
३० वर्षपछि कार्यान्वयन भयो स्थानीय पाठ्यक्रम काभ्रेेको खानीखोला गाउँपालिकामा
खानीखोला गापा काभ्रे, २०७९ साल माघ २२ गते ।
खानीखोला गाउँपालिका काभ्रे र बहुभाषिक शिक्षा तथा सञ्चार प्रा.लि.काठमाडौँको सहकार्यमा खानीखोला गाउँपालिका काभ्रेमा २०७९ साल माघ २१-२२ गते २ दिन खानीखोला गाउँपालिकामा स्थानीय पाठ्यक्रम कक्षा १-८ र हाम्रो खानीखोला पाठ्यपुस्तक कक्षा-१ लेखन कार्यशाला सम्पन्न भएको छ।
बहुभाषिक शिक्षा तथा सञ्चार प्रा.लि.की अध्यक्ष संगिता तामाङको अध्यक्षता र गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ छिन्ताङको प्रमुख आतिथ्य रहेको उक्त कार्यशालामा शिक्षाविद् प्रा.डा.विद्यानाथ कोइराला, भाषाविज्ञ डा.लोकबहादुर लोप्चन, विव्यस महासङघकी सचिव श्री देवी खड्का, प्रविधि एवम सञ्चार सञ्चार विवेक लोप्चनले कार्यशालामा सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो। दुई दिनसम्म सञ्चालन भएको उक्त कार्यशालामा पहिलो दिन यस गापाभित्रका ३८ विद्यालयहरूका सबै प्रअहरूको सहभागितामा स्थानीय पाठ्यक्रम लेखन कार्य सम्पन्न गरिएको थियो भने दोस्रो दिन २२ गतेका सबै विद्यालयका सामाजिक शिक्षकहरूको सहभागितामा हाम्रो खानीखोला पाठ्यपुस्तक कक्षा-१ को लेखन कार्य भएको थियो ।
उक्त दुई दिने स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तक लेखन कार्यशालामा गाउँपालिकाका उपाध्यक्ष दोर्जेमान जिम्बा, वडाध्यक्षहरूका साथै शिक्षा शाखा प्रमुख विष्णुबहादुर अधिकारी,प्राविधिक सहायक चक्रबहादुर थापा, स्रोतव्यक्ति होमबहादुर वाईबासहित गाउँपालिकाका कर्मचारीसहित पत्रकारहरूको उपस्थिति रहेको थियो । साथै २२ गतेका दिन श्री जनविकास मावि ताल्ढुंगाको सभाहलमा बहुभाषिक शिक्षा अनलाईन (mlenepal.com) बाट शैक्षिक/भाषिक सवालअन्तर्गत शिक्षक, विद्यार्थी, प्रअ र जनप्रतिनिधिकाबीच अन्तर्क्रिया गरिएको थियो। जसमा कार्यक्रममा उपस्थित विज्ञ सहजकर्ताहरूको उपस्थिति रहेको थियो भने उक्त कार्यक्रमको सञ्चालन प्रविधि एवम सञ्चार संयोजक विवेक लोप्चनले गर्नुभएको थियो ।
यसरी प्राथमिक पाठ्यक्रम-२०४९ मा नै व्यवस्था गरिएको स्थानीय विषय/ मातृभाषा विषयलाई गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ तथा यस गाउँपालिकाका वर्तमान जनप्रतिनिधिहरूको पहलमा कार्यान्वयनमा आएको छ। जुन कार्य संघीय शासनपछि यस स्थानीय सरकारको दोस्रो कार्यकालको प्रशंसनीय, अनुसरणीय र उल्लेखनीय कार्यका रूपमा लिइएको छ।