अब अन्त्य हुनुपर्छ पदसँगै आर्यघाट पुग्ने सोच र व्यवहार ?
२०८२ साल भदौ २३ जेजी पुस्ताको वृद्ध र अन्धा शासक माथि धावा बोलेको पहिलो दिन । किनकि शासकले उनीहरूको आवाज र अधिकारलाई सामाजिक सञ्जाल र युट्युब बन्द गरेर स्ततितगान गराउन चाहन्थे। तर उनीहरूले विद्रोहको रोजे र शासकलाई रगत वा अमूल्य जीवन बलिदान गराएर केही घण्टा पश्चात घुँडा टेक्याई छाडे र आफ्नो पुस्ताको अधिकार फर्काएरै छोडे । यसरी नै विगतका आन्दोलनहरूमा युवा पुस्ताले नै जीवन बलिदान दिएर राणा शासन र राजा शासनलाई फालेको हो । जेनजीले प्रारम्भ गरेको यो आन्दोलन वा विद्यार्थी पुस्ताले गरेको विद्रोह नेपालको राजनीतिक इतिहासमा असाध्यै क्रुर, निर्मम र आततायी बन्यो । शासकीय बल, बन्दुकले क्षणभरमै कलिला विद्यार्थीहरू मारिन पुगे । जेनजी आन्दोलनमा सहिद हुन पुगे १९ जना होनहार युवाहरू। जबकि म्याद गुज्रेका र जीवनबाटै यस धर्तीबाट विदा हुनुपर्नेहरूले बन्दुक र सत्ता चलाइरहेका छन् ।
यसका पछाडि हाम्रो व्यवस्थामा केही त्रुटिहरू छन् जुन सुधार गर्नु जरूरी छ। विश्वका अन्य मुलुकहरूमा राजनीतिक कार्यकारी पदमा दुई पटक मात्र कुनै एक व्यक्तिले जिम्मेवारी निर्वाह गर्न पाउँछन् । नेपालमै पनि सर्वोच्च राजनीतिक पद राष्ट्रपतिमा दुई कार्यकाल र स्थानीय तहका प्रमुखमा पनि दुई कार्यकालको अभ्यास छ। यसले गर्दा यी पदहरूमा प्रवेश गर्ने र बहिर्गमनको निश्चित आधार र सीमा कायम भएको छ । तर सङ्घ र प्रदेश तहमा अनन्त कालसम्म प्रधानमन्त्री, मुख्यमन्त्री र मन्त्री हुन पाउने कानुन प्रावधान राखिएको छ जुन भदौ २३ को कालो दिनको प्रमुख कारण हो । त्यसैगरी पाटीको प्रमुख पदहरूमा अनन्तकाल वा आर्यघाट नपुग्दासम्म कोही एक व्यक्ति पदमा बसिरहने पद्धति जबसम्म अवलम्बन गरिन्छ। तबसम्म अर्को खालको राजतन्त्रको अभ्यास भइरहन्छ किनकि एक व्यक्तिले जीवनभरि नै शासन गर्ने हो भने हिजोको बाजे पुस्तादेखि आजको जेनजी पुस्तासम्म विभिन्न पाटीमा एउटै नेतालाई व्यहोर्न परिरहेको छ ।यसबाट एकातिर पार्टीभित्रै पद प्राप्त गर्ने र नेतृत्व गर्ने अवसर पछिल्लो पुस्ता कोही कसैलाई प्राप्त हुँदैन। अर्कोतिर देशमा नयाँ विचारसहितका सशक्त युवा नेताले जिम्मेवारी पाउने सम्भावना नै रहँदैन। त्यसैले अबको आन्दोलन राजनीतिक पार्टी र सत्तामा एक व्यक्तिले दुई पटक राजनीतिक जिम्मेवारी रहने गरी सीमित गरिएन भने पुनः आउँदा दिनहरूमा पनि नवशासकहरू अनन्तकालसम्म क्रुर, निर्मम र आततायी शासक भई बस्नेछन् जसको कारण मुलुक असफल राष्ट्र बन्नेछ। हिजोको भदौ २३ गतेको नरसंहारको बीज कारण यही थियो र भोलि पनि त्यस्तै घटना दोहोरिनेछन्।
सलाम छ जेनजी पुस्ताका महान सहिदहरूलाई विचारले गुलाम बनेकाहरू तिम्रो तागतका अगाडि भगत भएका छन्। चाहे ती पाटीभित्र हुन् यस कुनै पदमा त्यसैले स्वाभिमानमा कुनै अर्थ राखेन, राख्दैन। तर खोसिएका अधिकार लिन जोसिएका जेन्सी जस्का अगाडि शासक एक पटक झुकेको छ। दुख्न त आज देश दुखेको छ, रगतको नदी बगेको छ, कलेज र स्कुल झोलासहित रक्तमुछेल छ। इतिहासले हिसाब राख्ला, यो रगत मूल्यको।तर यस्तो घटनाका दोषी जो होस्, त्यसकाउपर नेपाली जनताले यो पाटी वा ऊ पाटी कुनै पनि बहनामा छुट दिन हुँदैन । जसले सत्तामा बस्ने अधिकार गुमाएको छ, उसले सत्तामा बसेर शासन गर्नुको कुनै औचित्य छैन। जो कलिला बालबालिकाहरूका रक्षक भनिन्छ तिनै भक्षक हुन्छन् भने तिनलाई शासन सत्तामा बस्ने कुनै आधार छैन।तिनलाई न्यायका कठघरामा उभ्याएर सजायको भागीदार बनाइनु पर्छ। महान जेन्जी सहिदहरूमा हार्दिक श्रद्धाञ्जली । शब्द सुमन ।