फिनल्याण्डमा संसारकै उत्कृत्ठ विद्यालय शिक्षा पद्धतिःमैले जे देखेँ (शृङखला-१)
डा. लोक बहादुर लोप्चन
शैक्षिक अवलोकन भ्रमण, संयोजक
परिचय
युरोपका नर्डिक देशहरूमध्ये फिनल्याण्ड लोक कल्याणकारी राज्य व्यवस्था अपनाएको देश हो । विश्वमा पूँजीवादी व्यवस्था र साम्यवादी व्यवस्थाको मिश्रित विकल्पका रूपमा लोक कल्याणकारी राज्य व्यवस्था अवलम्बन गर्न थालिएको हो। यस व्यवस्थालाई अपनाउने युरोपेली देशहरूमा डेनमार्क, फिनल्याण्ड, नर्वे जस्ता देशहरू अग्र पङ्तिमा आउँछन्। यहाँ एकातिर व्यापार, व्यवसाय र उद्यममा बजारको स्वतन्त्रता छ भने अर्कातिर स्वास्थ्य र शिक्षा जस्ता आधारभूत मानव अधिकारका मौलिक हकका क्षेत्रमा पूर्ण रूपमा राज्यले लगानी गरी जिम्मेवारी लिएका छन् ।
युरोपका देशहरूमध्ये फिनल्याण्ड विश्वमै सबैभन्दा खुशी नागरिक (ह्यापी सिटिजन) बसोबास गर्ने देश हो । विश्वमै उत्कृष्ठ विद्यालय र र उच्च शिक्षा भएको देशको रूपमा फिनल्याण्डलाई चिन्न सकिन्छ। यहाँको स्वास्थ्य क्षेत्र र विद्यालय शिक्षा पूर्णतः निशुल्क मात्र छैन, देशका सबै स्थानीय तहहरूबाट प्रदान गरिने सेवा समान पहुँच र गुणस्तरको सुनिश्चितता गरिएको छ । विद्यालय शिक्षाका लागि स्कुल जोनिङ गरिएको छ, सम्बन्धित इलाकाका बासिन्दाले नजिकको स्कुलमा बालबालिकाहरू पठनपाठन गराउँछन्। साथै विद्यालय शिक्षामा अपाङगता भएका र विभिन्न कारणले फरक क्षमता र पृष्ठभूमि भएका बालबालिकाको जिम्मेवारी विद्यालयको व्यवस्थापनमार्फत स्थानीय पालिका र अभिभावकको सहकार्यमा गरिएको पाइयो । उदाहरणको लागि फिनल्याण्डको सरकारी भाषा फिनिश र स्वीडिश भए तापनि यहाँ विश्वका विभिन्न मुलुकहरूबाट आप्रवासी बासिन्दा छन्। उनीहरूका लागि विद्यालय शिक्षा भाषिक पुलेसो कक्षा र एक विषय मातृभाषा पठनपाठन गरेको पाइयो। यसरी फिनल्याण्डको शिक्षाको मूल आधार विश्वास (ट्रस्स) रहेको पाइयो जुन शिक्षक र विद्यालयमाथिको विश्वास र शिक्षकबाट नै गुणस्तरको पूर्ण जवाफदेहिता पूरा गरेको देखिन्छ ।
फिन्डेली शिक्षाको संरचनागत व्यवस्था
फिनल्याण्डको शैक्षिक संरचनामा प्रारम्भिक बालविकास र हेरचाह (ECEC) ० देखि ६ वर्षको उमेर समूहका लागि शून्यदेखि छ वर्षको अवधिको रूपमा रहेको छ भने यसलाई ISCED तह ० मा राखिएको छ। यसपछि ६ देखि ७ वर्ष उमेर समूहका बालबालिकाका लागि १ वर्षको पूर्व-प्राथमिक शिक्षा प्रदान गरिन्छ, जहाँबाट ISCED तह ० अन्तर्गत अनिवार्य शिक्षाको औपचारिक सुरुवात हुन्छ। ७ देखि १६ वर्ष उमेर समूहका बालबालिकाका लागि कक्षा १ देखि ९ सम्मको कुल ९ वर्षको आधारभूत शिक्षा (Comprehensive Schools) सञ्चालन हुन्छ, जसले प्राथमिक र निम्न माध्यमिक तह समेट्छ र यो ISCED तह १ र २ तथा RQF तह २ अन्तर्गत पूर्ण रूपमा अनिवार्य शिक्षा हो। आधारभूत शिक्षा पूरा गरेपछि १६ देखि १७ वर्ष उमेरका विद्यार्थीहरूका लागि १ वर्षको माथिल्लो माध्यमिक तयारी शिक्षा (Preparatory Education) उपलब्ध गराइएको छ, जुन RQF तह ३ अन्तर्गत अनिवार्य शिक्षाकै एक भाग हो।
यसपश्चात् १६ देखि १९ वर्ष उमेर समूहका लागि ३ वर्षको माथिल्लो माध्यमिक शिक्षा (Upper Secondary Education) सुरु हुन्छ, जहाँ १८ वर्षको उमेर पूरा नहुँदासम्म शिक्षा अनिवार्य गरिएको छ। यस तहलाई ISCED तह ३ तथा RQF तह ३, ४ र ५ मा वर्गीकरण गरिएको छ र यस अन्तर्गत विद्यार्थीहरूले सामान्य माथिल्लो माध्यमिक विद्यालयमा म्याट्रिकुलेसन परीक्षा वा व्यावसायिक संस्थानहरूमा प्रारम्भिक, थप तथा विशेषज्ञ व्यावसायिक योग्यता हासिल गर्दछन्। माथिल्लो माध्यमिक शिक्षा पूरा गरेपछि १९ वर्षभन्दा माथिल्लो उमेरका विद्यार्थीहरूका लागि उच्च शिक्षाका मार्ग खुल्छन्, जसमा साधारण विश्वविद्यालयमा ३ वर्षको र व्यावसायिक विश्वविद्यालयमा ३.५ देखि ४.५ वर्षको स्नातक तह (Bachelor’s Degrees – ISCED/RQF तह ६) को व्यवस्था छ। यसैगरी, २२ वर्षभन्दा माथिल्लो उमेरमा साधारण विश्वविद्यालयमा २ वर्षको र व्यावसायिक विश्वविद्यालयमा २ वर्षको कार्य अनुभवसहित १ देखि १.५ वर्षको स्नातकोत्तर तह (Master’s Degrees – ISCED/RQF तह ७) अध्ययन गर्न सकिन्छ भने त्यसभन्दा माथि अनुसन्धानमा आधारित विद्यावारिधि तथा लाइसेन्टियट (Doctoral / Licentiate Degrees – ISCED/RQF तह ८) प्रदान गरिन्छ।
शिक्षामा गुणस्तरः पाठ्यक्रम र शिक्षक व्यवस्थापन
फिनल्याण्डमा केन्द्रीय सरकारबाट राष्ट्रिय पाठ्यक्रमस्वरूप कोर पाठ्यक्रम तयार पार्दछ। उक्त पाठ्यक्रममा आधारित भई स्थानीय विद्यालयले नै पाठ्यक्रम तयार पारी पाठ्यपुस्तक समेत विशेषज्ञ शिक्षकबाट लेखन र प्रकाशन गर्दछन् ।यहाँ कोर पाठ्यक्रमको आधारमा विद्यालय र विशेषज्ञ शिक्षकलाई नै पाठ्यक्रम अनुकूलन गरी गुणस्तरी शिक्षा प्रदान गर्ने परम्परा छ।
विद्यालयका लागि शिक्षा विकास र व्यवस्थापनमा स्थानीय तह र मूतलः विद्यालय नै जिम्मेवार रहन्छन् । विद्यालयका लागि चाहिने शिक्षको विज्ञापन गरेर स्थानीय पालिकाको सहकार्यमा उत्कृष्ट शिक्षक विद्यालयले नै नियुक्ति गर्दछन्। विद्यालय शिक्षकको तलब भत्ता लगायत शैक्षिक गुणस्तर र व्यस्थापनका लागि स्थानीय तहले विद्यालयमा एकमुष्ट अनुदान प्रदान गर्दछ । तर विद्यालयअनुसार केही विद्यालय केन्द्रबाट सञ्चालित हुन्छन् । खासगरी शिक्षक तालिम सञ्चालन गर्ने विद्यालय र प्राविधिक विद्यालयमा केन्द्रीय सरकारबाट कार्यक्रम र बजेट उपलब्ध हुन्छ। त्यहाँका शिक्षक पनि केन्द्रबाट नै नियुक्त हुन्छन् ।
यहाँको शैक्षिक गुणस्तरको साँचो विद्यालय र शिक्षकको हातमा थमिएको पाइयो । यहाँ शिक्षक बन्नको लागि उच्च शिक्षामा नै पेडागोजी विषय अध्ययन गरेर करिब १ वर्ष शिक्षण अभ्यास पूरा गरेको हुनुपर्छ। तत्पश्चात निरन्तर अनुसन्धानमा संगग्न गराइन्छ, फलस्वरूप यहाँको शिक्षा अनुसन्धानमुखी र व्यावहारिक भएको पाइयो ।
मूल्याङकन र परीक्षा व्यवस्थापन
फिनल्याण्डको शैक्षिक संरचनामा विद्यार्थीको मूल्याङ्कन र परीक्षासम्बन्धी व्यवस्था अन्य देशहरूको तुलनामा निकै फरक र लचिलो रहेको छ। यहाँ परीक्षाको साटो सिकाइ प्रक्रिया र विद्यार्थीको व्यक्तिगत प्रगतिको मूल्याङ्कनमा बढी जोड दिइन्छ। शून्यदेखि ६ वर्षसम्मको प्रारम्भिक बालविकास र हेरचाह (ECEC) तथा छ वर्षको उमेरमा हुने १ वर्षको पूर्व-प्राथमिक शिक्षा तहमा कुनै किसिमका औपचारिक परीक्षा वा ग्रेडिङको सट्टा खेल विधामार्फत बालविकास र सिकाइको अवलोकन गरिन्छ। त्यसपछि ७ देखि १६ वर्ष उमेर समूहका लागि सञ्चालन हुने ९ वर्षे आधारभूत शिक्षा (Comprehensive Schools / कक्षा १–९) को अवधिभर कुनै पनि प्रकारका राष्ट्रिय वा मानकीकृत परीक्षा (Standardized tests) लिइँदैन। यस ९ वर्षे अनिवार्य शिक्षाको अवधिमा विद्यार्थीहरूबीच कुनै किसिमको प्रतिस्पर्धा, अंकको आधारमा हुने स्कोरिङ वा श्रेणी छुट्याउने काम (Ranking) हुँदैन। यस चरणमा विद्यार्थीहरूको सिकाइ र प्रगतिलाई सम्बन्धित विषय शिक्षकहरूले निरन्तर रूपमा कक्षाकोठाको सिकाइ, गृहकार्य र शिक्षक–विद्यार्थी अन्तरक्रियाका आधारमा गुणात्मक रूपमा मूल्याङ्कन गर्छन्।
आधारभूत शिक्षा पूरा गरेर १६ देखि १९ वर्ष उमेर समूहमा माथिल्लो माध्यमिक शिक्षा (General Upper Secondary वा Vocational) मा प्रवेश गरेपछि पनि नियमित रूपमा कडा परीक्षा लिने चलन छैन। यद्यपि सामान्य माथिल्लो माध्यमिक विद्यालयको तीन वर्षे चक्र पूरा गरेपछि वा उच्च शिक्षामा प्रवेश गर्ने बेलामा फिनल्याण्डको सम्पूर्ण विद्यालय तहमा लिइने एकमात्र राष्ट्रिय परीक्षाको रूपमा म्याट्रिकुलेसन परीक्षा (Matriculation Examination) सञ्चालन हुन्छ। यो परीक्षा स्वेच्छिक प्रकृतिको भए पनि यसले विद्यार्थीहरूको उच्च शिक्षा (विश्वविद्यालय) प्रवेशको मार्ग तय गर्दछ। व्यावसायिक शिक्षातर्फ भने औपचारिक लिखित परीक्षाभन्दा बढी व्यावहारिक कार्यकुशलता, तालिम सम्झौता र कार्यस्थलमा आधारित सिकाइ (Work-based learning) को आधारमा योग्यताको प्रमाणीकरण गरिन्छ।
१९ वर्षभन्दा माथिको उच्च शिक्षा तह (स्नातक र स्नातकोत्तर) मा पुगेपछि भने युरोपेली क्रेडिट स्थानान्तरण प्रणाली (ECTS) अनुसार पाठ्यक्रमको कार्यभार र क्रेडिटका आधारमा विषयगत मूल्याङ्कन तथा परीक्षा हुने गर्दछ। समग्रमा, फिनल्याण्डको शिक्षा प्रणालीले विद्यार्थीलाई परीक्षाको तनाव र मार्कसिटको प्रतिस्पर्धामा होइन, बालबालिकालाई खुसी राख्दै निरन्तर र सुधारात्मक शिक्षक मूल्याङ्कन (Teacher-based continuous assessment) का माध्यमबाट उनीहरूको चौतर्फी क्षमता विकास गर्नमा केन्द्रित गर्दछ।
निष्कर्ष
फिनल्याण्डको शैक्षिक गुणस्तरको मूल कडी यहाँको विद्यालय र शिक्षकको उच्च योग्यता, इमानदारिता, अनुसन्धानमूलक पद्धति र जवाफदेहिता हो । विश्वविद्यालयहरूबाट शिक्षक विकास गरी निरन्तर अनुसन्धानमा संलग्न गराउनाले शिक्षकहरू पेसाप्रति प्रतिबद्ध, विश्वस्त र समर्पित छन् शैक्षिक गुणस्तर सुनिश्चितताका लगि । तसर्थ यहाँ शिक्षण पेसा असाध्यै मर्यादित र सम्मानित रहेको पाइयो । साथै केन्द्रीय सरकार र स्थानीय सरकारको सहकार्यमा विद्यालयको शैक्षिक स्वायतत्ता र शिक्षकको विज्ञता, अध्ययनशीलता र समर्पित सेवाबाट नै यहाँको शिक्षा पद्धति विश्वकै उत्कृष्ठ बन्न पुगेको पाइयो ।
स्रोतः शिक्षा तथा खेलकुद मन्त्रालयबाट शैक्षिक अवलोकन भ्रमण (सेम्टेम्बर १८ देखि १६, २०२६ हेल्सिन्की फिनल्याण्ड) ।