खानीखोला गा.पा. काभ्रे, ताल्ढुङ्गामा जनविकास बहुमुखी क्याम्पस सञ्चालन हुने
ताल्ढुङ्गा, काभ्रेपलाञ्चोक। २०८२ साल मङसिर २५ गते ।
काभ्रेपलाञ्चोक जिल्लाकै अति विकट क्षेत्रका डाँडापारिको ताल्ढुङ्गामा स्थित श्री जनविकास मा.वि. ताल्ढुङ्गामा विद्यालय स्थापना भएको ७६ वर्षको अवसर पारेर हीरकीय ६७ औँ वार्षिक उत्सव नेपाल सरकारका पूर्व राज्यमन्त्री श्री सूर्यमान दोङको प्रमुख आतिथ्यसहित विद्यालयका पूर्व विद्यार्थी, शिक्षक, अभिभावकहरूको उपस्थितिमा भव्यताका साथ सम्पन्न भयो । विद्यालय व्यवस्थापनका समितिका अध्यक्ष एवम् यसै विद्यालयका पूर्व विद्यार्थी प्रेम प्रकाश लामाको अध्यक्षतामा सञ्चालित वार्षिक समारोहमा यस विद्यालयका पूर्व विद्यार्थी एवम् संविधान सभा सदस्य श्री अकलबहादुर थिङको विशिष्ट अतिथि रूपमा उपस्थिति रहनुका साथै गाउँपालिका अध्यक्षहरूमा खानीखोला गाउँपालिका अध्यक्ष श्री इन्द्रबहादुर थिङ र महाभारत गाउँपालिकाका अध्यक्ष श्री कान्छालाल जिम्माको उपस्थिति रहेको थियो। त्यसैगरी यसै विद्यालयका पूर्व विद्यार्थीहरूमध्ये निजामती सेवामा आबद्ध हाल भाषा आयोगका का.मु.सचिव डा. लोकबहादुर लोप्चनसहित पत्रकार बुद्ध लोप्चनका अतिरित्त विभिन्न क्षेत्रमा आबद्ध पूर्व विद्यार्थीहरूको उपस्थितिमा कार्यक्रम सञ्चालन भई भव्यताका साथ सम्पन्न भएको छ ।
यस कार्यक्रममा विद्यालय प्रधानाध्यापक एवम् पूर्वी विद्यार्थी देशबहादुर वाइबाले आगामी वर्षबाट यस विद्यालयमा आधारित बहुमुखी क्याम्पस स्थापनाका लागि सहयोग जुटाउने उद्देश्यका साथ स्थापना भएको ६७ वर्षको अवसर पारेर वार्षिकोत्सव मनाइएको बताउँदै यस विद्यालयमा अध्ययन सम्पूर्ण व्यक्ति र व्यक्तिहरूबाट क्याम्पस स्थापनाका लागि सहयोगको लागि अनुरोधसहित आव्हान गरेका छन् । संविधान सभाका पूर्व सदस्य अकलबहादुर थिङले चुनौती र समस्याका बीचमा पनि बिगत उच्च मा.वि. सञ्चालनको अनुभवको जगमा क्याम्पस स्थापना लागि सबै सहयोग र पहल जरूरी रहेको उल्लेख गरेका छन् । त्यसैगरी गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ्ले यस विद्यालयलाई क्याम्पस सञ्चालन लागि सबैबाट साथ सहयोग र हातमा हात मिलाई अगाडि बढ्नुपर्ने बताएका छन् । त्यसैगरू भाषा आयोगका का.मु.सचिव एवम् शिक्षाविद् डा. लोकबहादुर लोप्चनले आगामी वर्षबाट यस विद्यालयको रूपान्तरण जनविकास बहुमुखी क्याम्पस हुने र त्यसका लागि आफ्नो तर्फबाट प्राज्ञिक र प्राविधिक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । विभिन्न राजनीतिक दलका व्यक्ति, समाजसेवी र स्थानीय जनप्रतिनिधिहरूले यस विद्यालयमा क्याम्पस सञ्चालन गरी उच्च शिक्षाको पहुँच र अवसर यस क्षेत्रमा दिलाउनको लागि आआफ्नो ठाउँबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि एवम् पूर्व राज्यमन्त्री सूर्यमान दोङले यस क्षेत्रमा उच्च शिक्षाबाट बञ्चितका लागि क्याम्पस स्थापनाले ठूलो अवसर मिल्ने भएकाले आफूले प्रदेश र राष्ट्रियस्तरमा पहल गर्ने र सबैको सहयोगमा क्याम्पस सञ्चालनलाई सफल बनाउने विश्वास र प्रतिबद्धता जाहेर गरेका छन् । यस भेलाले २०८३ वैशाखमा दर्ता र सम्बन्धनका लागि गरिनुपर्ने पूर्वतयारीका भौतिक, शैक्षिक, प्रशासनिकसहित अन्य तयारीहरू गर्ने भएको छ । वि.सं.२०८३ सालबाट क्याम्पस सञ्चालन गर्ने निर्णयसहित प्रक्रिया अगाडि बढाउने भएको छ ।
कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थीहरू जो विभिन्न सेवा र पेसासहित सामाजिक क्षेत्रमा संलग्न छन्, उनीहरूलाई सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको छ । उपस्थिति विभिन्न व्यक्तिहरूले क्याम्पस सञ्चालनका लागि आर्थिक सहयोगस्वरूप रकम नै प्रदान गरेका छन् । त्यसैगरी विद्यालयका छात्रछात्राहरूलाई छात्रवृत्ति र प्रोत्साहनका लागि १ लाख देखि ५ लाखसम्मका तीनवटा अक्षयकोष स्थापना हुने भएको छ ।साथै क्याम्पस सञ्चालनलाई ठोस रूप दिई पूर्व तयारी गर्ने तपसिल बमोजिमको एक पूर्व तयारी समिति र सल्लाहकार समिति गठन गरिएको छ ।
यस क्रममा अक्षयकोष खडा गर्नका लागि विद्यालयले २०८२ साल माघ मसान्तसम्म आर्थिक संकलन गर्ने भएको छ । बहुुमुखी क्याम्पस स्थापनाका लागि सबैलाई सहयोगका लागि प्रअ देशबहादुर वाईबाले अपिल गरेका छन् ।
त्यस्तै २०८३ साल वैशाख महिनाभित्र बहुुमुखी क्याम्पस स्थापनाका लागि दर्ता तथा सम्बन्धन प्राप्त गर्ने योजना समेत सार्वजनिक गरेको छ ।
पूर्व तयारी समिति र पदाधिकारीहरू
- संयोजकः श्री बुद्धिमान स्याङतान (वडाध्यक्ष)
- सदस्यः श्री प्रेम प्रकाश लामा,
- सदस्यः श्री राजन अधिकारी
- सदस्यः श्री दैवलाल घिसिङ
- सदस्यः श्री अविरल जिम्बा
- सदस्यः श्री निर्मल लाम
- सदस्य सचिवमा प्रधानाध्यापक देश बहादुर वाईबा ।
सल्लाहकार समितिका पदाधिकारीहरू
१.सरंक्षकमा अध्यक्ष इन्द्रबहादुर थिङ (खानीखोला गाउँपालिका)
२. संरक्षकः श्री दोर्जेमान जिम्बा (उपाध्यक्ष खानीखोला गाउँपालिका
३. संरक्षणख कान्छालाल जिम्बा (अध्यक्ष महाभारत गाउँपालिकाका)
५. डा. लोक बहादुर लोप्चन (शिक्षाविद्)
७. श्री ओमप्रकाश लामा (शिक्षाविद्)
८. श्री बल बहादुर नेपाली (व्यवसायी)
९. श्री उमेश हुँमागाई (समाजसेवी)
१०.विद्यालय शिक्षकः श्री भवनाथ आचार्य,
११. गाउँपालिका पूर्वअध्यिक्षः श्री कृष्ण बहादुर खुलाल
१२ पत्रकार बुद्ध लोप्चन
१२. संविधान सभाका सदस्यः श्री अक्कल बहादुर थिङ
१३. वडाध्यक्ष सागर लामा
