तामाङ साहित्यःप्रबन्ध/निबन्ध शिक्षण
डा. लोक बहादुर लोप्चन
भाषाविज्ञ तथा शिक्षाविद्
परिचय
कुनै विषय वा घटनाका बारेमा वर्णन गरेर तयार पारिएको रचना प्रबन्ध हो । यसको आशय खास विषयमा लेखिएको विवरणात्मक रचनालाई प्रबन्ध भन्ने गरिन्छ । यसमा मानिसको भाव वा विचारको सङगठित रूपमा अभिव्यक्ति गरिन्छ । यसबाट विद्यार्थीहरूमा आफूले देखेका, भोगेका र परिआएका विषयमा स्पष्टसँग भन्ने र लेख्ने क्षमता विकास गर्न सघाउ पुर्याउँछ । यसले आफ्नो विचारहरूलाई सङ्गठित रूपमा प्रस्तुत गर्ने क्षमता विकास गर्छ । विशेष गरी निबन्ध वा प्रबन्ध विधा वा पाठ पठनबोध शिक्षणका लागि उपयोगी मानिन्छ । यसको आवश्यकता शब्दभण्डार विकास गर्नका साथै भाषिक बोध र अभिव्यक्तिका लागि आवश्यक छ ।
प्रबन्ध /निबन्ध शिक्षणको प्रयोजन
प्रबन्ध /निबन्ध शिक्षणको भाषिक प्रयोजनहरूलाई तल प्रस्तुत गरिएको छः
- आफ्नो अनुभवलाई सन्तुलित र सङ्गठित रूपमा लेख्न,
- कुनै पनि विषयस्तुअनुसार भाषाशैली प्रयोग गरी लेखन र प्रस्तुति गर्न,
- शब्दहरूको चयन, सरल शैली र दोहोर्याइकन लेखन गर्न,
- भाषिक वर्णविन्यास वा हिज्जेअनुसार लेखन गरी परिष्कृत गर्न,
- आवश्यकतानुसार विषय क्षेत्रसँग सम्बन्धित प्रबन्ध रचना गर्न ।
प्रबन्ध शिक्षणक्रम र कार्यकलाप
- पूर्वपठन
कक्षाकोठामा प्रवेश गरेपछि शिक्षकले पूर्वपठन स्वरूप विगतको पाठको पुनरावलोकन गर्न सक्दछ । यसबाहेक विभिन्न सामग्री, सन्दर्भ र प्रसङगको चर्चा गरेर पाठप्रति उत्प्रेरित गर्ने क्रियाकलाप गर्नुपर्दछ ।
- शब्दार्थ शिक्षण
कक्षाकोठामा प्रबन्ध/निबन्ध शिक्षण गर्दा पाठको मौनवाचन गराई कठिन शब्दहरू पहिचान गर्न लगाउनु पर्छ । त्यसपछि ती शब्दहरूको अर्थ र वाक्यमा प्रयोगसम्बन्धी क्रियाकलाप सञ्चालन गर्नुपर्छ ।
- सस्वरपठन र मौखिक वर्णन
प्रबन्ध शिक्षणमा शब्दार्थ शिक्षणको क्रियाकाप सबैभन्दा पहिले गरिन्छ । त्यसपछि शिक्षणमा सस्वरपठन र मौखिक वर्ण आवश्यक हुन्छ । तल्ला कक्षामा पहिले शिक्षकले सस्वर पठन गरेर विद्यार्थीलाई सस्वर पठनको अभ्यास गर्न लगाइन्छ । अर्को चरणमा भने मौखिक वर्णन गरेर विषयवस्तुको बोधतर्फ उन्मुख गराइन्छ । यी दुवै क्रियाकलापमा शिक्षकले सहजीकरण गर्नुपर्दछ ।
- मौनपठन र बोध प्रश्नोत्तर
प्रबन्ध /निबन्ध शिक्षणमा भावबोध वा पठनबोध क्षमताको विकास गर्ने उद्देश्य रहेको हुन्छ । यसको प्राप्तिका लागि निर्धारित पाठलाई मौनपठनको अभ्यास गराउनुपर्दछ । शिक्षकले बोध प्रश्न सोधेर भावबोध गर्न कक्षाकोठामा छलफल र प्रश्नोत्तरको क्रियाकलाप सञ्चालन गर्नुपर्दछ । यसमा भावबोधका लागि आवश्यक थप कार्यकलापहरू गर्नुपर्दछ ।
- लिखित वर्णन
विद्यार्थीलाई मौनपठनपछि मौखिक वर्णनमा राम्रो क्षमता हासिल गरेको पाइएमा लिखित वर्णन गर्न लगाउनु पर्दछ । यसले विद्यार्थीमा पाठमा बोध गरेको कुरालाई लिखित माध्यमबाट व्यक्त गर्ने सक्षमताको विकास गर्दछ ।
- चित्र, वस्तु, प्रतिमू्र्ति आदिको वर्णन
विद्यार्थीको लेखाइ सीप विकास गर्न प्रबन्ध वा निबन्ध विधाको उपयोग हुन्छ । यसको शिक्षणसिकाइको थप अभ्यासको लागि विद्यार्थीको अनुभवको आधारमा विभिन्न वस्तु, चित्र र सामग्रीको प्रदर्शन गरेर त्यसको विषयमा मौखिक र लिखित वर्णन गर्नु प्रभावकारी हुन्छ ।
- लेखाइसम्बन्धी अन्य अभ्यास
विद्यार्थीलाई पाठको अप्ठ्यारा शब्दहरूको अनुलेख र उच्चारण गराउनु भाषिक विकासका लाागि आवश्यक छ । त्यसैगरी लेखाइ सीपको विकास गर्न पाठको सारांश लेख्न अभ्यास पनि फलदायी हुन्छ । यसबाहेक विद्यार्थीले अवलोकन गरेको, देखेका र वातावरणमा भएका वस्तु वा परिवेशको बारेमा छोटो अनुच्छेद लेख्ने अभ्यास गर्नुपर्दछ । क्रमशः एक भन्दा बढी अनुच्छेद लेखन अभ्यास गराउँदै जानुपर्दछ ।
- मूल्याङ्कन
प्रबन्ध वा निबन्ध शिक्षणसिकाइकै क्रममा के केति के कस्ता भाषिक सीप प्राप्त भए भएनन् ? भनेर परीक्षण गर्नुपर्दछ । यसका लागि प्रश्नोत्तर र लेखन पक्षको मापन गर्न सकिन्छ । अपेक्षित उपलब्ध हासिल गर्न सके नसकेको आधारमा पृष्ठपोषण गर्नुपर्दछ ।
स्रोतः तामाङ भाषा र साहित्य शिक्षण पुस्तक (लोप्चन, २०८२)