार्यान्वयन कार्यदलको प्रतिवेदन (२०८०)

उल्लिखित भाषा आयोगबाट सरकारी कामकाजको भाषाका लागि तय गरिएका आधारहरू एवम् शिक्षामा प्रयोगका लागि आवश्यक आधारभूत पक्षहरू तामाङ भाषामा उपलब्ध देखिन्छन्। यसरी तामाङभाषाले सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्ने आधार क्रमशः पूरा गर्दै गएको देखिन्छ। साथै शिक्षामा क्षेत्रमा विगतदेखि नै विद्यालय तहमा विषयका रूपमा पठनपाठन हुँदै आएकोले केही ठोस आधार तयार भएको पाइन्छ। त्यसैगरी यस भाषाको अध्ययन र परीक्षण गर्दा विस्तारै स्थापित लेख्नु पद्धति उन्मुख हुँदै मानकीकरणको दिशामा अगाडि बढेको देखिन्छ ।

यति हुँदाहुँदै तामाङ भाषाको क्षेत्रीय भेदहरूबीचमा समुचित सन्तुलन, बहुलिपिको सुझबुझसहितको प्रयोग तथा तामाङ समुदायका विभिन्न व्यक्ति र संस्थाबाट हुँद आएका पृथक पहल र प्रयास जति महत्वपूर्ण र प्रशंसनीय छन्। उतिनै ती गौरवपूर्ण कार्यहरूलाई एकीकृत अभिलेखन र समष्टि तामाङ सम्पदाको रूपमा सम्बोधन गरेर छरिएका तर पवित्र उदेश्यबाट एक नदीका अनेक भङगालाहरू अविरल बगिरहेका तामाङ मेहनत र परिश्रमका बूँदहरूलाई एउटा मिलनविन्दु वा दोभानमा सङगम गर्नु गराइनु आजको  समस्त तामाङ समुदायको मुख्य धर्म, कर्म र कर्तव्य हो। तामाङ समुदायको हरेक व्यक्तिले तामाङ समुदायप्रतिको विशेष जिम्मेवारी बहन,  पुस्तैनी दायित्व निर्वाह र समुदायप्रति उत्तरदायी हुनुनै हरेक तामाङको भावी कार्यसूची हुनुपर्ने देखिन्छ ।

 

 

 

You might also like