खिजिदेम्बा ओखलढुंगामा २०८१ बाट शेर्पा, सुनुवार र तामाङ भाषा विषय पठनपाठन हुँदै

खिजिदेम्बा ओखलढुंगामा २०८१ बाट शेर्पा, सुनुवार र तामाङ भाषा विषय पठनपाठन हुँदै

खिजिदेम्बा गाउँपालिका। २०८० साल फागुन २ गते ।

कोशी प्रदेशअन्तर्गत ओखलढुंगा जिल्लामा शैक्षिक सत्र २०८१ सालबाट कक्षा १ देखि ३ सम्म शेर्पा, सुनुवार र तामाङ भाषा विषयका साथै स्थानीय विषय पठनपाठन हुने भएको छ। यस पालिकाको स्थानीय पाठ्यक्रम,२०७६ सालमै तयार भए पनि विद्यालयहरूमा मातृभाषा विषय र स्थानीय विषय कार्यान्वयन भएको थिएन।

खिजिदेम्बा गाउँपालिकाको आयोजना र बहुभाषिक शिक्षा तथा सञ्चार प्रा.लि.काठमाडौँको सहकार्यमा २०८० साल फागुन १ र २ गते गाउँपालिकाका पदाधिकारी, विद्यालयका प्रधानाध्यापक र मातृभाषा एवम् सामाजिक विषय शिक्षकको उपस्थितिका साथै भाषाविद, शिक्षाविदहरूको सहजीकरणमा सञ्चालित पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी कार्यक्रम २०८० साल फागुन १ गते प्रारम्भ भई २ गते सम्पन्न भएको छ। स्मरणीय के छ भने फागुन १ गतेका दिन यस कार्यक्रमको पहिलो सत्रमा विद्यालयको शैक्षिक सुधारका लागि बहुभाषिक शिक्षासम्बन्धी बहस कार्यक्रम सञ्चालन गरिएको थियो।सञ्चारकर्मी विवेक लोप्चनबाट मोडेरेसन गरिएको उक्त शैक्षिक सुधार विषयक बहसमा गाउँपालिका अध्यक्ष गम्बु शेर्पा, संस्थाका अध्यक्ष संगिता तामाङ, भाषाविद अमृत योञ्जन तामाङ, शिक्षाविद् डा.लोकबहादुर लोप्चन तथा सुनुवार भाषा अध्येता उत्तमकुमार सुनुवारले जनप्रतिनिधि, प्रअ र शिक्षकबाट उठाइएका सवालहरूमा प्रस्ट पार्ने कार्य भएको थियो।

यस कार्यक्रमको पहिलो दिनको दोस्रो सत्रमा जनप्रतिनिधि, विद्यालय प्रधानाध्यापकहरू र विज्ञहरूको सहभागिता र सहजीकरणमा मातृभाषा विषयको पाठ्यक्रम कक्षा १-३ लेखन तथा शेर्पा, सुनुवार र तामाङ भाषा विषयको पाठ्पपुस्तकक तयारीका लागि छलफल, अन्तरक्रिया र समूह कार्य समेत गरी पाठ्यक्रम र पाठ्यपुस्तक तयारीका गर्न सामग्री सङकलन, आधार तयारी र अभिलेखन कार्य भएको थियो। त्यसैगरी दोस्रो दिन फागुन २ गतेका दिन विद्यालयमा कार्यरत तामाङ, शेर्पा, सुनवार भाषा विषयका शिक्षक एवम् सामाजिक विषयका शिक्षकको उपस्थितिमा पाठ्यक्रम र पाठ्यपुस्तक लेखनका लागि सामग्री सङकलन एवम अन्तरक्रिया कार्यशाला सञ्चालन गरिएको थियो।

यस कार्यक्रममा शिक्षाविद डा.लोकबहादुर लोप्चनबाट स्थानीय मातृभाषाहरू र स्थानीय विषयको पाठ्यक्रम, पाठ्यपुस्तकको लेखनसम्बन्धी प्रस्तुतिसहित सहजीकरण गरिएको थियो भने भाषाविद अमृत योञ्जन तामाङ र उत्तम सुनुवारबाट मातृभाषा शिक्षासम्बन्धी अभिमुखीकरण कार्य गरिएको थियो। त्यसैगरी बहुभाषिक शिक्षा तथा सञ्चार प्रा.लि.का अध्यक्ष संगिता तामाङबाट बहुभाषिक नेपालको सङघीयताअन्तर्गत स्थानीय तहसम्म पुगेर मातृभाषा शिक्षा कार्यान्वयनको अभियानको सञ्चालन यस संस्थाबाट गरिँदै आएको र संस्थाको तर्फबाट यसअघि अन्य स्थानीय तहहरूमा कार्य सम्पादन गरिसकेको बताउनु भएको थियो। सो कार्यक्रमका प्रमुख अतिथि पालिका अध्यक्ष गम्बु शेर्पाबाट खिजिदेम्बा गाउँपालिकामा आफ्नो नेतृत्वमा भौतिक पूर्वाधार विकासका अतिरिक्त नेपालका विभिन्न जातजातिको मनमुटुको रूपमा रहेको भाषा, संस्कृतिको संरक्षण र विकासका लागि यसलाई शिक्षामा प्रयोग गर्ने कार्य मुख्य आधार भएकाले आगामी शैक्षिक सत्रबाट तामाङ, शेर्पा र सुनुवार भाषा विषयका साथै स्थानीय विषय कक्षा १-३ सम्म लागू हुने प्रतिबद्धता व्यक्त गर्नुभयो। यस कार्यबाट खिजिदेम्बालाई भाषा र संस्कृतिसम्बन्धी पर्यटकीय एवम् अध्ययनस्थल समेत बनाउने भावी योजना रहेको र सोही योजनाको कार्यान्वयनको यो पहिलो विन्दु भएको भनी चर्चा गर्नुभएको थियो। साथै विद्यालय शिक्षामा मातृभाषा विषयको पठनपाठनको सफलताको कारक पक्ष विद्यालय प्रअ र शिक्षक भएकाले यसलाई कटिबद्धताका साथ कार्यान्वयन गर्न प्रअ र शिक्षकहरूलाई आग्रह समेत गर्नुभएको थियो ।

 

 

You might also like