तामाङ भाषा र साहित्य: कविता शिक्षण
डा. लोक बहादुर लोप्चन
परिचय
साहित्य जीवनजगत र मानव समाजको बारेमा सुन्दर सिर्जना हो । जसमा लालित्यपूर्ण भाषाको माध्यमबाट कल्पना र विचारको अभिव्यक्ति गरिएको हुन्छ । साहित्यमा विचारलाई सिर्जनात्मक रूपमा भिन्न रूपमा प्रस्तुति गरिन्छ भने यसमा भाषाको आलाङकारिक संरचनाको प्रयोग हुन्छ । त्यसैले साहित्य भाषाको माध्यमबाट कल्पना र विचारको सुन्दरतम र सिर्जनात्मक अभिव्यक्ति हो । यसले मानव मनमुटु सहजै छुन्छ र मस्तिष्कसम्म विचारको प्रवाह गर्दछ । यसरी साहित्यलाई भाषा शिक्षणका लागि एक विधाका रूपमा उपयोग गरिन्छ । भाषा शिक्षणमा साहित्यिक विधालाई विभिन्न पाठका रूपमा प्रस्तुत गरेर भाषिक सीप विकासका कार्यकलापहरू गर्न आवश्यक छ । भाषा शिक्षणमा साहित्यका कविता, कथा, बालगीत, प्रबन्ध, चिठी, संवाद, रूपकजस्ता विधाहरूको प्रयोग हुन्छ ।
साहित्यमा भाषाको कलात्मक र विशिष्ट संरचना र शैलीको प्रयोग हुन्छ । यसबाट शिक्षार्थीमा कल्पनाशील, सिर्जनशीलता र बौद्धिकताको विकासमा मद्दत गर्दछ । साहित्यिक विधाहरूको शिक्षणका भिन्नभिन्न भाषिक सीप विकाससम्बन्धी प्रयोजनहरू हुन्छन् । शिक्षणसिकाइलाई मनोरञ्जनात्मक, आकर्षक र रसिलो बनाउने कार्य विधागत पाठहरूले गर्दछ । साहित्य शिक्षणले शिक्षार्थीमा सम्प्रेषणात्मक, संज्ञानात्मक र विश्लेषणात्मक भाषिक क्षमताको विकास गर्न सहयोग पुर्याउँछ । विधागत शिक्षणबाट शिक्षार्थी स्वाध्यायनको बानी विकास हुन्छ, पठनमा आत्मनिर्भरता बढ्छ र भाषाका शब्दकोश तथा अन्य सामग्रीको खोजी र प्रयोगतर्फ उन्मुख गराउँछ ।
साहित्य शिक्षणको प्रयोजन
- भाषिक सीप विकासका लागि विविध भाषिक सामग्री उपलब्ध गर्नु,
- व्यक्तिको सिर्जनात्मक क्षमता विकास गर्न आधार प्रदान गर्नु,
- मानवलाई मानसिक आनन्द र सौन्दर्यको अनुभव र अनुभूति गराउनु,
- मानव जीवन र जगतका गहिराइसम्म कल्पना गर्न र सोच्न लगाउनु,
- ज्ञानको क्षेत्र र दायरा विस्तार गरेर संज्ञानात्मक विकासको अवसर उपलब्ध गर्नु
- मानव गुण, चरित्रजस्ता पक्षहरूको बृहत अवलोकन, पर्यवेक्षण गर्न पहुँचयोग्य सामग्री उपलब्ध गर्नु,
- विभिन्न जाति समुदायको संस्कृति, परम्परा, संस्कारलगायतका परम्परागत लोकजीवनको बारेमा साहित्यिक पाठहरू प्रदान गर्नु ।
तामाङ साहित्यका विधागत शिक्षण
तामाङ साहित्यका मुख्य विधागत शिक्षणलाई तल प्रस्तुत गरिएको छः
- तामाङ साहित्यःकविता शिक्षण
- तामाङ साहित्यः कथा र उपन्यास शिक्षण
- तामाङ साहित्यःप्रबन्ध/निबन्ध शिक्षण
- तामाङ साहित्यःजीवनी शिक्षण
- तामाङ साहित्यः रूपक शिक्षण (संवाद, वादविवाद)
- तामाङ साहित्यःचिठी शिक्षण
- तामाङ साहित्यशास्त्र शिक्षण
तामाङ साहित्यः कविता शिक्षण
परिचय
मानव मन र मस्तिष्कमा उत्पन्न भएको भाव, विचार वा कल्पनाको कुनै एक पलको लयात्मक प्रस्तुति कविता हो । कविता मानव अनुभूतिको सशक्त प्रस्तुति गर्ने एक साहित्यिक विधा हो । कविताको मूल विशेषता नै लयात्मकता हो । तर कविता पद्य र गद्य दुवै प्रकार हुन्छन् । यसको अन्तर्य (भित्र पक्ष) का रूपमा भाव, कल्पना र बुद्धि आउँछन् । तर बाह्य स्वरूप वा बनोटमा भने कविता पङ्ति, लय र अन्य पक्षहरू हुन्छन् ।
कविता शिक्षणको प्रयोजन
शिक्षार्थीका लागि कविता शिक्षणको उद्देश्यहरू वा प्रयोजनलाई तल दिइएको छः
- कविताले बालबालिकालाई लय, भाव, वाचन र ताल सुरको अभ्यास गर्दै रमाइलो वातावरणमा भाषा सिक्ने अवसर दिलाउँछ ।
- उच्चारण, शब्दभण्डार र पठनबोध वा पढेको कुरा पत्ता लगाउन टेवा पुग्दछ ।
- पाठलाई सिर्जनात्मक, रसिलो र प्रभावकारी बनाउँछ । यसले विद्यार्थीको कल्पनाशीलता वृद्धि गर्दछ ।
- विभिन्न रस, छन्द, लय र अलङकार आदिको प्रयोग र अभ्यास गर्नमा पहुँच प्राप्ति हुन्छ ।
- व्यक्ति सिर्जनात्मक क्षमता विकास गरी बौद्धिक विकासका गर्न उत्प्रेरित गर्दछ ।
- व्यक्तित्व विकास र चरित्र निर्माण गर्न सहयोग पुर्याउँछ ।
- राष्ट्रप्रेम, माया, भाव, सहिष्णुता र असल मानिसका बन्ने प्रेरणा प्रदान गर्दछ ।
- सिकारूको समीक्षा, विश्लेषण, प्रस्तुति शैली र क्षमताको विकासमा सहयोग मिल्छ ।
कविता शिक्षणका कार्यकलाप
शिक्षाको तल्लो तहदेखि माथिल्लो तहसम्म कवितालाई भाषा शिक्षणको उद्देश्य हासिल गर्न पाठका रूपमा समावेश गरिएको पाइन्छ । यसको शिक्षणका लागि तल्ला तहहरूमा लय, ताल सुरको वाचनबाट सुरू गरिन्छ भने माथिल्लो तहमा कविताको लयात्मक वाचनभन्दा पनि भाव, विचार वा बौद्धिक पक्षको विश्लेषण र संश्लेषणमा केन्द्रित रहन्छ । यसरी कविता शिक्षणमा गीति र अभिनय विधि, व्याख्या विधि, तुलनात्मक विधि, खण्डान्वय विधि, समीक्षा विधिहरू प्रयोगमा आउँछन् । तर विद्यालय तहमा कविता शिक्षणका लागि उपयोगी केही विधिहरूलाई तल प्रस्तुत गरिएको छः
क)लयबोध
विद्यालयमा कविता शिक्षणको पहिलो र व्यावहारिक विधि लयबोध हो । यसमा सर्वप्रथम शिक्षकले लय मिलाइ वाचन गर्ने, विद्यार्थीले अनुवाचन (शिक्षकसँगै वाचन गर्ने) र क्रमशः समूह वाचनको क्रियाकलाप सञ्चालन गर्नुपर्दछ । त्यसपछि शिक्षकको सहजीकरणमा व्यक्तिगत रूपमा कविता वाचन गराउने र गति, यति र लय वाचनको कार्यकलाप गर्नुपर्दछ । यसका साथै कवितामा शब्दहरू पत्ता लगाउने, इङगित गर्ने र ती शब्दहरूको शब्दार्थमा छलफल गरी प्रयोगको अभ्यास गराउनु पर्दछ ।
ख)प्रश्नोत्तर
कवितामा भनिएका कुरा वा भावबोध गर्नको लागि प्रश्नोत्तर विधि उपयोग हुन्छ । यसमा शिक्षकले विद्यार्थीलाई सामूहिक र व्यक्तिगत रूपमा कवितामा व्यक्त भएको भाव वा विचारसम्बन्धी प्रश्न गर्छन् । विद्यार्थीले आफूले जानेअनुसार उत्तर दिन्छन्, नजानेमा शिक्षकले उत्तर भनेर सहयोग गर्छन् । यसले विद्यार्थी सक्रियता र सहभागिता बढाउँछ साथै शिक्षककेन्द्रित शिक्षणलाई सहभागितामूलक बनाउँछ । साथै यसबाट विद्यार्थी के कति जाने जानेनन् भन्ने मूल्याङ्कन गरेर सुधारका लागि आधार समेत प्राप्त हुन जान्छ ।
ग)भावबोध
कविता शिक्षणमा पढाइने पाठ्यवस्तुका रूपमा भावबोध वा कवितामा अभिव्यक्त विचारलाई ठम्याउनु रहेको हुन्छ । विद्यार्थीले बारम्बार कविताको लयात्मक अभ्यास गरेर रस्वादन लिएपछि भावतर्फ केन्द्रित गराउनु पर्दछ । किनभने कवितामा भन्न खोजिएको भाव वा विचारलाई जान्न आवश्यक छ । यसका लागि विद्यार्थीलाई कवितामा व्यक्त गरिएको विचार र भाव आउने गरी सरल र छोटा प्रश्नहरू सोध्नुपर्दछ । यसबाट विद्यार्थीले कविताको पङति वा पङ्तिमा ध्यान केन्द्रित गरेर त्यसमा भनिएको कुरालाई प्रकट गर्न लगाउनु पर्दछ ।
घ)सारांश कथन र लेखन
कविताको सारांश बताउन र लेख्न लगाउनाले भाषाको सुनाइ, बोलाइ र लेखाइ सीपको विकासमा मद्दत गर्दछ । यसका लागि शिक्षकले प्रश्नोत्तर गरेर भावबोध कार्य सम्पन्न भएपछि त्यसमा भनिएको कुरालाई सारांशमा भन्न र लेख्न लगाउने कार्य गर्नुपर्दछ ।
ङ)व्याख्या र भावविस्तार
माथिल्लो कक्षाको विद्यार्थीलाई कविताको पङ्तिमा केन्द्रित रहेर व्याख्या गर्ने क्रियाकलाप सञ्चालन गर्नुपर्दछ । यसलाई भावविस्तार कार्य भनिन्छ । यसबाट कवितामा अभिव्यक्त भाव वा विचारलाई आफ्नै भाषा वा शैलीमा सम्प्रेषण गर्न सक्ने क्षमता विकास हुन्छ । साथै यसबाट विद्यार्थी सिर्जनात्मक र बौद्धिक क्षमताको विकास हुन्छ ।
कविता शिक्षणक्रम
कविता विधाको शिक्षणको पनि निश्चित क्रम हुन्छन्, यही र यस्तै भन्ने कठोर नियम नभए तापनि सामान्यता यसमा देहायअनुसार शिक्षणक्रम रहेको पाइन्छः
- पूर्वपठनः कविताको परिचय गर्ने ।
- शब्दार्थ पहिचान र अभ्यासः कवितामा समाविष्ट विशेष शब्दहरू पत्ता लगाउने, छलफल गर्ने र प्रयोगमा जोड्ने ।
- आदर्शवाचनः शिक्षक वा कुनै माध्यमबाट अनुकरणीय वा आदर्श वाचन गर्ने ।
- अनुकरणवाचनः शिक्षकसँगै अनुवाचन गर्दै क्रमशः सामूहिक र व्यक्तिगत रूपमा वाचन अभ्यास गर्ने,
- बोध प्रश्नोत्तरः कवितामा अभिव्यक्त भाव वा विचार ठम्याउन बोध प्रश्नोत्तर गर्ने ।
- भावबोधको अभ्यासः कविताको पङतिगत भावबोध गर्न सारांशमा भन्न र लेख्न लगाउने एवम् भाव विस्तार वा व्याख्या गर्न लगाउने ।
- मूल्याङकनः शिक्षणसिकाइ क्रियाकलापको सञ्चालन पछि के के कति जाने जानेनन् भनेर मापन र परीक्षण गर्ने । सुधार गर्न आवश्यक भए पृष्ठपोषण दिन र पुनः शिक्षणसिकाइ समेत गर्न सकिने ।
स्रोतः तामाङ भाषा र साहित्य शिक्षण पुस्तक (लोप्चन, २०८२)