नेपालकै अब्बल महाकाली मावि काभ्रेपलाञ्चोकः नायक प्रअ शिवकुमार पौडेल

 

नेपालकै अब्बल महाकाली मावि काभ्रेपलाञ्चोकः नायक प्रअ शिवकुमार पौडेल

मन्डनदेउपुर काभ्रेपलाञ्चोक। २०७९ साल असार १७ गते ।

                                                                         डा.लोकबहादुर लोप्चन

सामुदायिक विद्यालयहरूमा अब्बल र सफल विद्यालयहरू नेपालमै औँलामा गन्न सकिने सङ्ख्यामा मात्र छन्। अझ नेपालका सहरकेन्द्रीत केही विद्यालय मात्र अब्बल सामुदायिक विद्यालयमा गणना हुने गरेको छ। काठमाडौँ, पोखरा, चितवन, भक्तपुरजस्ता सहरका सामुदायिक विद्यालयहरू पर्ने गरेका छन् । अधिकांश अध्येता, शिक्षाकर्मी र पत्रकारहरूबाट समेत तिनै विद्यालय मात्र नेपालका अब्बल विद्यालय भनिँदै आएका छन् । तथापि नेपालका ग्रामीण क्षेत्र भनूँ कुना कन्दराका विद्यालय पहिलो त असल अभ्यास गरेर अब्बल र सफल हुन सकेका छैनन्, भने दोस्रो कुरा सफल र अब्बल भएर पनि लुकेको हिरा बन्न बाध्य छन् । त्यसमध्ये मेरो शिक्षा क्षेत्रको ३० वर्ष जागिरे जीवनको दर्वियानमा राजधानी नजिकैको एक स्थानीय मण्डनदेउपुर नगरपालिकाको महाकाली मा.वि. मन्डनदेउपुर जहाँ म पुँगे, प्रमुख प्रशासकीय अधिकृतको रूपमा, विद्यालयबाट आयोजित अभिभावकका लागि स्वास्थ्य शिक्षा र स्वास्थ्य परीक्षण कार्यक्रममा ।

प्रअ शिवकुमार पौडेल सरले मलाई यसअघि देशका विभिन्न जिल्लाबाट हाम्रा विद्यालयमा अध्ययन भ्रमणका लागि कैयौँ स्कुलका सर, मिस र विद्यार्थी आउनु भएको जानकारी गराउनु भएको थियो । नगरप्रमुखलगायत शिक्षा शाखाका साथीहरूले पनि महाकाली मावि  साँच्चिकै यस नपाको नमूना विद्यालय भन्नु भएको थियो । यतिसम्म कि मैले यस नगरपालिकामा जिम्मेवारी सम्हालेको दोस्रो दिनमै नगरकोट हुँदै कुन्ताबेसीस्थित नगरपालिका जाँदै गर्दा सवारी चालक भाइ चोकनारायणले मण्डनदेउपुरको नमूना र राम्रो स्कुल यही महाकाली मावि हो र प्रअ शिवकुमार पौडेलले यसलाई सामुदायिक विद्यालयमध्ये ठुलो मेहनतले फलाएको र फुलाएको छ भनी बताएका थिए । उनले पूर्व सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाज्यूको पुर्ख्यौली घर समेत यही हो भनेर चिनाएका थिए, जुन महाकाली स्कुलभन्दा पूर्वतिर करिब सय मिटरको दुरीमा रहेको छ।

यस विद्यालयका नर्स सुवि थापाले निमन्त्रणा पत्रकासाथ मलाई उपस्थितिका लागि अनुरोध गर्दा त्यस  दिन उपस्थिति हुने समर्थता मलाई थिएन । उहाँले मलाई यदि उपस्थित हुन अर्को दिन अनुकूल हुन्छ भने प्रअको सल्लाहमा कार्यक्रम सार्न सकिने बताउनु भयो र १७ गतेको दिन समय मिलाउन सुझाउनु भयो । म त्यस विद्यालयको अन्तरङ्ग खोतल्न चाहन्थे, यो देशमा एउटा असल मानिस खोजिरहेछु भनेझैँ ग्रामीण बस्तीमै एउटा सामुदायिक विद्यालयको सबल र सफलता देख्न र हेर्न म आतुर थिएँ । तथापि मैले  यस विद्यालयको हरेक कक्षाकोठाहरूमा पुगेर त्यहाँको सफल अभ्यास हेर्नु अघि सहरभन्दा पर रहेको कुनै एक मावि यस्तो हुन बन्न सक्छ भनी कदापि कल्पना गरेको थिइनँ ।

तर जब म यस विद्यालयको बाल कक्षा हुँदै युकेजी, कक्षा १ देखि ९ कक्षासम्म प्रअको नेतृत्वमा कक्षा अवलोकन गर्दै गएँ, मेरा भ्रम विस्तारै हट्दै गए, बूढानीलकण्ठ,  बौद्ध इन्टरनेसनल, सेन्ट जेभियर्स जस्ता विद्यालय जहाँ म पुगेको छु र हेरेको छु। ती विद्यालयभन्दा कुनै पनि हालतमा यो विद्यालयलाई कम आँक्न सकिने देखिएन । केही वर्ष अघि रामेछापको डहु मावि पुगेको थिएँ, त्यस विद्यालयको कक्षाकोठा र विद्यालयको पठनपाठनको स्थिति बुझ्ने अवसर मिलेको थियो । त्यहाँको व्यवस्थापन भन्दा यो विद्यालयको व्यवस्थापन विलकुल भिन्न र विशिष्ट देखेँ मैले । माथि उल्लेखित सहरका स्कुलमा भन्दा विशिष्ट व्यवस्थापन गरिएको पाएँ, महाकालि माविमा ।

तर यो सफलता जसरी रोम सहर एक दिनमा बनेन भन्ने भनाइ छ त्यसरी नै यो विद्यालय वर्षौको मेहनतमा आजको अवस्थामा आएको छ। त्यो पनि एक कुशल, इमानदार, त्यागी र सबल नेतृत्व क्षमता भएका प्रअ शिवकुमार पौडलको नायकत्वमा । दमक स्थायी घर भएका प्रअ शिवकुमार पौडेल वि.सं.२०५१ सालदेखि यस विद्यालयमा अविछिन्न सेवारत छन्, करिब २८ वर्षको उनको शिक्षण पेसाको यात्रामा उनले यस विद्यालयमा चमत्कार गरेका छन्, विद्यालयको व्यवस्थापनमा, कक्षाकोठालाई शैक्षिक सामग्री, सिर्जना, पेन्टिङ, सूचना प्रविधिसहितका सामग्री सुन्दरम रूपमा सजाएका छन्, भनूँ बसूँबसूँ पढूँपढूँ लाग्ने कक्षाकोठा बनेको छ। विद्यार्थीहरूलाई स्मार्ट बोर्डको प्रयोग गरी सूचना प्रविधिको माध्यमबाट पठनपाठन मात्र गरिएको छैन, विद्यालयमा सिसिटिभि र सञ्चार सञ्जालबाट शिक्षक/ प्रअको कक्षबाटै सबै विद्यार्थीलाई सुमधुर गीतमा ध्यान गरेर पनि देखाउन भ्याए । विद्यार्थी यस विद्यालयमा पढ्न पाएकोमा हर्षित र गर्वित भएको पाएँ ।यो सबको जश ती नानीहरूले प्रअ शिवकुमार पौडेललाई दिए, जुन उनको ३० वर्षसम्म शिक्षण पेसामा गरेको योगदानको मूल्याङ्कन थियो, सम्मान थियो उनले बनाएको एउटा सामुदायिक विद्यालयको सफलताको कुहीनूर थियो, यसका हिरो तिनै प्रअ शिवकुमार पौडेल हुन्, सलाम छ, प्रअ शिवकुमार पौडेललाई, यो चमत्कारपूर्ण कार्यका लागि ।

धेरै अध्येता, पत्रकार, सञ्चार जगत यो विद्यालयको सफलताको कथाबाट अनभिज्ञ छन्,जसरी म यस विद्यालयमा नपुगुञ्जेल नगरपालिकामा देखाउन मिल्ने कुनै नमूना विद्यालय नरहेको भ्रममा थिएँ । जबकि देशका गोरखा, कास्कीलगायतका जिल्लाहरूका सयौँ जिज्ञासु व्यक्तिहरू यस विद्यालयमा अध्ययन भ्रमण गरी फर्केका छन्, हाम्रो विद्यालय त नमूना घोषणा गरिएको पो रहेछ, साँच्चै नमूना त यो विद्यालय रहेछ भन्छन् आगन्तुक विद्यालयका टिमले प्रअ शिककुमार पौडेलले सुनाए ।यतिका विद्यालय बनाए पनि जसरी बाहिर चर्चा छ, तर नगरपालिकामा नै यसको बारेमा कम जानकारी रहेको कुरा कोट्याए उनले । जुन कुरा सत्य थियो, मलाई ३ महिनासम्म, अझ आजको दिनसम्म यो विद्यालयको यतिसम्म सफलता र अब्बलपनको कुनै कल्पना नै थिएन।

आजको दिनमा ममा यस विद्यालयको अध्ययन भ्रमणसँगै आशा पलाएको छ, शिक्षकले वा प्रअले चाहेमा साँच्चै गर्न सक्दा रहेछन् । कुनै बेला शिक्षकले चाहेमा गर्न सक्छन् भन्ने अभियानका कृष्ण थापा र शिक्षा विद्यानाथ कोइरालाको निशाना सही थियो भन्ने लाग्यो मलाई । विद्यालयमा एक प्रअको नेतृत्वमा शिक्षकको समूहले गरेको यस योगदानको थौरै मूल्याङकन गरेको होला, तर त्यागी र समर्पित शिक्षकको लागि अहिलेसम्म समाज, नगर, जिल्ला र राष्ट्रले गरेको अहिलेसम्मको व्यवहार पक्कै पनि पर्याप्त छैन। प्रअ शिवकुमार पौडेल भन्दै थिए, यहाँ गर्नेको मूल्याङकन छैन तर नगरीकन बस्न सकिएको छैन। म त्यतिबेला नतमस्तक हुन पुँगे जब उनले नजिकको तीर्थ हेला, नगरका विद्यालयहरूले समेत यस विद्यालयलाई वास्ता गर्दैन तर टाढा टाढाबाट अब्बल विद्यालय भनेर हेर्न र अध्ययन गर्न आउनेको भिड लाग्छ भने ।

अन्तमा, यति भन्न पुगेः हेड सर समाज, नगर र राष्ट्रले यस योगदानको कुनै दिन मूल्याङ्कन अवश्य गर्छ। फेरि पनि सलाम छ, प्रअ शिवकुमार पौडलसहित शिक्षक परिवारलाई, नेपालकै एउटा सफल र अब्बल सामुदायिक विद्यालयमा महाकाली मावि मण्डनदेउपुरको नाम दर्ज गर्नु भएकोमा। असल र सफल शिक्षण पेसाको गर्विलो पहिचान बनाउनु भएकोमा । यो एउटा जिउँदो इतिहास बनेको छ, सामुदायिक विद्यालयको सफलताको । सबैका लागि अनुकरणीय बनेको छः आज महाकाली मा.वि.मण्डनदेउपुर काभ्रेपलाञ्चोक ।

 

 

 

 

You might also like