विद्यालय र क्याम्पसमा तामाङ कथा र उपन्यास शिक्षण
डा. लोक बहादुर लोप्चन
तामाङ भाषाविज्ञ तथा शिक्षाविद्
परिचय
मानव जीवनजगतमा घटेका घटनाहरूको तारतम्यपू्र्ण र कलात्मक अभिव्यक्ति नै कथा हो । यसमा कुनै घटना विशेषलाई चोटिलो ढङगले प्रस्तुत गरिएको हुन्छ । तर कथाहरू अलौकिक, तिलस्मी, लोकजीवनसम्बद्ध र आधुनिकदेखि लघुकथासम्म पाइन्छन् । जे होस् कथा बालबालिकामा कल्पनाशीलता, सिर्जनशीलता र घटनाहरूको बोध गरी भाषा सिकाइका लागि महत्वपू्र्ण विधा हो । विद्यालय शिक्षाको तल्लो तहमा विद्यार्थी लागि कथा विधा वा पाठ लोकप्रिय मानिन्छ । यसबाट विद्यार्थीमा शब्दभण्डार विकास, भाषिक संरचनाको अभ्यास र कल्पना शक्तिको विकासमा सहयोग पुग्छ (शर्मा र अधिकारी, पृ.१०७) ।
उपन्यास जीवजगतको विषयमा बृहत कथात्मक र कलात्मक अभिव्यक्ति हो । यसमा लामो कथानक (घटनाक्रम), धेरै पात्र र चरित्र, विभिन्न भाषाशैली र अनेकन प्रयोगहरू आउँछन् । यसबाट भाषाका सामान्यदेखि कलात्मक र सिर्जनात्मक पक्षहरूको विकासमा समेत टेवा पुग्छ ।
कथा शिक्षणको प्रयोजन
कथा शिक्षणबाट विद्यार्थीमा भाषा शिक्षणमा रूचि बढ्छ, साहित्य पढ्ने बानी बसाल्न सहयोग पुग्नका साथै मानव चरित्र निर्माणका लागि सन्देश प्रवाह गर्दछ । यसबाट भषाको सुनाइ, बोलाइ र पढाइको सीपको विकास हुन्छ । विशेषतः पठनबोधको लागि कथा विधा उपयोगी हुन्छ । विश्वविद्यालय तहमा कथा र उपन्यास विधाको पठनपाठन हुन्छ । तथापि यो उच्चस्तरीय भाषिक ज्ञान र सीप आर्जन गर्ने तह भएकाले समालोचनात्मक शिक्षण विधिको प्रयोग हुने गरेको पाइन्छ । यसलाई बुँदामा देहायअनुसार प्रस्तुत गरिएको छः
- जीवनजगतको आन्तरिक र बाह्य पक्षसँग परिचित गराउनु,
- साहित्यिक रस्वादन, मनोरञ्जन र मर्मबोध गराउनु,
- भाषाको आलाङकारिक र विशिष्ट प्रयोगतिर उन्मुख गराउनु,
- नैतिक सन्देश प्रवाह गरी चरित्र निर्माण गर्नु
- कल्पना, सिर्जना र बौद्धिक विकासमा सहयोग पुर्याउनु,
- विषयबोधका साथै भाषाको परिष्कार र परिमार्जनका लागि स्रोत प्रदान गर्नु ।
कथा/उपन्यास शिक्षणक्रम र कार्यकलाप
- पूर्वपठन
कथा/उपन्यास शिक्षणको प्रारम्भ अघि विद्यार्थीहरूमा कथा सुन्ने र भन्ने कस्तो अनुभव छ । त्यसबारेमा छलफल गरेर विषयतिर उत्प्रेरित गर्नुपर्दछ ।
- शब्दार्थ शिक्षण
भाषा शिक्षणमा कथा र उपन्यासबाट शब्दार्थ शिक्षणसिकाइको उद्देश्य राखिएको हुन्छ । यसका लागि विद्यार्थीलाई कथाको मौनपठन गर्न लगाई कठिन वा नयाँ शब्दहरू खोजी गर्न लगाउनु पर्दछ । शिक्षकले ती शब्दहरूलाई टिपोट गरेर त्यसको अर्थ विद्यार्थीलाई सोध्ने र नआएमा बताउने कार्य गर्नुपर्छ । शब्दलाई वाक्यगठनको अभ्यास र प्रयोगमा नलगीकन भाषिक आर्जन हुन सक्दैन । त्यसैले सिकेका शब्दहरूलाई बोध र अभिव्यक्तिमा प्रयोग गर्ने परिवेश तयार गरी अभ्यास र पुनरावृत्तिको अवसर सिर्जना गर्नुपर्ने देखिन्छ ।
- सस्वरपठन र मौनपठन
कथा/उपन्यासको शिक्षणका लागि सर्वप्रथम कथाको सस्वरवाचन गराई छलफल गर्न आवश्यक हुन्छ । त्यसपछि भावबोध गर्नका लागि कथाको मौनवचान उपयुक्त देखिन्छ । मौनवाचनकै क्रममा शब्दभण्डारको विकास गर्न कठिन वा नयाँ शब्दहरू पहिचान गर्ने क्रियाकपाल सञ्चालन गर्नुपर्दछ ।
- शब्दार्थ र उखान टुक्काको प्रयोग
विद्यार्थीलाई कथाको मौनवाचन गरेर नयाँ र कठिन शब्दहरूको पत्ता लगाई भन्न र टिप्न लगाउनु पर्दछ । त्यसैगरी कथामा प्रयुक्त उखानटुक्काहरूको पहिचान र सन्दर्भगत अर्थ खोजी गर्न लगाउनु राम्रो हुन्छ । यसरी कथामार्फत् शब्दभण्डार विकासको क्रियाकलाप गरिएपश्चात् पठनबोध वा भावबोधका कार्य गर्न सकिन्छ ।
- बोध प्रश्नोत्तर
विद्यार्थीले कथाको मौनपठन गरेपछि बोध क्षमताको विकास गर्नुपर्दछ । यसका लागि कथाबाट बोध प्रश्नहरू सोधेर छलफल र अन्तरक्रिया गर्नुपर्दछ । यसमा शिक्षकले प्रश्न सोध्ने र उत्तर पहिचान गर्न सघाउनुका साथै विद्यार्थीबाट सही उत्तर प्राप्त गर्न नसकेपछि बताइदिने कार्यकलाप गर्नुपर्दछ । यसअन्तर्गत बोधसम्बन्धी सवालजवाफ कार्य सकेपछि कथाको सार वा सारांश भन्न र लेख्न लगाउनु पर्दछ ।
- घटनाक्रम मिलाउने
कथा भनेको विभिन्न घटनाहरूको सुन्दर संयोजन हो । त्यसैले कथाबाट भाषिक सीप विकासका लागि विभिन्न क्रियाकलापहरू गर्न सकिन्छः जसमा कथाका घटनाक्रमको टिपोट तयार पारेर छ्यासमिस गरेर विद्यार्थीलाई क्रम मिलाउन लगाउने, कथाको कुनै अंश भनेर पूरा गर्न लगाउने, कथाको घटनालाई खाली बनाएर छुटेको अंश भराई कथा पूरा गर्न लगाउने, विभिन्न घटनाहरू प्रस्तुत गरी ती घटनालाई सिलसिलेबार ढङगले व्यवस्थित गर्न लगाउने कार्य गर्नुपर्दछ ।
- सारांश कथन र लेखन
विद्यार्थीहरूमा चित्रको माध्यमबाट कथाको घटनाक्रम भन्न लगाउनु पर्दछ । त्यसपछि शिक्षकले कथाको मुख्य घटनाक्रमको आधारमा मौखिक रूपमा कथावाचन गर्नुपर्दछ । त्यसपछि विद्यार्थीलाई कथा भन्न प्रोत्साहित गर्ने, भन्न लगाउने र राम्ररी भन्न जानेपछि त्यसको घटनाक्रम मिलाएर लेख्ने अभ्यास गर्ने क्रियाकलापहरू गर्नुपर्दछ ।
- कथाकथन (कथा भन्ने)
विद्यार्थीलाई घरपरिवार वा अन्य माध्यमबाट सुनेजानेका कथा भन्न लगाउनु पर्दछ । यसबाहेक विभिन्न पुस्तक, पत्रपत्रिका, कथासङ्ग्रहका साथै अचेल युट्युबमा हेरेका कथा भन्ने क्रियाकलापहरू गर्नु पर्दछ ।
- लेखाइसम्बन्धी अभ्यास
कथा शिक्षणबाट लेखाइसीपको विकास गर्न कठिन शब्दहरू पहिचान, शुद्ध उच्चारण र अनुलेखन कार्य गर्नुपर्दछ । साथै कथाका विभिन्न चरित्र वा पात्रहरूका विषयमा वर्णन गर्न लगाउने र त्यसलाई लेखनमार्फत् प्रस्तुत गर्नुपर्दछ । कथाको विषयवस्तु र घटनाक्रमलाई टिपेर कक्षामा प्रस्तुत गर्न लगाई सही क्रम मिलाउने गरी लेखन अभ्यास गर्नु प्रभावकारी हुने देखिन्छ ।
- कथा रचना
कथा शिक्षणबाट भाषिक सीप विकासका अलावा कथा रचना गर्न सक्षम बनाउनु पनि हो । यसका लागि तल्लो कक्षाहरूमा चित्रको माध्यमबाट कथा तयार गर्न, घटनाक्रम दिएर कथा पूरा गर्न लगाउने, कथाको केही अंश दिएर पूरा गर्न लगाउने आदि कार्य गरी कथा रचना गर्ने सीप र क्षमता हासिल गराउन सकिन्छ । यसलाई सुरूमा मौखिक रूपमा भन्न लगाई क्रमशः लिखित रूपमा तयार पार्न सकिन्छ ।
स्रोतः तामाङ भाषा र साहित्य शिक्षण पुस्तक (लोप्चन, २०८२)