बागमती प्रदेशमा आ.व.२०८०।८१ देखि तामाङ र नेपाल भाषालाई सरकारी कामकाजको भाषाका रूपमा प्रचलनमा ल्याइने
मकवानपुर, हेटौँडा । २०८० साल असार १ गते ।
बागमती प्रदेश सरकारका माननीय योजना तथा आर्थिक मामिला मन्त्री श्री बहादुर सिं तामाङले २०८० साल असार १ गतेका दिन प्रदेश सभाको संयुक्त बैठकमा आ.व.२०८०।८१ को कार्यक्रम तथा बजेट प्रस्तुत गर्नु भएको छ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६२ अर्ब ७० करोड ९० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले चालुतर्फ २६ अर्ब ७० करोड २७ लाख, पुँजीगत तर्फ ३५ अर्ब ५० करोड ६३ लाख रुपैयाँ र वित्तीय व्यवस्थापन तर्फ ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
प्रदेश सरकारले कुल विनियोजित बजेट मध्ये चालु तर्फ ४२.५८ प्रतिशत, पुँजीगत तर्फ ५६.६२ प्रतिशत र वित्तीय व्यवस्था तर्फ ०.८ प्रति रकम समावेश गरेको छ ।
बागमती प्रदेश सरकारको यस पटकको बजेटको बुँदा नं.५९ मा बागमती प्रदेशमा आगामी आ.व.२०८०।८१ बाट तामाङ र नेपाल भाषालाई सरकारी कामकाजको भाषाका रूपमा प्रचलनमा ल्याउने गरी बजेटको प्रबन्ध गरेको छ।साथै प्रदेशभित्रका लोपोन्मुख जातिका भाषाहरूको अध्ययन, अनुसन्धान गरी लिपिबद्ध गर्न कार्यक्रम तथा बजेट विनियोजन गरिएको छ। बागमती प्रदेश सरकारले यसै वर्षे अधिवेशनमा बागमती प्रदेशको राष्ट्र भाषा ऐन २०८० पारित गरेर सरकारी कामकाजको भाषाको रूपमा तामाङ र नेपाल भाषालाई प्रयोगमा ल्याउनेछ । यसरी नेपालको भाषिक इतिहासमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयन भएको सातौँ वर्षमा बागमती प्रदेशबाट सरकारी कामकाजमा पहिलो पटक तामाङ र नेपाल भाषा सरकारी कामकाजको भाषाका रूपमा प्रयोग हुनु बहुभाषिक मुलुकको विशेष उपलब्धि ठहरिनेछ ।