तामाङ भाषाको लेखन पद्धतिः तामयीग लिपिको प्रयोग र अभ्यास
डा. लोक बहादुर लोप्चन
परिचय
तामाङहरू काठमाडौँ वरिपरिका सिन्धुपाल्चोक, काभ्रेपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, मकवानपुर जिल्लामा बसोबास गरेको पाइन्छ। यसका साथै उनीहरू मेचीदेखि महाकालीसम्म छरिएर रहेका छन् तथापि मूलथलो काठमाडौँका वरिपरिका जिल्लाहरू रहेको छ (शर्मा, २०७५, पृ. ३८७)। तामाङहरू खास गरी बागमती प्रदेशका काठमाडौँ वरिपरिका जिल्लामा बसोबास गर्दछन् भने कोशी र मधेशमा समेत उनीहरूक बसोबास रहेको छ। उनीहरू भारतको पश्चिम बङ्गाल, दार्जिलिङ लगायतका क्षेत्रमा पनि बसोबास गरेको पाइन्छ (विष्ट,२०१५,पृ.५७)। नेपालको राष्ट्रिय जनगणना, २०७८ अनुसार तामाङ जातिको कुल जनसङ्ख्या १६,००२,८५ रहेको छ जुन ५.६२% हो। नेपालमा जनसङ्ख्याको आधारमा तामाङहरूको उपस्थिति पाँचौँ शीर्षक्रमममा रहेको छ। तामाङ भाषाको वक्ता सङ्ख्या १४,२३,०७५ (४.८८%) रहेको छ जुन तामाङ जनसङ्ख्याको अनुपतामा वक्ताको अन्तर २,१६,७९१ (१५.२३%) रहन गएको छ। यसरी करिब १६% तामाङहरूले आफ्नो मातृभाषा बोल्न छोडेको देखिन्छ। तर पुर्ख्यौली तामाङ भाषिक वक्ताको सङ्ख्या भने ५.५०% रहेको छ।
तामाङ जातिले बोल्ने भाषा तामाङ भाषा हो। तामाङ भाषालाई तामाङ भाषा, तामाङ ग्योइ, ग्योत, ताम भनिन्छ। यो चिनियाँ तिब्बती भाषा परिवारको भोट बर्मेली परिवारको सदस्य भाषा हो। तामाङ समाजमा निकै प्रचलित शब्द छ ‘ताम्बा’। ‘ताम’ अर्थात ‘भाषा’ वा ‘कुरा’ हुन्छ र ‘बा’ को अर्थ ‘व्यक्ति/कर्ता’ हुन्छ तसर्थ ‘ताम्बा’को शाब्दिक अर्थ ‘भाषा प्रारम्भ गर्ने व्यक्ति पनि भन्ने अर्थ हुन्छ। यस भाषाका मुख्य गरी पूर्वी र पश्चिमी दुई क्षेत्रीय भेदहरू न छन् (योञ्जन राई, २०८०, पृ.४)। यसबाहेक तामाङ भाषाका काठ भोटिया, लामा भोटे, तामाङ ग्योइ, तामाङ लेङ्मो, साइन नामले बोलिने गरेको पाइन्छ। यस भाषामा उत्तर पश्चिमी, दक्षिण पश्चिमी, पश्चिम, पूर्वी र पूर्वी गोरखा गरी चार क्षेत्रीय भेदहरू छन् (एपिजे र अन्य, २०१२, पृ.१५८, पृ.१६४)। तर व्यवहारमा तामाङ भाषाका तीन भौगोलिक भेदहरू रहेको पाइन्छ जसमा पूर्वी तामाङ भाषा एक हो जुन सुनकोशी पारि रामेछापतिर बोलिन्छ। त्यसै गरी त्रिशुली पारि रसुवा र नुवाकोटतिर बोलिने भाषालई पश्चिमी तामाङ भाषा हो भने सुनकोशी वारि र त्रिशुलीवारि पर्ने ललितपुर, काभ्रेपलाञ्चोक र काठमाडौँ आसपासमा बोलिने तामाङ भाषालाई मध्यक्षेत्रीय भाषिक भेदका रूपमा लिइन्छ।
यस भाषाको लेखनमा देवनागरी, सम्भोटा र तामयीग लिपिको प्रयोग हुँदै आएको छ।तिब्बती शास्त्रीय सम्भोटा लिपिको अनुकूलन गरेर हिमाल वारिपारि क्षेत्रका दर्जनौँ भाषाहरू यसै लिपिमा लेखिने गरेको पाइन्छ। यस लिपिको युनिकोडीकरण भएको छ भने तामाङ भाषा लेखनका लागि यसै लिपिलाई अनुकूलन गरेर सिर्जित लिपिलाई तामयीग लिपि नामकरण गरिएको छ। यसलाई तामाङ भाषा लेखनका निम्ति तामाङ जातिको मौलिक लिपिका रूपमा विकास गरी प्रयोग र प्रचलन ल्याएको देखिन्छ (योञ्जन, २०८०, ५७-५८)। तामाङ भाषाको लेखनमा देवनागरी लिपिलाई स्वतःस्फूर्त रूपमा प्रयोग गरिँदै आएको छ तर तामाङ जातिको मौलिक पहिचानका लागि तामयीग लिपिको प्रयोगको दिशातर्फ तामाङ समुदाय अघि बढेको छ। भारतको सिक्किम राज्यबाट सरकारी लिपिका रूपमा मान्यता प्राप्त गरेको तामयीग लिपिले नेपालमा गोरखापत्र दैनिकको नयाँ पृष्ठमा तामाङ भाषाको लेखनमा प्रयोग हुन थालेको दशकौँ भइसकेको छ।
- तामाङ तामाङ भाषामा लेखन पद्धतिको विकास र तामयीग लिपिको प्रयोग
मानिसले मानिसको आफ्नो भाव वा विचार भाषाको माध्यमबाट अभिव्यक्त गर्दछ। प्रथमतः भाषा ध्वनि वा वाणी हो। भाषिक ध्वनिलाई लिखित रूपमा अभिव्यक्त गर्न सङ्केतहरू प्रयोग गरिन्छन्, ती सङ्केतहरू नै लिपि हुन्। तसर्थ लिपि भनेको भाषालाई लिखित रूपमा अभिव्यक्त गर्न प्रयोग गरिने सङ्केत वा लेख्यचिन्हहरू हुन्। सृष्टिको प्रारम्भमा मानिसले भाषाको आविष्कार गर्नु अघि इशाराको माध्यमबाट आपसी संवाद गर्ने गरेको कुरा सहजै अनुमान लगाउन सकिन्छ। कालान्तरमा मानिसले आपसमा बोलेर संवाद गरेसँगै भाषाको मौखिक परम्पराको प्रारम्भ भयो। समयक्रममा मानिसले भाषिक लेख्य परम्पराको विकास गरे जसमा लेख्यचिन्ह वा सङ्केतको प्रयोग गरिन थाल्यो जुन लिपिका रूपमा प्रचलनमा आएको देखिन्छ।
तामाङ भाषाको लेखनमा प्रयोग हुने लेख्यचिन्ह वा लिपिलाई ‘यीग’, ‘हीगे’ वा ‘यीगीहिगि’ भनिन्छ भने यसको अर्थ लिपि हो। तामाङ जाति र भाषा बुझाउनका लागि ‘तामाङ’ र ‘यीग” को सन्धिबाट ‘तामयीग’ शब्दको व्यत्पादन गरिएको हो। यही ‘तामयीग’ लाई तामाङ लिपिका रूपमा प्रलचनमा ल्याइएको छ (तामाङ, २०८२, पृ.३६)। सातौँ शताब्दीमा तिब्बती राजा स्रङचङ गम्पोको पालामा थोन्मी सम्भोटाबाट विकास गरिएको यस लिपिलाई सम्भोटा लिपिका रूपमा चिनिन्छ। हुनत यस लिपिलाई उइछेन, उचेन, उम्जे लिपिका नाममा पनि विभिन्न देशमा त्यहाँको भाषाको लेखनमा प्रयोग गरिएको पाइन्छ।
नेपाल तामाङ घेदुङको मिति २०४९/१२/२२ गते बसेको प्रथम राष्ट्रिय कार्यकारिणी समितिको बैठकबाट सम्भोटा लिपिलाई नै तामाङ लिपि मान्ने र नेपालमा रहेका अन्य भाषाभाषीका बीचमा तामाङ भाषा साहित्यलाई लैजानका लागि देवनागरी लिपि एवम् अन्तर्राष्ट्रिय रूपमा परिचय दिन आइ.पि.ए. (International Phonetical Alphabet) प्रयोग गर्ने गराउने निर्णय भएको देखिन्छ। त्यसै गरी वि.सं. २०५२ पुस १ र २ गते भारतको सिक्किम गान्तोकमा आयोजित अन्तर्राष्ट्रिय तामाङ भाषा लिपि गोष्ठीबाट नेपाल तामाङ घेदुङ र सिक्किम तामाङ बौद्ध सङ्घले उइछेन (लामा धर्मशास्त्र लिपिबद्ध लिपि) लिपिलाई परिष्कृत गरी तामाङ लिपिको रूपमा अपनाउनुपर्ने निचोडमा पुगेको थियो। वि.सं. २०५३ असारमा भारतीय केन्द्रीय भाषा संस्थान, मैसुर दक्षिण भारतमा १५ दिने गोष्ठी सम्पन्न भयो। सोही गोष्ठीमा भाषा ध्वनिवैज्ञानिक जोई रेड्डीसँग पनि छलफल भई सम्भोटा लिपिलाई केही परिमार्जन गरी तामयीग लिपि तयार गरिएको थियो।
वि.सं. २०५४ चैतमा नेपाल तामाङ घेदुङबाट आयोजित मोरङ जिल्लाको उर्लाबारीमा सम्पन्न चौथो राष्ट्रिय सम्मेलनमा भाषा र लिपिको विकासको सन्दर्भमा सम्भोटा लिपिलाई तामाङ भाषाको आधारभूत लिपि मान्ने निर्णय भयो। जसमा तामाङ भाषाको लेखनमा सबै सम्भोटा अक्षर प्रयोग नहुने तथा कुनैका लागि उच्चारण नपुग्ने हुँदा प्रयोगविहीन अक्षरहरू झिक्ने र नपुग भएकोलाई बनाई विकास गर्दै जाने निर्णय लिइयो। साथै सिक्किम सरकारको सहयोगमा सम्भोटा लिपिलाई तामाङ उच्चारण प्रणालीअनुरूप बनाउने प्रयत्न गरिरहेकाले सिक्किम तामाङ बौद्ध सङ्घसँग मिलेर तामाङ उच्चारण (ध्वनि) प्रणालीअनुरूपको लिपिको विकास गर्ने र त्यसको नाम तामयीग राख्ने निर्णय गरियो। सोहीबमोजिम विकसित लिपिको आधारमा तामाङ साहित्यको विकासका साथै विद्यालय शिक्षाका लागि पाठ्यक्रम तथा पाठ्यपुस्तक तयार गरी पठनपाठनमा लैजाने निर्णय समेत भएको थियो। त्यस्तै भारतस्थित सिक्किम राज्यमा तामाङ बौद्ध सङ्घको आयोजनामा जून ८ र ९ सन् १९९८ मा अन्तर्राष्ट्रिय तामाङ भाषा र लिपि विषयक सम्पन्न गोष्ठीमा नेपाल तामाङ घेदुङ, अखिल भारतीय तामाङ बौद्ध सङ्घ र सिक्किम तामाङ बौद्ध सङ्घका भाषिक अभियन्ता तथा भाषाविद्हरूको उपस्थिति रह्यो। यस गोष्ठीबाट तामयीग लिपि नामकरण गर्दै तामाङ भाषामा स्वर वर्ण ५ र व्यञ्जन वर्ण २५ वटा निर्धारण गरिएको हो ।
नेपालको पाँचौ ठूलो जनघनत्व ओगटेको तामाङ समुदायको राष्ट्रिय संस्था नेपाल तामाङ घेदुङले सम्भोटा लिपलाई नै तामाङ भाषाको आधारभूत लिपि स्वीकार गर्नुमा विभिन्न कारणहरू छन्। जसमध्ये तामाङ समुदाय बौद्ध धर्म मान्ने समुदाय, तामाङ भाषाको ध्वनिलाई अभिव्यक्त गर्न सक्ने, तामाङ समुदायको प्रमुख धरोहरहरूमध्ये लामा गुरुहरूले प्रयोग गर्ने लिपि, तामाङ भाषा र छ्योइका कतिपय शब्दहरूमा एकरूपता देखिनु, एउटै भाषाको परिवारका भाषा हुनु आदि हुन्। नेपालको बागमती प्रदेशमा सरकारी कामकाजको भाषाका रूपमा तामाङ भाषाको प्रयोग गर्दा यसै लिपिमा साइनबोर्ड, लेटरप्याङ र छाप समेत निर्माण भई प्रयोग गर्न थालिएको छ। भाषा आयोगको प्राविधिक सहयोग, स्थानीय सरकारको आर्थिक सहयोग र नेपाल तामाङ घेदुङको व्यवस्थापनमा १३ भन्दा बढी पालिकाहरूमा तामयीग लिपिमा आधारित तामाङ भाषा विषयको पठनपाठन भइरहेको छ।
भाषा आयोगको मिति २०८१/३/२६ गतेको बैठकबाट सङ्घ, प्रदेश र स्थानीय तहका निकायहरू र नेपाल तामाङ घेदुङलगायत तामाङ जाति/भाषासम्बन्धी अन्य संस्थाहरू भएमा सोसमेतको सहमतिमा तामाङ भाषाको लेखनका लागि तामयीग, देवनागरी र परम्परागत लिपिहरू प्रयोग गर्न सिफारिस भएअनुसार प्रचलित तामाङ भाषा र यस भाषाको लेखनका लागि बहुलिपिहरूको प्रयोग हुने देखिन्छ (भाषा आयोग, नवौँ वार्षिक प्रतिवेदन, २०८१, पृ.८५)।
३.तामाङ भाषा र तामयीग लिपिको संरचना, स्वरूप र शैली
३.१ तामाङ वर्ण र लिपि परिचय
तामाङ भाषाका वर्ण वा अक्षरहरू लेख्य चिन्हमार्फत् अभिव्यक्त गरिन्छ जुन लिपिको माध्यमबाट प्रस्तुत हुन्छ। तर तामाङ भाषाको लेखनमा एकल नभई बहुलिपिको प्रयोग भएको पाइन्छ। शास्त्रीय तामाङ दस्तावेजहरू सम्भोटा लिपिमा लेखिएका छन्। तर वर्तमानमा तामाङ भाषाको लेखनमा तामयीग लिपिका साथै प्रचलित देवनागरी लिपिसहित बहुलिपिको प्रयोग हुने देखिन्छ (लोप्चन, २०८२, पृ.११७-११८)। यहाँ तामाङभाषाका वर्ण वा अक्षरलाई तामयीग लिपिमा आधारि भई प्रस्तुत गरिएको छः
तामाङ भाषाका स्वर वर्णहरू (५ वटा)
आ इ उ ए ओ
ཨ ཨི ཨུ ཨེ ཨོ
तामाङ भाषाका व्यञ्जन वर्णहरू (२४ वटा)
क ख ग ङ
ཀ ཁ ག ང
च छ ज
ཙ ཚ ཛ
ट ठ ड
ཊ ཋ ཌ
त थ द
ཏ ཐ ད
प फ ब म
པ ཕ བ མ
य र ल व
ཡ ར ལ ཝ
स ह
ས ཧ
द्रष्टव्यः मूल स्वरूपमा हा (འ་) समावेश भएको पाइए पनि प्रयोग गरिएको देखिँदैन ।
उल्लिखित आधारमा तामाङभाषाका वर्णलाई तामयीग लिपिको आधारित लेखन गर्दा तामाङ भाषामा स्वर वर्ण ५ वटा र व्यञ्जन वर्ण २४ वटा प्रयोगमा रहेको पाइन्छ (तामाङ, थोकर र तामाङ, २०७५, पृ.३५)। तर देवनागरी लिपिको आधारमा भने यसभन्दा बढी वर्ण वा अक्षर प्रयोग हुने गर्दछ। यसमा स्वर वर्ण १० र व्यञ्जन वर्ण ३० वटा पहिचान गरिएका छन् (योञ्जन तामाङ, २०७४,पृ.९६)। जसलाई तल प्रस्तुत गरिएको छः
स्वर वर्णहरू (१०)
आ इ उ ए ओ
आः इः उः एः ओः
व्यञ्जन वर्णहरू (३० वटा)
क ख ग ङ ङ्ह
च छ ज
ट ठ ड
त थ द न न्ह
प फ ब म म्ह
य र रह ल ल्ह
व स स्ह ह
३.२ तामाङ भाषामा तानीय व्यवस्था
तामाङ भाषामा एकै शब्दको पनि अवस्था र अर्थअनुसार फरक फरक उच्चारण हुने गर्दछ। एउटै शब्दको उच्चारण गर्दा अर्थभेदक भएमा तानीय भाषा मानिन्छ (तामाङ, २०८१,पृ.५८)। त्यसैले तामाङ भाषा तानीय भाषा (Tonal Language) हो। तामयीग लिपिमा तामाङभाषाको मानक लेखन प्रणाली (तामाङ,२०८१, पृ. ५९) अनुसार तामाङभाषाको मौलिक लेखनको स्वरूप देहायअनुसार प्रस्तुत गरिएको छः
मौलिक तामाङ रूप चतुर्थ महाप्राणको प्रभाव शब्दार्थ
ग्याम ༼གྱམ་༽ घ्याम बाटो
जाङ ༼ཛང་་༽ झाङ गुँड
डा ༼ཌ་༽ ढा नाम्लो
मेन्दो ༼མྷེན་དོ་༽ म्हेन्दो फूल
युल ༼གྱལ་༽ ह्युल जिल्ला
ब्रीबा ༼བྲི་བ་་༽ भ्रीबा लेख्नु
ब्लोबा ༼བློ་བ་་༽ भ्लोबा घोच्नु
तामाङ भाषाको अल्पप्राण वर्णहरूमा ग, ज, ड, द, ब हुन् भने यसमा महाप्राण वर्ण घ, झ, ढ, ध, भ हुँदैन। तर नेपाली वा अन्य भारोपेली भाषाको प्रभावका कारण महाप्राणीय वर्णको प्रयोग हुन गई एउटा लेख्नुपर्ने ठाउँमा अर्को लेखिन पुगेको देखिन्छ। जस्तो तामाङमा ‘गाङ’ नै शुद्ध रूप हो। कतिपय ‘घाङ’ भन्छन्। त्यसै गरी तामाङ जातिको थरमा ‘ब्लोन” नै सही उच्चारित रूप हो तर अन्य भाषाबाट प्रभावित हुँदा यसको उच्चारण र लेखनमा भ्लोन, भुलन, भोलन आदि भएको पाइन्छ।
तामाङ भाषामा अध्येताहरूले चार प्रकारका तानीय स्वरूपहरू पहिचान गरेका छन्। जसमा डोरिन टेलर, मारिया हारी र मार्टिन मजाउदिन रहेका छन्। उनीहरूका अनुसार तामाङभाषाको तानीय स्वरूपलाई तल प्रस्तुत गरिएको छः
उच्च तान (High tone) मे (me) आगो (fire)
उच्च तान (High tone) मे: (me) पुच्छर (tail)
मध्य तान (Mid tone) म्हे (meh:) गोरू (ox)
निम्न तान (Low tone) म्हे (meh) कोठी (mole)
३.३ देवनागरी, तामयीग र सम्भोटा लिपिबीचको अन्तर्सम्बन्ध
तामाङ भाषाको लेखनमा प्रयोग हुँदै आएका ३ वटा लिपिमध्ये देवनागरी लिपि पनि एक हो जुन भारोपेली परिवारका भाषाहरूको लेखनमा प्रयोग हुँदै आएको छ। यस लिपिमा संस्कृत, नेपाली, हिन्दीका साथै नेपालमा बोलिने अन्य मातृभाषाहरू समेत लेखिने गरेको पाइन्छ। तर नेपालका भोटबर्मेली परिवारको भाषाहरूको लेखनका लागि तिब्बतीयन लिपि वा सम्भोटा लिपिको प्रयोग भएको पाइन्छ जस्तोः शेर्पा, भोटे, ह्योल्मो, तामाङजस्ता भाषाहरू। तामाङ भाषाको लेखनको लागि सम्भोटा लिपिमै आधारित भई यसको अनुकूलन गरी सरलीकृत पश्चात तामयीग लिपिको प्रयोग र अभ्यास हुँदै आएको छ। यसरी तामाङ भाषाको लेखनमा तीनवटै लिपिको प्रयोग भइआएको हुँदा तीनवटै लिपिहरूको अन्तर्सम्बन्धलाई देहायको तालिकाहरूमा प्रस्तुत गरी विश्लेषण गर्न सकिन्छः
- यीग्मा
तालिका १
यिग्मा तहमा
| देवनागरी | सम्भोटा लिपि | तामयीग | देवनागरी |
| ཨ | अ | ||
| इ | ཨི | ཨི | इ |
| उ | ཨུ | ཨུ | उ |
| ए | ཨེ | ཨེ | ए |
| ओ | ཨོ | ཨོ | ओ |
माथिको तालिका १ अनुसार सम्भोटा लिपिमा ४ स्वर वर्ण र सम्भोटा लिपिमा ५ स्वर वर्ण देखिन्छन् जसलाई यीग्मा भन्ने गरिएको पाइन्छ। तर देवनागरी लिपिमा १४ वटा स्वर वर्णहरू रहेका छन्। सम्भोटा लिपिमा अ (ཨ) लाई व्यञ्जन वर्ण (यीग्मा) अन्तर्गत राखिएको पाइन्छ भने तामयीगमा स्वर वर्ण (यीग्मा) अन्तर्गत अ (ཨ) समाविष्ट भएको देखिन्छ।
- यीग्पा
तालिका २
यीग्पा तहमा
| देवनागरी | सम्भोटा लिपि-३० | तामयीग लिपि-२४ | देवनागरी |
| का | ཀ་ | ཀ་ | का |
| खा | ཁ་ | ཁ་ | खा |
| गा | ག་ | ག་ | गा |
| ङा | ང་ | ང་ | ङा |
| च्या | ཅ་ | ||
| छ्या | ཆ་ | ||
| ज्या | ཇ་ | ||
| ञ्या | ཉ་ | ||
| ཊ་ | टा | ||
| ཋ | ठा | ||
| ཌ་ | डा | ||
| ता | ཏ་ | ཏ | ता |
| था | ཐ་ | ཐ་ | था |
| दा | ད་ | ད་ | दा |
| ना | ན་ | ན་ | ना |
| पा | པ་ | པ་ | पा |
| फा | ཕ་ | ཕ་ | फा |
| बा | བ་ | བ་ | बा |
| मा | མ་ | མ་ | मा |
| चा | ཙ་ | ཙ་ | चा |
| छा | ཚ་ | ཚ་ | छा |
| जा | ཛ་ | ཛ་ | जा |
| वा | ཝ་ | ཝ་ | वा |
| श्या | ཞ་ | ||
| स्हा | ཟ་ | ||
| ह | འ་ | ||
| या | ཡ་ | ཡ་ | या |
| रा | ར་ | ར་ | रा |
| ला | ལ་ | ལ་ | ला |
| स्या | ཤ་ | ||
| सा | ས་ | ས་ | सा |
| हा | ཧ་ | ཧ་ | हा |
| आ | ཨ་ |
माथिको तालिकामा सम्भोटा लिपि र तामयी लिपिमा आधारित वर्ण सङ्ख्या प्रस्तुत गरिएका छन्। जसअनुसार सम्भोटा लिपिमा यीग्पा ३० वटा (वर्णहरू) छन्। तामयीग लिपिमा २४ वटा मात्र यीग्पा (वर्णहरू) रहेका छन्। तर देवनागरी लिपिमा भने ३८ वटा सम्म व्यञ्जन वर्णहरू उपलब्ध छन्। सम्भोटा लिपिका वर्णहरू देवनागरी लिपिका धेरै वर्णहरूसँग मिल्दाजुल्दा देखिन्छन् तर ༼ཙ༽ छ्या ༼ཚ ༽ श्हा ༼ འ་༽ स्हा ༼ ཟ་༽ स्या ༼ ཤ་ ༽ र आ ༼ ཨ་༽ जस्ता वर्णहरू देवनागरी लिपिका भन्दा फरक छन्। देवनागरी लिपिमा भएका घ, झ, ष, क्ष,त्र, ज्ञ जस्ता वर्णहरूलाई सङ्केत गर्ने लिपि चिन्हहरू सम्भोटा लिपिमा पाइँदैन।
तामयीग लिपि सम्भोटा लिपिमा आधारित देखिन्छ। किनभने तामयीग लिपिको निर्धारण गर्दा सम्भोटा लिपिका केही वर्णहरू छोडिएका छन् भने केही थपिएका छन्। सम्भोटा लिपिबाट छोडिएकामा च्या ༼ཙ༽ छ्या ༼ཚ ༽ श्या༼ ཞ་ ༽ स्हा ༼ ཟ་༽ स्या ༼ ཤ་ ༽ ह ༼ འ་ ༽ र आ ༼ ཨ་༽ रहेका छन् भने थपिएकामा टा ༼ཊ༽ ठा ༼ཋ༽ र डा ༼ཌ༽ रहेको पाइन्छ। जसको कारण सम्भोटा र तामयीग लिपिका बीच भिन्नता आएको देखिन्छ। वस्तुतः तामयीग लिपि आफैँमा नयाँ लिपिको आविष्कार र सिर्जना नभई तामाङ भाषा लेखनको सहजताका लागि शास्त्रीय सम्भोटा लिपिमा आधारित भई अवलम्बन गरिएको सरलीकरणयुक्त स्वरूप र लेखनशैली हो भन्ने कुरा पुष्टि हुन्छ। किनभने माथिको तालिका २ अनुसार देवनागरी लिपि र सम्भोटा लिपिमा दुई प्रकारका च्या ༼ཙ༽ छ्या ༼ཚ༽ ज्या༼ཛ༽ श्हा ༼འ༽ स्हा ༼ཊ༽ स्या ༼ཤ༽ हा ༼འ༽ जस्ता वर्णहरू छन् भने टा ༼ཊ༽ ठा ༼ཋ༽ र डा ༼ཌ༽ जस्ता देवनागरी वर्ण सम्भोटा लिपिमा छैनन्। तर तामयीग लिपिमा टा, ठा र डा रहेकाले देवनागरीकृत जस्तो पनि देखिन्छ ।
- यताग
देवनागरी लिपिमा जोडिएका वा संयुक्त अक्षर रहन्छन् जसलाई देहायको तालिका ३ र ४ मा सम्भोटा लिपि र तामयीग लिपिमा संयुक्त अक्षर बनेपछि दिने अर्थतात्विक आधारमा भिन्नतालाई पहिचान गरिएको छ।
यताग
तालिका ३
| तामयीग | सम्भोटा | ||
| བ+ཡ=བྱ | ब्या | བ+ཡ= བྱ | ज्या |
| པ+ཡ=པྱ | प्या | པ+ཡ= པྱ | च्या |
- राताग
रताग
तालिका ४
| तामयीग | सम्भोटा | ||
| ཀ+ར= ཀྲ | क्रा | ཀ+ར= ཀྲ | टा |
| ཁ+ར= ཁྲ | ख्रा | ཁ+ར= ཁྲ | ठा |
माथिको तालिका ३ मा यताग वा य वर्ण जोडिएपछि सम्भोटा लिपिमा བ+ཡ= བྱ (ज्या) र པ+ཡ=པྱ (प्या) हुन गएको छ भने तामयीगमा བ+ཡ= བྱ (ब्या) र པ+ཡ= པྱ हुन पुगेको छ। त्यसै गरी सम्भोटामा ཀ+ར= ཀྲ (टा) र ཁ+ར= ཁྲ (ठा) भएको छ र ཀ+ར= ཀྲ (क्रा) र ཁ+ར= ཁྲ (ख्रा) बन्न गएको छ। यसरी संयुक्त अक्षरको बनावट एउटै रहे पनि अर्थबोध चाहिँ अरू नै हुने प्रवृत्ति सम्भोटा लिपिमा रहेको हुँदा यो जटिल वा शास्त्रीय भएको प्रस्ट हुन्छ। जसरी शास्त्रीय संस्कृत भाषाबाट देवनागरी लिपिका अक्षर लिइएको हुँदा ष, श र स को उच्चारण एउटै हुन्छ तर लेखन फरक हुन्छ। त्यसै गरी अङ्ग्रेजी भाषामा Knowledge र Psychology शब्दमा अगाडिका वर्णहरू अनुच्चरित रहन्छन्। सम्भोटा लिपिमा पनि त्यस्तै अनुच्चरित वर्णहरूको प्रयोग भई यीग (शब्द) बन्ने विशेषता रहेको पाइन्छ।
ङ) सम्भोटा लिपिमा उस्तै उच्चरित हुने यीगहरू
तालिका ५
उच्चारणगत भिन्नता र लेखन
| देवनागरी | सम्भोटा | तामयीग | देवनागरी |
| च्या | ཅ | ཙ | चा |
| छ्या | ཆ | ཚ | छा |
| ज्या | ཇ | ཛ | जा |
| ञ्या | ཉ | ན | ना |
| स्हा | ཞ | ||
| ह | འ | ཧ | ह |
| स्या | ཤ | ས | स |
| आ | ཨ |
माथिको तालिका ५ मा ञ र ङ/न को लेखन फरक भए पनि उच्चारण भने समान जस्तो सुनिने भएको हुँदा सम्भोटा लिपिको कुन वर्ग प्रयोग गर्ने भनी निर्क्यौल गर्न कठिन हुन्छ। त्यसै गरी श्हा र स्हा को लेखन फरक रहे पनि उच्चारण समान रहेको छ। अझ ह र हा वर्णको लागि सम्भोटा लिपिमा दुई फरक खालको लिपि सङ्केत प्रयोग हुने गरेको पाइन्छ। यसको उच्चारण र लेखन समान भएको हुँदा कुन परिवेशमा ह र हा ध्वनि वा वर्णको लागि कुन लिपि सङ्केत प्रयोग गर्ने अन्योलपूर्ण छ। यसरी सम्भोटा लिपिमा रहेको परम्परागत र पुरातन शास्त्रीय जटिलताको कारण तामयीग लिपिलाई संस्थागत रूपमा अगाडि बढाएर सरलीकृत लेखनशैली अवलम्बन गर्न खोजेको देखिन्छ।
- शब्द उच्चारण वा यीग लेखन
तालिका ६
यीग उच्चारण र लेखन भिन्नता
| सम्भोटा लेखन | देवनागरी उच्चारण | तामयीग लेखन | देवनागरी उच्चारण |
| འཛང་རི་ | जाङरी | ཛང་རི་ | जाङरी |
| བཞུགས་བ་ | स्युबा | སྱུ་བ་ | स्युबा |
| བཟོ་བ་ | सोबा | སོ་བ་ | सोबा |
| འུན་པ་ | हुन्पा | ཧུན་པ་ | हुन्पा |
| ཤིང་སུར་ | शिङ्सुर | སིང་སུར་ | सिङ्सुर |
| འུག་པ་ | हुग्पा | ཧང་སུ་ | हङ्सु |
| དགེ་བ་ | गेवा | གེ་ཝ་ | गेवा |
| ཉ་ནོ་ | ङ्यानो | ངྱ་ནོ་ | ङ्यानो |
| འཕྲེང་བ་ | फ्रेङ्बा | ཕྲེང་བ་ | फ्रेङ्बा |
माथिको तालिका ६ मा देवनागरी लिपिमा लेखन एउटै भए पनि सम्भोटा लिपि र तामयीग लिपिमा लेखन भिन्न रहेको छ। जस्तो जाङरी शब्दको लेखन देवनागरीमा लेख्दा समान भए पनि सम्भोटा र तामयीगमा लेखन फरक छ। त्यस्तै हुग्पा र हङसु शब्दको लेखनमा ह वर्णको लागि सम्भोटा र तामयीगमा फरक फरक लिपि सङ्केतको प्रयोग भएको पाइन्छ। तसर्थ सम्भोटा लिपिमा शास्त्रीय यादृच्छिक जटिलता र अस्पष्टता रहेको पाइन्छ तर सम्भोटा लिपिकै सरलीकृत र परिमार्जित संस्करण वा रूप तामयीग लिपिमा भने त्यस्तो जटिलता र अस्पष्टतालाई न्यूनीकरण गर्ने प्रयास गरिएको पाइन्छ। किनभने यसमा उच्चारणअनुसारको लेखन पद्धति अवलम्बन गर्न खोजिएको छ। साथै उच्चारण र लेखनबीच तादात्म्यता मिलान गरिएको पाइन्छ।
- ङोन्जुग (अगाडि आउने वा उपसर्ग) र याङ्न्जुग (प्रत्यय)
तालिका ७
सम्भोटा लिपिमा ङोन्जुग र याङ्न्जुगको व्यवस्था
| ङोन्जुग वा उपसर्ग | याङजुग वा पर प्रत्यय (प्रत्ययको पनि पछि लाग्ने) |
| ག་ ད་ བ་ མ་ འ་ | ད་ ས་ |
प्रस्तुत तालिका ६ अनुसार सम्भोटा लिपिमा ५ वटा यीग्पाहरू उपसर्ग (ङोन्जुग) र २ वटा यीग्पाहरू प्रत्यय (याङ्जुग) का रूपमा प्रयोग हुने गरेको देखिन्छ। जबकि तामयीग लिपिमा उक्त ङोन्जुग र याङ्जुगको बारेमा बोलिएको पाइँदैन। उल्लिखित उदाहरणको आधारमा सम्भोटा लिपिमा तामाङ भाषाको उच्चारणनुसार लेखन गर्न कठिन हुने देखिन्छ। तसर्थ सम्भोटा लिपिमै सरलीकरण गरी तयार पारिएको तामयीग लिपिमा तामाङ भाषालाई उच्चारणअनुसार नै लेखन गर्ने पद्धतिको रूपमा विकास गर्न खोजेको देखिन्छ।
३.४ तामयीग लिपिमा तामाङभाषाको मानक लेखन प्रणाली
तामाङ भाषाको लेखनमा पनि तामयीग लिपिको प्रयोग गर्दा वर्णविन्यासिक पक्षहरूमा ध्यान पुर्याउनु पर्दछ। तामाङ भाषाको लेखनको क्रममा डिकोको व्यवस्था नभए पनि यसको काम गर्ने थिग (་) थोप्लोले अक्षर समूहलाई छुट्याउँछ। हरेक थिगले एक ध्वन्यात्मक उच्चारण एकाइलाई प्रतिनिधित्व गर्दछ। यस लिपिमा छीमा (मात्राहरू) इकार, उकार, एकार, ओकार हुन्छन्। त्यसलाई उचित तरिकाले प्रयोग गर्नुपर्दछ। यसका साथै संयुक्त अक्षर लेखनमा छुट्याएर देखाउन सकिने र नसकिने शब्दहरू हुन्छन्। तामाङ भाषाको तामयीग लिपिको मानक लेखनका केही विधि र तरिकाहरू (लोप्चन, २०८२, पृ.११७-१२४, १६१-१६८) यसप्रकार छन्:
३.४.१ तामाङ भाषाको स्वर वर्ण र व्यञ्जन वर्णहरूको लेखन
तामाङभाषाको स्वर वर्ण हेर्दा नेपाली र संस्कृत भाषामा पाइने अ स्वर पाइँदैन। त्यसैले व्यञ्जन वर्णमा जस्तो क, ख, रा को उच्चारण का, खा, रा हुन जान्छ। तर माथि प्रस्तुत गर्दा क, ख, रा नै प्रस्तुत गरिएको छ। बालबालिकाहरूले नेपाली भाषामा देवनागरी लिपिमा क,ख, रा सिक्ने भएकाले लेखन प्रयोजनका लागि यहाँ क, ख, रा प्रस्तुत गरिएको हो। जबकि तामाङभाषाको उच्चारण आकारान्त हुन्छ किनभने तामाङभाषा अकारान्तमूलक भाषा होइन। तामाङभाषाको स्वर वर्णलाई तल प्रस्तुत गरिएको छः
तालिका ८
तामयीग स्वरहरू
| तामयीग लिपि स्वरहरू | तामाङ उच्चारण/ हिज्जे र देवनागरी लिपि | तामाङ उच्चारण र रोमन लिपि |
| ཨ | आ | A |
| ཨི | इ | I |
| ཨུ | उ | U |
| ཨི | ए | E |
| ཨོ | ओ | O |
३.४.२ तामाङभाषामा व्यञ्जन वर्ण र स्वर वर्णको संयुक्त लेखन
तामाङभाषाको स्वर वर्ण र व्यञ्जन वर्णको संयुक्त लेखनमा नेपाली र संस्कृतमा भाषामा जस्तो ह्श्व र दीर्घ (इ, उ) कार हुँदैन। यसको लेखनका तलको रूपमा अपनाउनु पर्दछ (तामाङ, २०८१,पृ.४२)
तालिका ९
तामाङभाषाको संयुक्त लेखन
| व्यन्जन र स्वर | संयुक्त रूप | तामयीग | रोमन |
| का+ा | का | ཀ | Ka |
| का+ी | की | ཀི | Ki |
| का+ु | कु | ཀུ | Ku |
| का+ े | के | ཀེ | Ke |
| का+ो | को | ཀོ | Ko |
३.४.३ तामाङभाषाको संयुक्त अक्षरलाई तामयीग लिपिमा लेख्ने विधिहरू
- तामाङभाषाका ङ, ट, ठ, द र द बाहेक अन्य वर्णलाई य, ल र व वर्णसँग आधा अक्षरको रूपमा जोडेर देहायअनुसार लेखिन्छः
ग्याम क्लाङ ह्वाबा
གྱམ་ ཀླང་ ཧྭ་བ་
- तामाङभाषामा अक्षरमा थोप्लो वा थीगले उच्चारणलाई छुट्याउँछ। हलन्तको प्रयोग हुँदैन। त्यसै गरी तामाङभाषामा य वर्णसँग जोडेर अन्य अक्षर लेख्ने तरिका यसप्रकार छः
ताम काङ सेम नङगु
ཏམ་ ཀང་ སེམ་ ནང་གུ་
- दुई अक्षर (Syllable) को व्यञ्जन वर्ण स्वतः आधार अक्षर हुन जान्छ। त्यसलाई यसरी लेख्न सकिन्छः
नाम्सा सोल्बा क्यामसाङ ओन्मा
ནམ་ས་ སོལ་བ་ ཀྱམ་སང་ ཨོན་མ་
देवनागरी लिपिमा लेखिएको तारङा, क्रा र सेर्खा लाई तामयीगमा क्रमशः ཏར་ང་ ཀྲ་ སེར་ཁ་ लेख्नुपर्दछ। तामाङ भाषामा एकाक्षरी छुट्याउन र उच्चारण गर्न कठिन हुने भएकाले यस्ता शब्दलाई जस्तो सेरखालाई སེརྑ་ तारङालाई ཏརྔ लेख्नु हुँदैन। त्यसै गरी संयुक्त व्यञ्जन वर्ण जस्तो क्रा लाई ཀྲ नै हुन्छ।
३.४.४ तामयीग लिपिमा तामाङ भाषा लेखनमा वर्णविन्यासिक वा हिज्जेका पक्षहरू
- थिग (थोप्लो) को नियम
तामयीग लिपिमा अक्षर र शब्दलाई छुट्याउन प्रयोग हुने थोप्लोलाई थिग (་) भनिन्छ। यसको नियम नजानेसम्म तामयीग लिपिमा लेखिएको पाठ पढ्न र लेख्न सकिँदैन। त्यसैले तामयीग लिपिमा तामाङ भाषा लेखनको लागि थिगको प्रयोग जान्नु जरूरी छ। तामाङ भाषा लेखनमा थिग लगाउने तरिकाहरूः
अ)यो हरेक तामाङ सग्ला अक्षरपछि लाग्छ। जस्तोः ཀ་ ག་ ཏ་ ཙ་
उल्लेखित प्रत्येक अक्षर वा वर्णमा थिग लागेको छ जस्तोः ཀ་
आ) थिग हरेक शब्दको पछाडि लगाउनु पर्छ। जस्तोः ཏམ་ ཙམ་ ཨོམ་
- यहाँ हरेक ताामाङ शब्दको पछाडि थिग वा थोप्लो लागेको छ। यसरी तामाङभाषालाई तामयीग लिपिमा लेख्दा प्रत्येक शब्दको पछाडि थिग लगाउनु पर्दछ।
- शब्द उच्चारण गर्दा ध्वनिको एक एकाइ सकिएको ठाउँमा थिग लाग्छ। यसलाई सरल शब्दमा शब्दोच्चरण गर्दा जहाँ रोकिन्छ त्यहाँ थिग लगाउनु पर्दछ। जस्तोः
དར་པུང ཕྱང་གུ་ལིད་ པེང་དོར་ཛེ་ ཀུ་དཔ་
- माथिको उदाहरण हेर्दा यसमा ‘दरपुङ’ शब्द जस्तो यसमा ध्वन्यात्मक पहिलो एकाइ ‘दर’ र दोस्रो एकाइ ‘पुङ’ जस्तो དར་པུང་ मा थिग लगाइएको छ। यसरी तामाङ प्रत्येक शब्दको पछाडि थिग (थोप्लो) लाग्ने गर्दछ)।
थिगको कामहरू
थिगले दुईवटा काम गर्दछ जसमा पहिलो काम उच्चारणलाई छुट्याउँछ र दोस्रो काम आधार अक्षर बनाउने काम गर्दछ।
- उच्चारणलाई छुट्याउने
शब्दमा थिग उच्चारणको आधारमा लाग्ने गर्दछ। यसबाट शब्दमा उच्चारणलाई व्यवस्थित गर्न सहयोग पुर्याउँछ।
དར་པུང་ ད་ར་པུ་ང་ དར་པུ་ང་ དར་པུང་
माथिको चारवटा तामाङ शब्द लेखनमा पहिलोबाहेक अन्य गलत हुन जान्छ किनभने पहिलो उच्चारण ‘दर’ र ‘पुङ’ हुन्छ। सोहीअनुसार लेखन དར་པུང་ लेखिन्छ तर अन्यमा उच्चारणअनुसार थिग प्रयोग नगरिएको हुँदा सही हुँदैन। अन्यमा जथाभावी थिग वा थोप्लो लगाइएको छ।
आधा अक्षर बनाउने
तामयीग लिपिमा आधार अक्षर वा वर्ण बनाउन हलन्त दिने चलन छैन किनभने यो लिपि आकारान्त वा आकारमा अन्त हुने तामाङ भाषा लेखनमा उपयोग हुन्छ। त्यसैले आधार अक्षर बनाउन पनि थिग वा थोप्लो प्रयोग गरिन्छ। यसबाट तामयीग लिपिमा देवनागरी लिपिमा जस्तो आधार अक्षर वा हलन्त प्रयोग गरेर आधार बनाइरहनु नपर्ने भएको छ। जस्तोः
ནམ་ས་ (नाम्सा) ཀུ་དཔ་ (कुदाप्) ཧལ་དི་ (हाल्दी)
སིང་སུར་ (सिङ्सुर) ན་མྱང་ (नम्युङ्) ཨོལ་ཀོང་(ओल्कोङ्)
- थुमयीग (पूर्णविराम) को नियम
तामयीग लिपिमा लेख्दा हरेक तामाङ शब्दको पछाडि थिग वा थोप्लो लाग्दछ। तामाङ वाक्यको अन्तमा थिग वा थोप्लो नलगाई थुमयीग मात्र लाग्दछ। तर तामाङ वाक्य ङ अक्षरसँग टुङगिएमा थीगसँगै थुमयीग दुवै लगाउनु पर्दछ।
ཐེ ལོ་པ་རི་ ནི་ཛི། (थे लोपारि निजि।)
ཙུ་ ཌོ་སི་ དིམ་རི་ ཧ་ཛི། (चु डोसि दिमरि हाजि।)
ནེ་པལ་ ཏ་མང་ གྷེ་དུང་། (नेपाल तामाङ घेदुङ)
माथिको वाक्यहरूको अन्तमा थिग वा थुमयीग दिइएका छन् तर तेस्रो वाक्यको अन्तमा ङ अक्षरसँगै भएकाले थिग र थुमयीग दिइएको छ। यसरी ङ सँग तामाङ वाक्य टुङ्गिएमा थिग र थुमयीग दुवै दिनुपर्दछ।
- छिमा (मात्रा) को अभ्यास
वर्ण वा अक्षरहरूमा लाग्ने मात्रालाई तामयीग लिपिमा ‘छिमा’ भनिन्छ। यस्ता मात्राहरू चार प्रकारका हुन्छन्। अङग्रेजी भाषामा स्वर वर्णका रूपमा यी वर्णहरूलाई चिनिन्छ। तर देवनागरीमा बाह्र स्वरवर्ण भएकाले बाह्रखरी भनिएको हो। तर तामाङ भाषामा जम्मा पाँचवटा मात्र स्वर वर्णहरू छन्, त्यसैले यसलाई ‘ङाछी’ भनिन्छ। यसमा ह्रश्व र दीर्घ मात्रा जस्तो देवनानागरीमा दीर्घ इकार र उकारको मात्रा लाग्दैन। सम्भोटा (उइछेन) लिपिमा ‘ज्याङसी’ भनिने गरिएको पाइन्छ। यसमा आ (ཨ) वर्णमा अन्य मात्रहरू लगाएर स्वर वर्णहरू तयार पारिन्छ (तामाङ, २०७६,पृ.४९)।
गीकु (इकार) ི
स्याब्कु (उकार) ཨུ ུ
डेङ्बो (एकार) ཀེ ེ
नारो (ओकार) ཨོ ོ
तामाङ स्वरवर्णहरूको व्युत्पत्तिलाई तल दिइएको छः
ཨ ཨོ ཨུ ཨེ ཨོ
आ अी अु अे ओ
आ इ उ ए ओ
माथि देवनागरी लिपिमा तामाङ भाषा लेख्दा पनि कतिपयले अ कारमा स्वरवर्ण जनाउने मात्रा लगाएर लेख्दै आएको पाइन्छ। जुन तिब्बती लिपिको अनुकूलन गरिएको हो। तर तामयीग लिपिको हकमा छिमाको नियमअनुसार लेख्न सकिन्छ ।
तामाङभाषामा संयुक्त व्यञ्जन वर्ण निर्माण प्रक्रिया
तामयीग लिपिबाट तामाङ भाषामा लेखन गर्दा संयुक्त वर्णहरूको निर्माण गर्ने मौलिक प्रक्रिया छ। यसअन्तर्गत याताग, राताग, वासुर, लाताग र हाताग रहेका छन्। जस्तोः
याताग ྱ
राताग ར
वासुर ཝ
लाताग ལ
हाताग ཧ
माथिको संयुक्त व्यन्जन वर्ण निर्माण प्रक्रियालाई प्रस्तुत गरिएको छः
याताग
तामाङभाषाको सग्लो वर्णमा तल याताग लगाउने गरिन्छ। याताग भनेको तामाङ भाषाको वर्णमा या ༼ཡ༽जोडेर संयुक्त अक्षर बनाउने कार्य हो। तामाङ भाषा याताग लाग्ने वर्णहरू यसप्रकार छन्ः
ཀ ཁ ག ང ཙ ཚ ཛ ན པ ཕ བ མ ལ ས ཧ
ཀྱ – ཀོ་སིང་ (कोसिङ) ཀྱམ་སང་ (क्यामसाङ) ཀྱ་བ་(क्याबा) ཀྱ་ལོ་ (क्यालो) ཀྱལ་བ་ (क्याल्बा)
ཁྱ- ཁྱ་བ་ (ख्याबा)
གྱ- གྱ་ལམ་ (ग्यालम) གྱ་ལིང་(ग्यालिङ) གྱཨི་ (ग्याइ)
ངྱ- ངྱཨི་བ་ (ङ्याइबा)
ཙྱ- ཙྱོ་དོ་ (च्योदो) ཙྱན་ (च्यान)
ཚྱ- ཚྱ་གུ་ (छयुगु) ཚྱ་གུ་ཏང་ (छ्युगुताङ)
ཛྱ- ཛྱ་བ་ (जिबा)
པྱ- པྱོ་བ་ (पोबा), པོར་ཝ་ (पोरवा)
ཕྱ- ཕྱོ་བ་ (फ्योबा) ཕྱང་བ་ (फ्युङबा)
བྱ- བྱོང་བ་ (ब्योङबा) བྱོན་ (ब्योन)
མྱ- མྱང་བ་ (म्युङबा) མྱོ་བ་ (म्युबा)
ལྱ- ལྱཀ་པ་ (ल्याक्पा)
སྱ- སྱང་(स्याङ) སྱང་བོ་(स्याङबो) སྱལ་གར་(स्यालगार)
ཧྱ- ཧྱང་ (ह्याङ) ཧྱལ་(ह्याल) ཧྱུལ (ह्युल)
राताग
तामाङभाषालाई तामयीग लिपिमा लेखनको क्रममा रा ༼ར༽ लगाएर संयुक्त वर्ण बनाउने कार्यलाई राताग भनिन्छ। राताग बनाउँदा यसको संरचना हेर्दा यो सग्लो वर्णको तलतिर लाग्ने गर्दछ। तामाङभाषामा राताग लाग्ने ८ वटा वर्णहरू छन्ः
ཀ ཁ ག པ ཕ མ ཧ
ཀྲ- ཀྲ་སྱ་ (क्रास्या) ཀྲ་ལི་ (क्राली) ཀྲ་ང་ (क्राङ) ཀྲ་གུ་ (क्र་गु) ཀྲོ་བ་ (क्रोबा) ཀྲོ་སིང་ (क्रोसिङ)
ཁྲ- ཁྲིན་ (ख्रिन) ཁྲུ་བ་ (ख्रुबा ཁྲིམ་བ་ (ख्रिम्बा) ཁྲེ་བ་ (ख्रेबा)
གྲ- གྲུང་ (ग्रुङ) གྲེན་ (ग्रेन)
པྲ- པྲང་བོ་ (प्राङबो) པྲོ་པུཨི་བ་ (प्रोपुइबा)
ཕྲ- ཕྲལ་བ་ (फ्राल्बा) ཕྲེ་ང་ (फ्रेङा)
བྲ- བྲ ་བལ་ (ब्राबल) བྲེ་དིང་ (ब्रेदिङ) བྲོཨི་ (ब्रोइ)
མྲ- མྲ་ཝ་ (म्रावा) མྲང་བ་ (म्राङबा) མྲཔ་ (म्राप)
ཧྲ- ཧྲང་ (ह्राङ) ཧྲང་བ་ (ह्राङबा) རྷང་ནིལ་ (ह्राङनिला)
वासुर/वाताग
तामाङभाषालाई तामयीग लिपिमा लेख्दा सग्ला वर्णमा वा ༼ཝ༽ जोडेर संयुक्त अक्षर बनाउनु वासुर वा वाताग हो। यसमा सग्ला वर्णको तलतिर वा अक्षर जोडिन्छ। यसरी वा अक्षर जोडिने अक्षरहरू तामाङभाषामा १० वटा छन्।
ཀ་ ཁ ག ཚ ཊ ཋ ཌ པ ས ཧ
उल्लिखित वर्णहरूमा वा कार लगाएर वाताग वा वासुर बनाउन सकिन्छ। जसमा केही उदाहरण तल दिइएको छः
ཀྭ- ཀྭོ་ལ་ (क्वोला) ཀྭན་ (क्वान)
ཁྭ- ཁྭ་བ་ (ख्वाबा) ཁྭང་ (ख्वाङ) ཁྭལ་བ་ (ख्वाल्बा)
གྭ- གྭ་རེ་ (ग्वारे) གྭཨི་ (ग्वाइ) གྭཨི་བ་ (ग्वाइबा)
པྭ- པྭང་གལ་ (प्वाङगाल)
སྭ – སྭ་བ་(स्वाबा) སྭ་ (स्वा)
ཧྭ- ཧྭང་ (व्हाङ) ཧྭ་རི་ (ह्वारि) ཧྭམ་བ་ (ह्वाम्बा)
लाताग
तामाङ भाषाको सग्ला अक्षरसँग ला ༼ལ༽ अक्षर मिलेर बनेको संयुक्त अक्षर लाताग हो। यो पनि सग्ला अक्षरको तलतिर लाग्छ। यस्ता वर्णहरू ७ वटा छन्ः
ཀ ཁ ག པ བ མ
उल्लिखित वर्णको आधारमा बन्ने केही संयुक्त अक्षर शब्दहरू
ཀླ – ཀླང་བ (क्लाङ्बा)
ཁླ – ཁླ་བ་ (ख्लाबा)
གླ – གློ་བ་ (ग्लोबा)
པླ – པླེ་བ་ (प्लेबा) པླེཀ་པླེཀ་པ་ (प्लेक्प्लेक्पा)
བླ – བླེ་གུ་ (ब्लेगु) བླཔ་ (ब्लाप) བླུ་ (ब्लु) བློ་བ་ (ब्लोबा)
མླ – མླ་ (ल्हा) མླེ་བ་ (म्हेबा) མླི་ (म्लि)
हाताग
सग्लो वर्णमा हा ༼ཧ༽ कार लागेर बनेको संयुक्त वर्ण हाकारयुक्त हो। यसरी सग्लो वर्णमा हा लगाएर संयुक्त वर्ण बनाउने कार्यलाई हाताग भनिन्छ। यो वर्णको तलतिर लाग्छ। हाताग लाग्ने वर्णहरू १० वटा छन्।
ག ང ཛ ཌ ད ན བ མ ལ ས
उल्लिखित तामाङ वर्णहरू हाकार जोडी निर्मित संयुक्त ताामाङ वर्ण र शब्दहरू तल प्रस्तुत गरिएका छन्ः
གྷ- གྷེ་དུང་ (ग्हेदुङ) གྷེ་ (ग्हे)
ངྷེ- ངྷོཨི་བ་ (ङ्होइबा) ངྷོ་ (ङहो)
ཛྷ- ཛྷི་ (ज्हि)
ཌྷ- ཌྷ་ (ड्ही) ཌྷཔ་ (ड्हाप)
དྷ- དྷོ་ག་ (द्होगा) དྷོ་ (द्हो)
ནྷ- ནྷོ་ (न्हो) ནྷོར་ (न्होर) ནོང་བ་ (नोङबा) ནྷ་བ་ (न्हाबा)
བྷ- བྷལ་བ་ (ब्हाल्बा) བྷཔ་སེ་ (ब्हाप्से)
མྷ- མྷེན་དོ་ (म्हेन्दो) མྷུན་ (म्हुन) མྷང་ (म्हाङ)
ལྷ- ལྷང་ (ल्हाङ) ལྷུན་དི་ (ल्हुन्दी) ལྷོ་ཚར་ (ल्होछार)
སྷ- སྷི་བ་ (स्हेबा) སྷོ་བ་ (स्होबा) སྷང་བོ་ (साङबो) སིལ་བ་(स्हिल्बा)
३.४.५ तामयीग लिपिमा तामाङ भाषाको लेखनमा प्रयोग हुने विराम चिन्हहरू
सम्भोटा लिपिमा प्रचलित विराम र चिन्हहरू तामयीग लिपिमा प्रयोगमा गरिन्छ । यसलाई तलको तालिकामा प्रस्तुत गरिएको छः
तालिका १०
तामयीग लिपिमा प्रयोग हुने विराम चिन्हहरू
| विराम चिन्हहरू | नाम | नेपाली उच्चारण | कार्य |
| ༄ | ཡིག་མགོ་ yig-mgo |
यिग-मगो | पाठको सुरूवातको सङ्केत |
| ༈ | སྦྲུལ་ཤད། sbrul-shad |
ड्रुल-शेद (वा स्ब्रुल-शद) | विषय र उपविषयहरूको वर्ग छुट्याउँछ |
| ་ | ཚེག tseg |
थिग | अक्षर वा शब्दको सीमाङ्कन |
| ། | ཆིག་ཤད། chig-shad |
चिग-शेद | पूर्णविराम (एक खण्डको अन्त्य) |
| ༎ | ཉིས་ཤད། nyis-shad |
न्यिस-शेद | पूर्णविराम (पूर्ण विषयको अन्त्य |
| ༴ | བསྡུས་རྟགས། bsdus-rtags |
दु-ताग | पुनरावृत्ति वा संक्षेपीकरण |
| ༼ | ཨང་ཁང་གཡོན་པ། ang-khang gyon |
अङ-खाङ ग्योन | बायाँ कोष्ठ |
| ༽ | ཨང་ཁང་གཡས་པ། ang-khang gyas |
अङ-खाङ ग्यास | दायाँ कोष्ठ |
स्रोत:https://ne.wikipedia.org/wiki
माथिको तालिकामा आठवटा विराम चिन्हहरूका सङ्केत, नाम, नेपाली उच्चारण प्रणाली र कार्य समेत उल्लेख गरिएको छ। यसले तामाङ भाषाको लेखनमा वर्णविन्यास वा हिज्जेको नियम स्थापित गरी मानक लेख्य पद्धतिको विकासमा टेवा पुर्याउँछ।
४.तामाङ भाषाको लेखनमा तामयीग लिपिको प्रयोग र उपलब्धि
तामाङ जातिको परम्परागत र पुर्ख्यौली संस्कार र संस्कृति बौद्ध धर्म र लामावादमा आधारित छन्। तामाङहरूको पुरानो धर्म लामा बौद्ध हो तर यिनीहरू धर्मका कट्टर छैनन् (विष्ट,२०१७, पृ.३२)। हुनत उनीहरूको संस्कार र संस्कृतिमा बोन्पो र ताम्बाको पनि विशेष भूमिका रहन्छ। उनीहरूको न्वारान संस्कारदेखि विवाह र मृत्यु संस्कारसम्म लामाले छ्योइ पढेर सम्पन्न गर्ने चलन छ। ती धार्मिक संस्कार र संस्कृतिजन्य क्रियाकलापहरूमा वाचन गरिने लामाको धार्मिक ग्रन्थ वा छ्योइ भने तिब्बती लिपि वा सम्भोटा लिपिमा लिपिबद्ध छन्। तामाङ जातिको परम्परागत विद्वान्, गान्बा र ताम्बा सम्बन्धित ग्रन्थहरू उइछेन वा सम्भोटा लिपिमा लेखिएका छन् (तामाङ, थोकर तामाङ, २०११, पृ. २७)। यसरी तामयीग लिपिको आधारभूत लिपि सम्भोटा वा उइछेन भएकाले तामाङ जातिको धर्म, संस्कार र संस्कृतिमा यस लिपिको मानक वा स्रोत लिपिको प्रयोग भइरहेको पाइन्छ।
भारतको सिक्किम राज्यको सरकारी मुखपत्र सिक्किम हेराल्डमा तामाङ भाषा र तामयीग लिपिको प्रयोग र प्रकाशन भइरहेको छ। त्यहाँ विद्यालय शिक्षाको कक्षा १२ सम्मको तामयीग लिपिमा लिखित तामाङ भाषा विषयको पठनपाठन भइरहेको छ। नेपालमा गोरखापत्रको नयाँ नेपाल पृष्ठअन्तर्गत मासिक दुईपटक तामयीग लिपिमा लिखित तामाङ भाषिक पृष्ठ नियमित र निरन्तर रूपमा प्रकाशन भइआएको छ। नेपालको सन्दर्भमा बागमती प्रदेश सरकारबाट प्रदेश सरकारी कामकाजको भाषाको ऐन, २०८० तर्जुमा भई जारी भएपछि सरकारी कामकाजमा तामाङभाषाको कार्यान्वयन हुँदा तामयीग लिपिलाई आधिकारिक लिपिका रूपमा मान्यता प्रदान गरिएको छ। तामाङ भाषा सरकारी कामकाजमा कार्यान्वयनसँगै प्रदेश र स्थानीय तहका साइनबोर्ड, लेटरप्याडमा तामयीग लिपिमा लिखित तामाङ भाषाको प्रयोग विस्तार हुँदैछ। यसरी यस लिपिले तामाङ भाषाको लेखनका लागि सरकारीस्तरबाट आधिकारिकता प्राप्त गरी कार्यान्वयन भएको छ (स.का.भाषा.का.सुझाव प्रतिवेदन, २०८०, अनुसूची ३)।
विद्यालय शिक्षातर्फ सम्भोटा लिपिमा लिखित तामाङ भाषा विषय काठमाडौँको महेन्द्र माध्यमिक विद्यालय बौद्धमा कक्षा १-८ सम्म पठनपाठन भइरहेको छ। पाठ्यक्रम विकास केन्द्रबाट कक्षा १-८ सम्मका लागि सम्भोटा लिपिमा लिखित तामाङ भाषा पाठ्यपुस्तक लेखन र प्रकाशन भएको छ। त्यसै गरी पाठ्यक्रम विकास केन्द्रबाट कक्षा १ को नेपाली भाषाम लिखित गणित, विज्ञान विषयहरूको तामयीग लिपिको माध्यमबाट तामाङ भाषामा अनुकूलन भएका छन् (ཏ་མང་ ངེ་སུར་ ཐེན་ བློན་ ༢༠༦༩) र नेपाल तामाङ घेदुङको सहकार्यमा तामयीग लिपिमा लिखित तामाङ भाषाको कक्षा १-३ सम्मका लागि सन्दर्भपुस्तक प्रकाशन भई कार्यान्वयन भएको देखिन्छ। पछिल्लो समयमा भाषा आयोग, नेपाल तामाङ घेदुङ र स्थानीय तहको सहकार्यमा बागमती प्रदेशका १५ जति स्थानीय पालिकाका विद्यालयहरूमा कक्षा १-३ सम्म तामयीग लिपिमा लिखित तामाङभाषा विषयको पठनपाठन भइरहेको छ। यसका साथै विश्वविद्यालय शिक्षातर्फ नेपाल खुला विश्वविद्यालयमा उत्तरस्नातक तहमा तामाङ स्टडिजअन्तर्गत तामाङ भाषा विषयको पठनपाठन हुन्छ तर तामयीग लिपिको प्रयोग हुने नहुने भन्ने स्पष्ट छैन। तर काठमाडौँ विश्वविद्यालयबाट सञ्चालित उत्तरस्नातक तहमा तामाङ भाषा विषय र तामयीग लिपिको अध्ययनअध्यापन गर्ने व्यवस्था गरिएको छ।
तामाङ भाषा विकासतर्फ सम्भोटा लिपिमा तामाङ शब्दकोश (योञ्जन,२०८०) र सोही लिपिमा पाठ्यक्रम विकास केन्द्रबाट तामाङ भाषा विषयको पाठ्यपुस्तक लेखन भई कक्षा १-८ सम्म प्रकाशन भएको पाइन्छ। त्यसै गरी तामयीग लिपिमा तामाङ भाषाका शब्दकोशहरू तामाङ छीगजो, तामाङ नेपाली प्रयोगात्मक शब्दकोश (मोक्तान, २०७१) र प्रज्ञा तामाङ नेपाली अङ्ग्रेजी शब्दकोश (नेपाल प्रज्ञा प्रतिष्ठान, २०७४) प्रकाशित छन्। बागमती प्रदेश, संस्कृति र पर्यटन मन्त्रालयबाट तामयीग लिपिमा तामाङ भाषाको मानक लेखन शैली पुस्तक (तामाङ, २०८२) र तामाङ भाषा तालिम पाठ्यक्रम र पाठ्यसामग्री (लोप्चन, २०८२) लेखन र प्रकाशन भएका छन्। यसबाहेक तामाङ भाषा र साहित्यतर्फ तामयीग लिपिमा गजल सङ्ग्रहलगायतका कृतिहरू सिर्जना र प्रकाशन भएको देखिन्छ।
५.तामाङ भाषा र लिपिसम्बन्धी चुनौतीहरू
हरेक भाषाको आफ्नै मौलिक ध्वनि, उच्चारण, व्याकरण र लेखनशैली हुन्छ। त्यसैले तामाङ भाषाको लेखनमा अन्य भाषाको लिपिलाई जस्ताको तस्तै प्रयोग गर्न मिल्ने देखिँदैन। यसका लागि उक्त लिपिमा थपघट र भाँचभुच नगरी हुँदैन। उदाहरणको लागि तामाङ भाषाको लेखनमा देवनागरी लिपिको प्रयोग गर्दा कतिपय लिपि सङ्केत थपिएका र अनुकूलन गरिएका छन्। त्यस्तै तामाङ भाषाको लेखनमा सम्भोटा लिपिको हुबहु प्रयोग गर्दा अत्यन्तै शास्त्रीय र जटिल हुने देखिन्छ। यसलाई सरलीकरण गरी तामाङ ध्वनि र उच्चारणअनुसार लेखन गर्न सम्भोटा लिपिमा केही लिपि सङ्केत थप्नुका साथै अनावश्यक लिपि सङ्केत हटाएर तयार पारिएको लिपि नै तामयीग लिपि हो। जसलाई तामाङ भाषाको मौलिक र सरल लिपिको रूपमा प्रयोग गरिँदै आएको छ। भाषा आयोगले सङ्घ, प्रदेश र स्थानीय तह सरकारहरूलाई सम्बन्धित समुदायलसँगको सहमतिमा तामयीगको लिपिको कार्यान्वयन गर्न सिफारिस गरिसकेको छ। बागमती प्रदेश सरकारी कामकाजमा तामाङ भाषा लेखनका लागि सम्भोटा वा उइछेन लिपिबाट अनुकूलन भएको तामयीग लिपिलाई वैधानिक मान्यता प्राप्त भएको हुँदा यसलाई तामाङ भाषाको मौलिक लिपिको रूपमा प्रयोग गर्नमा कुनै असहजता देखिँदैन (सर्वोच्च अदालतको नेपाली वर्णविन्याससम्बन्धी शिक्षा मन्त्रालयविरूद्धको फैसला, २०८१ असार ९ गते )।
तामाङ भाषाको आफ्नै लिपि नहुँदा देवनागरी, सम्भोटा र तामयीग जस्ता बहुलिपिको प्रयोग हुँदै आएको छ। यस सन्दर्भमा तीन खाले फरक दृष्टिकोणहरू पाइन्छन्। पहिलो थरिकाअनुसार सम्भोटा लिपिलाई नै जस्ताको तस्तै हुबहु प्रयोग गर्नुपर्छ भन्दै आत्मसात गर्दै आएका छन्। दोस्रो थरिकाअनुसार तामाङ भाषाको लेखनमा मौलिक लिपिका रूपमा तामयीगलाई प्रयोग गर्नुपर्छ भन्दै कार्यान्वयन गर्दै आएका छन् भने तेस्रो थरिकाअनुसार देवनागरी लिपिको माध्यमबाट सरल र सहज रूपमा तामाङ भाषाको लेखन गर्नुपर्छ भन्ने मान्यता राख्दै सोही लिपिमा तामाङ भाषाको लेखन र प्रकाशन गर्दै आएका छन्। यसरी तामाङ भाषाको लेखनमा लिपिसम्बन्धी विविधताले एकमत हुन सकेको छैन जसको कारण भाषा आयोगदेखि शिक्षा मन्त्रालयसम्म तामाङ भाषा र लिपिसम्बन्धी विवाद र उजुरीहरू पुगेको देखिन्छ। यसमा भाषा आयोगले तामाङ समुदायका लागि कुनै एक आधिकारिक र सर्वस्वीकार्य मानक लिपिको छनोट नहुँदासम्म उक्त भाषाको कार्यविशेष, क्षेत्रविशेष र प्रयोजन विशेष एक भन्दा बढी लिपिहरू प्रयोग गर्न तीनै तहका सरकारहरूलाई सिफारिस गरिसकेको छ (भाषा आयोगको आठौँ प्रतिवेदन, २०८०/८१, पृ.१४१)। अतः कुनै पनि भाषामा एक भन्दा बढी लिपि प्रयोगको विषयलाई भाषा प्रयोगशालामार्फत् भाषिक ध्वनि परीक्षण र पहिचान गरी भाषा आयोगबाट सिफारिस नहुँदासम्म तामाङ भाषालगायत अन्य भाषामा यी र यस्तै लिपिसम्बन्धी असहमतिहरू प्रकट भइरहने देखिन्छ। यसरी नेपालका भाषाहरूको संरक्षण, संवर्धन र विकासमा समुदायगत अवरोध, प्रतिरोध र गतिरोध सिर्जनाजस्ता चुनौतीहरू विद्यमान छन्।
६.अबको गन्तव्य
तामाङ भाषाको मानकीकरण र मानक लेखन पद्धति स्थापित गरी तामाङ भाषाको आलेखनको लागि भावी कार्यदिशा देहायअनुसार हुन सक्छन् :
- नेपालभित्र र बाहिरका तामाङ समुदायले तामाङ भाषाको पुस्तान्तरणसहित तामयीग लिपिमा अनिवार्य साक्षर हुनैपर्ने संस्कृति बसाउनु पर्दछ भने तीनै तहकार सरकारहरूबाट तामाङ भाषाको विकाससम्बन्धी कार्यक्रम सञ्चालन गर्नुका साथै सरकारी कामकाजमा यस भाषा कार्यान्वनलाई प्रभावकारी बनाई प्रयोग विस्तार गरिनु पर्दछ।
- भाषा आयोगको सिफारिसअनुसार तामाङ भाषाको लेखनका निमित्त समुदायबाट सर्वस्वीकार्य लिपिको विकास वा पहिचान भई आत्मसात नगरूञ्जेलसम्म तामाङ भाषाको लेखनमा बहुलिपिको प्रयोगलाई कायम राख्न सकिन्छ।
- सरकारी कामकाजको भाषामा तामाङ भाषाको प्रयोगका निम्ति तामयीग लिपिको प्रयोग भए तापनि धार्मिक र सांस्कृतिक क्षेत्रमा सम्भोटा लिपिको प्रयोग हुने भएकाले विद्यालय शिक्षाको तल्लो तहमा तामयीग लिपिको माध्यमबाट तामाङ भाषा विषयको पठपाठन प्रारम्भ गरी माथिल्लो कक्षा र उच्च तहमा सम्भोटा लिपिलाई तामाङ भाषा विषयमा पठनपाठन गर्ने प्रबन्ध मिलाइनु पर्दछ।
- परम्परागत गोन्पा शिक्षामा सम्भोटा लिपिको प्रयोग हुँदै आएकोमा यसको प्रयोग विस्तार गरिनु आवश्यक छ।
- देवनागरी लिपिमा लिखित तामाङ भाषाको लेख, कृति र दस्तावेजहरूलाई अनुवाद गरेर तामयीग लिपिमा लिप्यन्तरण गरेर अन्तर्भाषिक अनुवाद र अभिलेखीकरण कार्य गरिनु पर्छ।
- देवनागरी लिपिमा लिखित तामाङ भाषाको नेपाली र अङ्ग्रेजी भाषामा यान्त्रिक अनुवाद (गुगल अनुवाद) प्रारम्भ भएको सन्दर्भमा तामयीग लिपिको युनिकोडीकरण गर्दै यस लिपिमा लिखित तामाङ भाषाको पाठलाई नेपाली र अङ्ग्रेजी भाषामा अन्तर्भाषिक अनुवाद गर्न गुगल अनुवाद पद्धतिमा जानु पर्दछ।
- तामाङ भाषाको तानीय अवस्थाको परीक्षण र विश्लेषण गरी तामाङ भाषा लेखनका लागि भाषावैज्ञानिक दृष्टिले सरल र उपयुक्त लिपि निर्धारण गरी सिफारिस गर्नुपर्ने ।
७. निष्कर्ष
मानव समाज र सभ्यता परिवर्तनशील छ, त्यसरी नै भाषा र लिपि पनि अपरिवर्तनीय रहँदैन।तामाङ भाषाको लेखनमा समय, सन्दर्भ र आवश्यकताको आधारमा एक भन्दा बढी लिपिहरू प्रयोगमा आउन सक्छन्। यसको प्रयोगमा जे जस्ता असहमति देखिए पनि कार्यविशेष, क्षेत्रविशेष र प्रयोजनविशेष फरक फरक लिपिको प्रयोग गर्नुबाहेक तत्काल अर्को विकल्प देखिँदैन।तर तामाङ भाषाको मानक लेखनको निमित्त भविष्यमा प्रयुक्त लिपिहरूमध्ये कुनै एक लिपिलाई आत्मसात गर्ने वा नयाँ लिपिको आविष्कार भई प्रयोगमा आउने सम्भावना रहेको छ।अन्यथा तामाङ भाषाको लेखनमा बहुलिपिको प्रयोगले निरन्तरता पाउनेछ।
स्रोतः लोप्चन तामाङ जातिका तर्फबाट तामाङ भाषाका पहिलोा विद्यावारिधि हुनुका साथै भाषा आयोगमा तामयीग लिपिसम्बन्धी प्रस्तुत कार्यपत्र ।
सन्दर्भसामग्री सूची
एपिले, जोहन डब्लु, लेविस पल एम, रेग्मी दानराज र यादव, योगेन्द्रप्रसाद (२०१२), इथ्नोलग नेपाल, भाषाविज्ञान केन्द्रीय विभाग,काठमाडौँ र एस आए एल इन्टरनेसनल।
तामाङ ङेसुर, प्रतीक (२०७६), तामाङ भाषा र लिपि, तामाङ भाषा र लिपि विकास केन्द्र, ललितपुर।
तामाङ, अजितमान (२०८२), तामयीग लिपिमा तामाङ भाषाको मानक लेखन शैली पुस्तक, नेपाल तामाङ घेदुङ र बागमती प्रदेश पर्यटन तथा संस्कृति मन्त्रालय।
तामाङ, अजितमान (२०८२), प्रदेश भाषा स्मारिका, तामाङ जाति, भाषा र तामयीग लिपि, संस्कृति तथा पर्यटन मन्त्रालय, बागमती प्रदेश।
तामाङ, अजितमान, ठोकर राजेन्द्र र तामाङ, सिजर (२०७४), प्रज्ञा तामाङ नेपाली अङ्ग्रेजी शब्दकोश, नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडौँ।
तामाङ, अजितमान, थोकार, राजेन्द्र र तामाङ, सिजार (२०११), तामयीग लिपि तामाङभाषाको मानक लेखन, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, काठमाडौँ।
नेपाली वर्णविन्यास शैली परिवर्तनसम्बन्धी शिक्षा मन्त्रालय विरूद्धको रिट र फैसला (२०८१), सर्वोच्च अदालत, काठमाडौँ।
बागमती प्रदेश सरकारी कामकाजको भाषा कार्यान्वयन कार्यदलको प्रतिवेदन (२०८१), बागमती प्रदेश, संस्कृति तथा पर्यटन मन्त्रालय, हेटौँडा।
भाषा आयोगको आठौँ र नवौँ वार्षिक प्रतिवेदन (२०८०/२०८१ र २०८२/८३), भाषा आयोग, काठमाडौँ ।
मोक्तान, दुपवाङ्गेल (२०७१), तामाङ छीगजो (तामाङ नेपाली प्रयोगात्मक शब्दकोश), जिआइएलटी, काठमाडौँ।
योञ्जन, अमृत (२०८०), नेपालका भाषाहरू, म्हेन्दो ट्रस्ट काठमाडौँ।
योञ्जन, अमृत र राई, तारामणि (२०८०), बामगती प्रदेशमा बोलिने तामाङ भाषाका भौगोलिक भेदहरूको कोशीय-तथ्याङ्कत विश्लेषण, भाषा आयोग, काठमाडौँ।
लोप्चन, लोक बहादुर (२०८२), तामाङभाषा तालिम पाठ्यक्रम र पाठ्यसामग्री, नेपाल तामाङ घेदुङ र बागमती प्रदेश पर्यटन तथा संस्कृति मन्त्रालय।
लोप्चन, लोक बहादुर (२०८२), तामाङ भाषा र साहित्य शिक्षण, बहुभाषिक शिक्षा तथा सञ्चार प्रा.लि., काठमाडौँ।
विष्ट, डोर बहादुर (२०१७), सबै जातको फूलबारी, हिमाल किताब प्रा.लि. काठमाडौँ।
शर्मा, जनकलाल (२०७५), हाम्रो समाज एक अध्ययन, मञ्जरी पब्लिकेशन, काठमाडौँ।
Bista, Dor Bahadur (2015), PEOPLE OF NEPAL, Ratna Pustak Bhandar, Kathmandu.
https://ne.wikipedia.org/wiki/%E0%A4%B8%E0%A4%AE%E0%A5%8D%E0%A4%AD%E0%A5%8B%E0%A4%9F_%E0%A4%B2%E0%A4%BF%E0%A4%AA%E0%A4%BF
ཏ་མང་ ཨ་ཛིཏ་མན་ ངེ་སུར་ པྲ་ཏིཀ་ ཐེན་ བློན་ ཀུ་མར་༼༢༠༦༩༽ ང་ལ་ ག་ནིཏ་ ཐེན་ ང་ལ་ བི་གྱན་ ཐེན་ལྷུཨི་ ཙང་མ་ལ་ ལོཔ་ཏམ་ པ་ཋྱ་ཀྲམ་ ཝི་ཀས་ ཀེན་དྲ་ བཀ་ཏ་པུར།