भाषा आयोग र परवानीपुर गापाको सहकार्यमामा बहुभाषिक शिक्षा नमुना विकास प्रशिक्षण कार्यक्रम सम्पन्न
परवानी गाउँपालिका, बारा, २०७८ साल पुस २५ गते ।
भाषा आयोग र परवानीपुर गाउँपालिका बारा, प्रदेश नं. २ को सहकार्यमा बहुभाषिक शिक्षा नमुना विकास प्रशिक्षण कार्यक्रम मिति २०७८ साल पुस २५ गते प्रदेश कृषि निर्देशनालयको हलमा भाषा आयोग र गाउँपालिकाको पदाधिकारी एवम् गाउँपालिका सबै विद्यालयका बाल कक्षा र कक्षा १ मा पठनपाठन गर्ने शिक्षकको उपस्थितिमा सम्पन्न भएको छ। भाषा आयोगको अध्यक्ष डा.लवदेव अवस्थीको सभाध्यक्षमा सञ्चालित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष हरिनारायण साह प्रमुख अतिथि र वडाध्यक्षहरूको उपस्थिति रहेको थियो । कार्यक्रमा भाषाविज्ञ डा.गोपाल ठाकुर र भोजपुरी भाषा पाठ्यपुस्तक लेखक शिवनन्द जयसवालले भोजपुरी भाषाको माध्यम र विषयको रूपमा शिक्षामा प्रयोग गर्ने सम्बन्धी सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रमको प्रारम्भमा शिक्षा अधिकृत विद्यानन्द यादवले स्वागत मन्तव्यको क्रममा मातृभाषाको माध्यमबिनाको शिक्षा सुगा रटाइ मात्र हुने बताउनु भएको थियो भने गाउँपालिकामा स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यान्वयन गर्न पहल भइरहेको बताउनु भयो । तत्पश्चात भाषा आयोगको का.मु.सचिव डा.लोकबहादुर लोप्चनले यस गापामा भाषा आयोगबाट गरिएका भोजपुरी भाषामा शिक्षाको सम्भाव्यतासम्बन्धी अध्ययन प्रतिवेदनको सारांश प्रस्तुत गर्नु हुँदै मातृभाषामा शिक्षा, भोजपुरी भाषा विषय, दोस्रो भाषाका रूपमा मातृभाषा शिक्षा तथा सिकाइ उपलब्धि वृद्धि गरी सरकारी विद्यालयको स्तरीयतासम्बन्धी प्रस्तुति गर्नुभयो । त्यसपछि डा.गोपाल ठाकुरले मातृभाषामा शिक्षा संवैधानिक अधिकार भएकोले स्थानीय तह, समुदायसहित आम नागरिको कर्तव्य भएको विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा वडाध्यहरू, प्रमुख अतिथिलगायत सबैले गाउँपालिकामा स्थानीय विषय र भोजपुरी भाषामा शिक्षा प्रदान गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।कार्यक्रमको अन्तमा भाषा आयोगका अध्यक्ष एवम् कार्यक्रम अध्यक्ष डा.लवदेव अवस्थीले सबैलाई धन्यवाद व्यक्त गर्दै शिक्षाको जगमा मातृभाषा हुनुपर्ने विचार व्यक्त गर्दै कार्यक्रमको समापन गर्नुभयो ।