तामाङभाषा पाठ्यक्रम र पाठ्यपुस्तकको अन्तरसम्बन्ध
डा. लोक बहादुर लोप्चन
भाषाविज्ञ एवम् शिक्षाविद
परिचय
भाषा पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षणसामग्री अन्य विषयको भन्दा फरक हुन्छ । अन्य विषयको शिक्षणसिकाइ विषयवस्तु केन्द्रित रहन्छ । भाषा शिक्षणको प्राथमिकता भाषिक सीप सिकाइमा हुन्छ । भाषा शिक्षणको माध्यम र विषय दुवै भाषा हुन्छ । अन्य विषय शिक्षणको माध्यम भाषा हुन्छ र सिकाइने विषय भाषा नभई अन्य विषयसम्बन्धी ज्ञान, सीप र व्यवहार हो । उदाहरणको लागि सामाजिक विषयमा जलवायु परिवर्तन शीर्षकको पाठ्यवस्तु जलवायु परिवर्तनको कारण, समस्या र उपाय हुन सक्छन् । तामाङ भाषा शिक्षणमा ‘च्योइ काले च्योइ’ कविता पढाउँदा पाठ्यवस्तुमा लय मिलाइ पठन, शब्द सिकाइ र भावबोध हुन जान्छ । यसरी भाषा शिक्षणको उद्देश्य र उपलब्धि भाषिक सीप सिकेर बोध र अभिव्यक्ति सामर्थ्य विकास गर्नु हो । अन्य विषयको शिक्षणको उद्देश्य र उपलब्ध विषयसम्बन्धी ज्ञान, सीप हासिल गरी व्यवहारमा लागू गर्नु हो ।
तामाङभाषा पाठ्यक्रम र पाठ्यपुस्तकबीचको अन्तरसम्बन्ध
तामाङभाषा शिक्षणका लागि तयार पारिएको व्यवस्थित योजना तामाङ भाषा पाठ्यक्रम हो । यसमा पाठ्यक्रममा मूल अवयवहरू उद्देश्य, विषयवस्तु, शिक्षणसिकाइ क्रियाकलाप र मूल्याङ्कन पर्दछ । तामाङभाषा पाठ्यक्रम निर्दिष्ट उदेश्य प्राप्त गर्ने एक आधिकारिक दस्तावेज तामाङभाषा पाठ्यपुस्तक हो । तामाङभाषा पाठ्यक्रम तामाङ भाषा शिक्षणको समष्टिगत योजना हो । तामाङभाषा पाठ्यपुस्तक उक्त योजना कार्यान्वयनका लागि तयार पारिएको एकीकृत सामग्री हो । यसरी तामाङभाषा शिक्षणका लागि तामाङभाषा पाठ्यक्रम र पाठ्यपुस्तक आपसमा एक अर्काका परिपूरक र सहायक हुन् । यसमा तामाङभाषा पाठ्यक्रम तामाङभाषा शिक्षणको लागि विस्तृत खाका हो । तामाङभाषा पाठ्यपुस्तक तामाङभाषा शिक्षणका लागि तयार पारिएको एक आधिकारिक सामग्री हो । तामाङ भाषा पाठ्यक्रम र पाठ्यपुस्तकको भिन्नतालाई तल प्रस्तुत गरिएको छः
तालिका-४७
तामाङ भाषा पाठ्यक्रम र पाठ्यपुस्तकको अन्तर
| तामाङभाषा पाठ्यक्रम | तामाङभाषा पाठ्यपुस्तक |
| ü भाषा पाठ्यक्रम भाषाशिक्षणको विस्तृत योजना हो ।
ü उद्देश्य, शिक्षणसामग्री, कार्यकलाप र मूल्याङ्कन अवयव हुन् । ü मूल उद्देश्य भाषाको शिक्षणसिकाइका लागि मार्गदर्शन गर्नु हो । ü शिक्षण योजना र मूल्याङ्कनको आधार हो । ü शिक्षकका लागि शिक्षणसिकाइको मूल दस्तावेज हो । ü पाठ्यक्रममा शिक्षाको गुणस्तरको मापदण्ड प्रतिबिम्बन हुन्छ । |
ü भाषा पाठ्यपुस्तक पाठ्यक्रम निर्धारित उद्देश्य हासिल गर्न तयार पारिएको आधिकारिक पुस्तक हो ।
ü भाषा आन्तरिक र बाह्य संरचना हुन्छ । ü मूल उद्देश्य पाठ्यक्रम निर्देशित उद्देश्य प्राप्त गर्ने आधिकारिक पाठ्यसमाग्री हो । ü मूल्याङकनको प्रश्न निर्माण गर्न विषयवस्तुहरू प्रस्तुत भएको हुन्छ । ü शिक्षकका लागि पाठ्यक्रमलक्षित शिक्षण कार्यकलाप सञ्चालन गर्ने एक पाठ्यसामग्री हो ।
|
भाषा पाठ्यक्रमका मुख्य अङ्गहरू
भाषा पाठ्यक्रममा उद्देश्य, विषयवस्तु, सिकाइ रणनीति, मूल्याङकनलाई मुख्य अङगका रूपमा समावेश गरिएको हुन्छ । खासगरी भाषासम्बन्धी के विषयवस्तु किन र कसरी पढाउने ? भाषासम्बन्धी के कति उद्देश्य हासिल भयो भएन भनेर जाँचबुझ गर्नका लागि तयार पारिएको शैक्षिक खाका वा योजना हो । यसैको आधारमा समग्र शिक्षा पद्धतिको सञ्चालन र व्यवस्था हुने गर्छ । भाषा पाठ्यक्रमका मुख्य पक्षहरूलाई तल प्रस्तुत गरिएको छः
- उद्देश्यहरू
सिकारूका लागि किन भाषिक सीपहरू सिकाउने भन्ने विषय पाठ्यक्रमका उद्देश्य हुन् । जसमा पाठ्यक्रम निर्धारित भाषासम्बन्धी अपेक्षित उपलब्धिहरू समावेश गरिएको हुन्छ । त्यसैले पाठ्यक्रममा तोकिएको सिकाइका उद्देश्यहरू नै अन्य शिक्षणसिकाइसम्बन्धी कार्यका मूल आधार हुन् । तिनै उद्देश्य वा अपेक्षा गरिएका भाषासम्बन्धी सिकाइ उपलब्धि हासिल गर्न विषयवस्तु, क्रियाकलाप र मूल्याङ्कनसम्बन्धी कार्यहरू गरिन्छ । तामाङभाषाको कक्षा १-३ को उद्देश्य देहायअनुसार हुन सक्छन्ः
तामाङभाषाका सिकाइ सक्षमताहरू
यस तहको अन्त्यमा विद्यार्थीहरूमा निम्नलिखित समक्षता हासिल हुनेछन् :
१. कुराकानी, संवाद, छलफल र प्रश्नोत्तरका क्रममा दोहोरो सञ्चार
२. चित्र, घटना, परिवेश र पाठगत सन्दर्भका आधारमा विषयवस्तुको बोध र अभिव्यक्ति
३. शब्दमा प्रयुक्त ध्वनि र वर्णको शुद्ध उच्चारण
४. वर्ण, मात्रा र शब्दको सङ्केतन र विसड्केतन गरी शुद्ध बोलाइ र लेखाइ
५. प्रवाहपूर्ण पठन, उपयुक्त बोध र अभिव्यक्ति
६. श्रव्य, दृश्य र श्रव्यदृश्य सामग्रीको बोधसहितको भाषिक कार्य
७.मौखिक र लिखित अभिव्यक्तिमा सिर्जनात्मक तथा समालोचनात्मक शिल्पको प्रयोग
- विषयवस्तु
भाषा पाठ्यक्रम निर्धारित भाषा सिकाइका सीप वा उद्देश्य हासिल गर्नका लागि विषयवस्तु वा पाठ्यवस्तु तयार हुन्छ । पाठ्यक्रम नै विषय क्षेत्र, क्रम र विषयको विस्तृतीकरण गरेर के विषयवस्तु कति समय र अङकभार दिई स्पष्ट उल्लेख गरिएको हुन्छ । विद्यालय तहमा एउटा आधिकारिक पाठ्यपुस्तक वा पाठ्यसामग्री लेखन र प्रकाशन गरी पठनपाठन गर्ने प्रचलन छ । तर कतिपय देशहरूमा बहुपाठ्यपुस्तक पद्धति अवलम्बन गरिएको पाइन्छ । उच्च शिक्षामा एउटा मात्र अध्ययन पाठ्यसामग्री हुँदैन, विभिन्न स्रोतसामग्री वा सन्दर्भसामग्रीहरू अध्ययनका लागि सूचीकृत गरिएको हुन्छ । मूलतः भाषा शिक्षणसिकाइका लागि तोकिएका पाठ्यवस्तुजस्तो कथा शिक्षणमा शब्दभण्डार, घटनाक्रम मिलान र भाववोध आदि पाठ्यवस्तु हुन् । कक्षा १-३ का लागि तामाङभाषा विषय शिक्षणका भाषिक क्षेत्र र सीपगत क्षेत्र निम्नानुसार हुन सक्छः
तालिका-४८
भाषिक सीपगत क्षेत्र
| क्र.सं. | भाषिक क्षेत्र | भाषिक सीपगत क्षेत्र |
| १. | सुनाइ र बोलाइ | १.१ध्वनि सचेतीकरण |
| १.२ श्रव्यदृश्य बोध | ||
| २. | पढाइ | २.१ पठन प्रवाह |
| २.२ पठनबोध | ||
| ३. | लेखाइ | ३.१ लेख्य वर्ण सचेतीकरण |
| ३.२ लेखाइ | ||
| ४. | शब्दभण्डार कार्यमूलक व्याकरण | ४.१ शब्दभण्डार |
| ४.२ कार्यमूलक व्याकरण | ||
| ५. | गन्ती प्रणाली | १-१०० सम्म |
| ६. | भाषा र लिपि | तामाङ भाषा साहित्य र लिपि |
| ७. | भाषा प्रविधि र सञ्चार | युनिकोडीकरण, यान्त्रिक अनुवाद, गुगल ट्रान्सलेसन |
- शिक्षणसिकाइ रणनीति/क्रियाकलाप
भाषा शिक्षणसिकाइमा उपेक्षित उद्देश्य हासिल गर्न कक्षाकोठामा गरिने कार्यकलापहरू शिक्षणसिकाइका रणनीति हुन् । त्यसैले कक्षाकोठालाई भाषिक सिकाइका लागि अन्तर्क्रिया गर्ने स्थान हो । जहाँ शिक्षकको सहायताबाट विद्यार्थी भाषिक सीप र सामर्थ्य विकास गर्न भाषिक प्रयोग र अभ्यास गर्दछन् । यसमा मूलतः भाषासम्बन्धी कक्षाकार्यहरूमा जोड दिइन्छ । उक्त क्रियाकलापहरूको सामान्य खाका वा केही कार्यकलापहरू पाठ्यक्रमको विस्तृतीकरणमा उल्लेख गरिएको हुन्छ । यसरी पाठ्यक्रम निर्धारित भाषासम्बन्धी लक्ष्य हासिल गर्न गरिने कार्यकलापहरू महत्वपू्र्ण छन् जसको प्रभावकारिता र सफल प्रयोगबाट मात्र भाषिक सीप र सामर्थ्यको विकास सम्भव छ ।
- मूल्याङ्कन
शिक्षा पद्धतिमा मूल्याङकन एक अभिन्न अङग हो भने पाठ्यक्रममा मूल्याङ्कन शिक्षामा गरिएको जनशक्ति, समय, स्रोत आदिबाट प्राप्त उपलब्धिस्तरको मापन गर्ने कार्य हो । यसबाट दुईखाले आधार प्रदान गर्दछ । पहिलो मूल्याङ्कनबाट अपेक्षित उद्देश्य प्राप्त भइरहेको छ छैन भनेर कार्यान्वयन प्रक्रियामा नै अवलोकन र अनुगमन गरेर सुधारका लागि पृष्ठपोषण प्राप्त हुन्छ । दोस्रो कुन स्तरमा भाषिक उपलब्धि वा सीप प्राप्त गरेको हो सोको परीक्षणको माध्यमबाट स्तर निर्धारण गरेर मूल्य अङकन वा निर्णय गर्दछ । जस्तो नेपाली विषयमा कक्षा ३ मा ए प्लस ल्याएर उत्तीर्ण भएको लब्धाङक पत्र र प्रमाणपत्र उपलब्ध गर्नु ।
भाषा पाठ्यपुस्तकका पक्षहरू
भाषा पाठ्यपुस्तकको आन्तरिक (प्राज्ञिक) र बाह्य (भौतिक) गरी दुई पक्षहरू हुन्छन् । पाठ्यपुस्तकको आन्तरिक पक्षमा भाषसम्बन्धी पाठ, पाठ्यवस्तु, भाषाशैली, चित्र, प्रस्तुतिक्रम, क्रियाकलाप, अभ्यास आदि पर्दछन् । त्यसैगरी बाह्य (भौतिक पक्षअन्तर्गत बाहिरी आवरण, मोटाइ, चौडाइ, स्टिचिङ, सिलाइ आदि पर्दछ । पाठ्यपुस्तकको भौतिक र प्राज्ञिक पक्षहरूको उचित संयोजन तथा व्यवस्थापनबाट मात्र सुन्दर पाठ्यपुस्तक तयार हुन्छ । पाठ्यपुस्तको गुणस्तर, स्तरीय, पठनशीलता आदिको विश्लेषण पनि यसैमा आधारित हुन्छ । भाषा पाठ्यपुस्तकका भौतिक र प्राज्ञिक पक्षहरूको तल चर्चा गरिएको छ
- बाह्य भौतिक पक्षहरू
- बनोट
भाषा पाठ्यपुस्तको बनोट भनेको यसको बाह्य र भित्री पक्षहरूको समग्रता हो । जसरी शरीरमा विभिन्न अङ्गहरू हुन्छन् त्यसैगरी पाठ्यपुस्तको सबै अङगहरूलाई बनोट मान्न सकिन्छ । शिक्षाको तह, कक्षा, विषय र सिकारूको स्तरमा आधारित भई भाषा पाठ्यपुस्तक तयार पारिन्छ ।
- अक्षरको आकार, ठाउँ छोडाइ र अन्तराल
शिक्षाको तह, विषय, कक्षाअनुसार फन्ट साइज र अक्षरको आकार निर्धारण गरिन्छ । त्यसैगरी पृष्ठमा माथि, तल, दायाँ, बायाँ के केति ठाउँ छोड्ने भन्ने कुरा पनि आवश्यकतानुसार तोकिएको हुन्छ । अनुच्छेदहरूमा शीर्षक, उपशीर्षक, लाइनहरूको अन्तर पनि पाठहरूको प्रयोजनअनुसार नै प्रयोगमा ल्याइन्छ ।
- छपाइ र बँधाइ
भाषा पाठ्यपुस्तकको बाहिरी र भित्री पक्षलाई छपाइ र गुणस्तरले ठोस आकार वा आकृति प्रदान गर्दछ । भाषा पाठ्यपुस्तकको छपाइ र बँधाइले पुस्तकको गुणस्तर, आकर्षण र प्रयोगमा सहजता प्रदान गरेको हुन्छ । यसका प्राविधिक पक्षहरूमा छपाइको मेसिन, कागतका साथै बँधाइमा सिलाइ वा स्टिचिङ आदि कुराले प्रभाव पारेको हुन्छ ।
- कागतको स्तर
भाषा पाठ्यपुस्तकको छपाइका लागि प्रयोग हुने कागतले यसको टिकाउपना, गुणस्तर र आकर्षणमा प्रभाव पार्दछ । मूलतः भाषा पाठ्यपुस्तकको प्रयोग कसका लागि किन गरिने हो भन्ने आधारमा कागतको प्रयोग गरिन्छ । तल्ला कक्षाका विद्यार्थीका लागि बढी ग्रामको स्तरीय कागतको प्रयोग गरेर पाठ्यपुस्तक छपाइ गरेमा पुनः प्रयोग गर्न सकिन्छ । साथै बालबालिकामा राम्रो र टिकाउ हुने कागतले पुस्तक किफायती हुने देखिन्छ ।
- मूल्य र सुलभता
भाषा पाठ्यपुस्तकको लेखन, सम्पादन र प्रकाशन गरी विद्यार्थीसमक्ष सहजै र समयमै उपलब्ध गराइनु पर्दछ । यसका लागि विद्यालयको पाठ्यपुस्तकको हकमा जनक शिक्षा सामग्री केन्द्र, पाठ्यक्रम विकास केन्द्र, साझा प्रकाशन र निजी प्रकाशन गृहको सहकार्यमा छपाइ र वितरण कार्य गरिनु पर्दछ । पाठ्यपुस्तकको मूल्य पनि शिक्षाको तह, कक्षा र विषयको आधारमा तय गरेर सुलभ बनाइनु पर्दछ । हाल बहुपाठ्यपुस्तकको धारणा अगाडि आएको हुँदा नेपालमा पनि क्रमशः बहुपाठ्यपुस्तकको प्रयोगतर्फ अगाडि बढ्नुपर्ने देखिन्छ ।
- अन्य र विविध
भाषा पाठ्यपुस्तकको विभिन्न भागहरू हुन्छन् जसमा बाहिरी र भित्री आवरण, अग्र भाग, मूलपाठ र पश्च भागहरूको उचित संयोजन र व्यवस्थापन गर्न जरूरी छ । पाठ्यपुस्तकको बाहिरी आवरण टिकाउ हुने खालको दिगो हुनु पर्दछ । यसका लागि बाहिरी आवरणलाई ल्यामिनेसन गर्न सकिन्छ । त्यसैगरी अग्र भाषामा उल्लेख हुनुपर्ने विषयहरू समावेश भएको हुनुपर्दछ ।
- प्राज्ञिक पक्षहरू
- पाठ्वस्तु
भाषा पाठ्यपुस्तकका पाठहरूमार्फत् भाषिक सीपहरू विकास गरिन्छ । भाषाका सुनाइ, बोलाइ, पढाइ र लेखाइजस्ता सीप पक्षअन्तर्गत विभिन्न विशिष्ट सीपहरू सिकाइन्छ । यसरी कुनै भाषिक पाठमा सिकाइने विषयवस्तुलाई नै पाठ्यवस्तु भनिन्छ । त्यही पाठ्यवस्तुको प्राप्तिका लागि नै समग्र शिक्षण क्रियाकलापहरू सञ्चालन हुन्छ । उदाहरणको लागि आपा खाजी, केके बाजी बालगीतमा पाठ्यवस्तु गति, यति र लय मिलाई वाचन गर्ने, शब्दको अर्थ बताउने र पाठमा व्यक्त गरेको सन्देश पत्ता लगाउने आदि हुन् ।
- शब्दभण्डार
तामाङ भाषाको पाठ्यपुस्तकमा भाषा सिकाइका लागि कच्चा पदार्थ वा तत्वका रूपमा रहेका शब्दभण्डारलाई समावेश गरिएको हुन्छ । भाषा पाठ्यक्रममा नै शिक्षाको तह र कक्षामा आधारित भई शब्दभण्डारको विकास गर्ने लक्ष्य तय गरिन्छ । क्रमशः माथिल्लो तहमा शब्दभण्डारको मात्रा बढाउँदै जानुपर्दछ । त्यसैगरी शब्दको कठिनाइस्तर पनि सरलबाट जटिलताको क्रममा समावेश गरिँदै लगिन्छ । तल्ला कक्षाहरूमा शब्द प्रयोगको सङ्ख्या कम, आवृत्ति र पुनरावृत्तिको अभ्यास बढी मात्रामा हुन्छ । यसरी भाषा पाठ्यपुस्तकको गुणस्तरीय पक्षमा शब्दण्डारको बढोत्तरी र विकासको पक्ष महत्वपूर्ण रहन्छ । त्यसैले पाठ्यपुस्तकमा शब्दभण्डार शिक्षणका लागि पर्याप्त, उचित र यथोचित शब्दभण्डारलाई स्थान दिइएको हुनुपर्दछ ।
- भाषा
भाषा पाठ्यपुस्तकमा प्रयुक्त भाषा, शैली र संरचनाले पाठ्यपुस्तकको पठनशीलता, स्तरीयता र गुणस्तरलाई सूचित गर्दछ । तर शिक्षाको तह र कक्षाअनसुार पाठ्यपुस्तकको भाषा र शैली सरलदेखि जटिलसम्मको क्रममा प्रयोगमा हुन्छ । खासगरी विद्यालय शिक्षाको तल्लो तहको लागि भाषाको पाठ्यपुस्तकमा सरल शब्द र छोटो वाक्यहरू प्रयोगमा आउँछन् । जस्तो कक्षा १ मा ३ शब्दको एक वाक्य, कक्षा २ मा ४ शब्दको एक वाक्य र कक्षा ३ मा त्यसभन्दा बढी शब्दको वाक्यहरूको प्रयोग हुने गर्दछ । खासगरी तल्ला कक्षाहरूमा भाषाका शब्दको आवृत्ति र पुनरावृत्तिमा जोड दिइन्छ । जति जति माथिल्लो कक्षामा प्रवेश गर्छ उति नै नयाँ र कठिन शब्दहरू पाठ्यपुस्तकमा समावेश गर्दै लगिन्छ । अझ माथिल्लो कक्षामा भाषाको पठनपाठनका लागि कथा, कविता, निबन्ध, रूपक, संवाद आदि प्रयोग गरेर भाषाको साहित्यिक र प्राज्ञिक सिर्जनात्मक पाठहरू समाविष्ट हुन्छन् ।
- अभ्यास
भाषा शिक्षणमा भाषिक सीपहरूको विकासका लागि अभ्यास र पुनरावृत्ति कार्य बढी आवश्यक हुन्छ । त्यसैले तामाङभाषाको पाठ्यपुस्तकमा भाषा सिकाइका लागि पर्याप्त क्रियाकलापहरू समावेश गर्नुपर्दछ । भाषाका आधारभूत सीपदेखि उच्चस्तरको सम्प्रेषणात्मक र सम्पादनात्मक क्षमता विकास गर्ने खालका अभ्याससम्बन्धी क्रियाकलापहरू पाठ्यपुस्तकमा समावेश गर्न जरूरी छ ।
- चित्र
भाषा पाठ्यपुस्तकमा चित्रहरू पाठलाई आकर्षक, प्रभावकारी र जीवन्त बनाउने सामग्री हो । चित्र आफैँमा चित्त वा मन वा मष्तिष्कलाई छुने कुरा हो । यसले भाषा सिकाइ होस् वा अन्य विषयवस्तुको सिकाइ होस्, त्यसको अवधारणालाई ठोस बनाउन मद्दत पुर्याउँछ । त्यसैले भाषा पाठ्यपुस्तकमा चित्रहरू सन्तुलित रूपमा पर्याप्त मात्रमा समावेश राख्न आवश्यक हुन्छ । तल्ला कक्षाहरूको पाठ्यपुस्तकमा चित्रको मात्रा र सङ्ख्या बढी राखिन्छ भने माथिल्लो तहको पाठ्यपुस्तकमा विस्तारै चित्र सङ्ख्याको मात्रा र प्रयोग कम हुँदै जान्छ । यसरी भाषा पाठ्यपुस्तकमा चित्रले भाषालाई सरल, मनोरञ्जात्मक र सिर्जनात्मक ढङ्गले सिक्न र सिकाउन मद्दत पुग्दछ ।
- अन्य
भाषा पाठ्यपुस्तकमा पाठहरूको छनोट र स्तरीकरण सरलदेखि जटिल क्रममा समावेश गर्ने प्रचलन छ । यसमा भाषासम्बन्धी उपयुक्त पाठहरूको प्रस्तुति हुन्छ । त्यसमा भाषा सिकाइको लागि चाहिने पाठहरूलाई उचित संयोजन गरिनु पर्दछ । अन्यथा भाषाको सीप र सामर्थ्य विकास कार्य सहज हुँदैन । त्यसैले भाषाको पाठ्यपुस्तक निर्माणमा भाषासम्बद्ध पाठ, भाषा, संरचना र शैलीको सन्तुलित र व्यवस्थित रूपमा उपयोग गर्न आवश्यक छ ।
स्रोतः तामाङ भाषा र साहित्य शिक्षण पुस्तक लेखक स्वयम