बीपी जन्मजयन्तीः यस्तो छ नेपाली राजनीतिमा बीपीको योगदान

काठमाडौं । नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १०७ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी बुधबार देशभर मनाइँदैछ ।

नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनर्स्थापनाका लागि कठोर संघर्ष गरेका बीपी कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो ।

जहानियाँ राणा शासनको विरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो ।

भारत निर्वासनमै बीपीले भारतको स्वतन्त्रता संग्राममा भाग लिए । भारत स्वतन्त्र भएपछि नेपालमा प्रजातन्त्र स्थापनाका लागि सहज हुन्छ भन्‍ने सोचले उनी त्यो आन्दोलनमा सक्रिय भएका थिए ।

भारत निर्वासनकै क्रममा जहानियाँ राणा शासनको अन्त्य गर्न विसं २००३ मा बीपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भयो ।

प्रजातन्त्र स्थापना नै मुख्य लक्ष्य लिएर सुवर्णशम्शेरको नेतृत्वमा २००६ सालमा स्थापना भएको नेपाल प्रजातन्त्र कांग्रेसका बीच एकता भएपछि २००७ सालको क्रान्ति सफल भयो । दुवै दल एकीकृत भई बनेको नेपाली कांग्रेस अहिले पनि संसद्मा प्रमुख प्रतिपक्षी दलका रुपमा क्रियाशील छ ।

क्रान्तिको सफलतापछि मोहनशम्शेरको नेतृत्वमा बनेको राणा(कांग्रेस सरकारमा बिपी गृहमन्त्री बने । विसं २०१५ को आमनिर्वाचनमा कांग्रेसले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरे । प्रधानमन्त्रित्व कालमा उनले बिर्ता उन्मूलन गरी ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम लागु गराए ।

विसं २०१७ पुस १ गते जननिर्वाचित सरकार अपदस्थ गरिएपछि कोइरालालगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो ।

एक महिनापछि सेनाको सुन्दरीजल आर्सनलका प्रमुखको सरकारी निवासलाई वरिपरि पर्खालले घेरेर नेता कोइराला, संसद्का प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायत मन्त्रीलाई सुन्दरीजल बन्दीगृहमा सारियो । विसं २०२५ मा स्वास्थ्य परीक्षणका लागि जेल मुक्त भएका कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताए ।

भारतमा निर्वासित भएर प्रजातन्त्र पुनर्स्थापनाका पक्षमा सङ्घर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठ  ज्यान मुद्दाको पर्वाह नगरी २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उनी स्वदेश फर्किए । उनले अपनाएको मेलमिलापको नीति आज पनि मुलुकको राजनीतिमा उत्तिकै सान्दर्भिक छ ।

बीपीको साहित्यिक व्यक्तित्व

क्यान्सर रोगले बिपीको विसं २०३९ साउन ६ गते निधन भयो । उहाँले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्‍याएका छन् । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् ।

कोइरालाका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाइ’, एवम् ‘बाबु,आमा र छोरा’ गरी छ उपन्यास प्रकाशित  छन् ।

त्यसैगरी दुई कथासङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’, प्रकाशित छ ।

वरिष्ठ अधिवक्ता गणेशराज शर्मासँगको वार्तामा आधारित ‘आत्मवृत्तान्त’, सुन्दरीजल बन्दीगृहमा बस्दाको दैनिकीमा आधारित ‘जेल जर्नल’, विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिई स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सीधै सुन्दरीजल बन्दीगृहमा लगिएपछि  लेखिएको दैनिकी ‘फेरि सुन्दरीजल’ ले नेपालको तत्कालीन राजनीतिक अवस्थाको यथार्थ चित्रण गरेको छ ।

बीपीले लेखेका निबन्ध ज्ञाननिष्ठ ज्ञवालीको सम्पादनमा प्रकाशित सिसार पत्रिकामा ‘साहित्यमा प्रगतिशीलता’ विषयमा प्रकाशित छ ।

प्रजातान्त्रिक समाजवादका चिन्तक एवम् प्रयोक्ता कोइरालाले स्वतन्त्र रुपमा चिन्तन, आयाम, परम्परा र शैली दिएर साहित्यका माध्यमबाट नेपाली वाङ्मयलाई शिखरमा पुर्याउन योगदान दिए ।

प्रथम जननिर्वाचित सरकारका प्रधानमन्त्री, संसदका सभामुख एवम् मन्त्रीहरुलाई बन्दी बनाइएको सुन्दरीजल बन्दीगृहलाई विसं २०६१ भदौ २४ गते बीपी सङ्ग्रहालयका रुपमा उद्घाटन गरियो ।

बीपीको जीवनका महत्वपूर्ण चीजबीजको संकलन गरी दर्शनीय बनाइएको सङ्ग्रहालय विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त बनेपछि पुरातत्व विभागले पुनःनिर्माण अन्तिम चरणमा पुर्याएको छ ।

सङ्ग्रहालयमा बिपीको जीवनका महत्वपूर्ण सामग्रीका साथै विसं २००७ को क्रान्तिमा प्रयोग गरिएको ट्याङकर, कांग्रेसले २०३० साल जेठ ३० गते क्रान्तिलाई खर्च जुटाउन अपहरण गरेको नेपाल वायु सेवा निगमको विमान पनि राखिएको छ ।

बीपी जयन्तीका अवसरमा कांग्रेस, भ्रातृ एवम् शुभेच्छुक संस्था र बीपी सङ्ग्रहालयले मुलुकभर विभिन्‍न कार्यक्रम गर्ने गरेकामा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्‍न जारी निषेधाज्ञा एवं बन्दाबन्दीका बीच भौतिक दूरी कायम गरी मास्क लगाएर वा जुम प्रविधिका माध्यमबाट कार्यक्रम गर्न आह्वान गरिएको छ ।

के गर्दैछ बीपी जयन्तीमा कांग्रेस ? 
कांग्रेसले जननेता वीपी कोइरालाको १०७ औं जन्म जयन्ती भदौ २४ गते तथा यहि साताका फरक दिनहरूमा विभिन्न कार्यक्रम आयोजना गरेर मनाउन जिल्ला र बिदेश स्थित जनसम्पर्क समितिहरुलाई केन्द्रीय समितिका तर्फबाट एकसाता अघि परिपत्र गरिसकिएको जनाएको छ ।

कोरोना प्रतिकुलताबाट सुरक्षित रहंदै स्थानीय परिस्थिति हेरि अनिवार्य रुपले भौतिक दूरी र अनिवार्य मास्क प्रयोग गरेर अथवा भर्चुअल रूपमा कार्यक्रम गर्न सूचित गरिएको छ । राहत वितरण, मास्क वितरण, सचेतना कार्यक्रम समेत यो अवसरमा समाविष्ट रहने छन् ।

केन्द्रीय तहबाट तीन दिने कार्यक्रम तय गरिएको छ । जुम मार्फत हुने कार्यक्रम यस्ता छन् –
१, भदौ २४ गते अपरान्ह १ः००
वीपीको विचार नेपालको समुन्नतिको मुल बाटो
बिषयक विचार गोष्ठी ।
वक्ताहरु –सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल लगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने
संयोजन –नेपाली कांग्रेस केन्द्रीय कार्यालय

२, भदौ २५ गते अपरान्ह १ः०० बजे
नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र बिदेश नीतिमा वीपीको योगदान
वक्ताहरु –उपसभापति विमलेन्द्र निधि एवं विज्ञहरु ।
संयोजन –केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान

३, भदौ २६ गते अपरान्ह १ः०० बजे
विचार निर्माण एवं प्रचारमा वीपीको शैलीको आलोकमा अबको रणनीति
वक्ताहरु – बौद्धिक चिन्तकद्वय नरहरी आचार्य र प्रदीप गिरि
संयोजन – सूचना, संचार तथा प्रचार विभाग

के गर्दैछ नेविसंघ ? 
नेविसंघले सुरक्षित दूरी कायम गरी, स्वास्थ्य सावधानी र  सुरक्षा सतर्कता अपनाउँदै विभिन्न कार्यक्रम र गतिविधि गर्न सबै जिल्ला, प्रदेश, क्याम्पस, क्षेत्र, विदेशस्थित मातहतका समिति र निकायहरुमा परिपत्र नै जारी गरेको छ ।

१, विभिन्न प्रबिधिका माध्यमबाट जननेता वीपी कोइरालाको योगदान तथा व्यक्तित्व सम्बन्धमा गोष्ठी, छलफल तथा वेबिनार गर्ने ।
२, रक्तदान, बृक्षारोपण, बृद्ध र बिरामीहरुलाई फलफूल बितरण जस्ता रचानात्मक कार्यक्रम गर्ने ।

३, बाढी पहिरोबाट बिस्थापित तथा कोभिड–१९ को महामारीका कारण दैनिक जीबनयापन कष्टकर भएकाहरुलाई राहत तथा बिभिन्न सहयोग पुर्याउने ।

You might also like