काठमाडौँ विश्वविद्यालयमा तामाङ भाषा शिक्षामा पोस्ट ग्र्याजुयटको पठनपाठन हुँदै
काठमाडौँ। २०८२/३/२६
काठमाडौँ विश्वविद्यालयले मिति २०८२/३/२६ गतेका दिन यसै शैक्षिक सत्र २०२५ बाट तामाङ भाषा शिक्षणमा एक वर्ष वा दुई सेमेस्टरको पोस्ट ग्र्याजुएट तहको अध्यापन गर्ने भएको छ । विश्वविद्यालयबाट यसअघि अध्ययनका लागि फारम भर्न असार २० गतेसम्म म्याद रहने गरी समय तोकेको थियो । यस अवधिमा जम्मा २९ जनाले तामाङ भाषामा पिजिडिई अध्ययन गर्न इच्छुक भई फारम भरेको छन् । यसले तामाङ भाषा शिक्षणप्रतिको आकर्षण रहेको प्रस्टै हुन्छ । विश्वविद्यालय भाषा शिक्षण शाखा प्रमुख डा. टीकाराम पोखरेल र तामाङ भाषा शिक्षणका संयोजक अजितमानका अनुसार यस वर्ष अध्ययन गर्न फारम भर्नेमा सिक्किमबाट ८ जना र आसामबाट ५ जना तथा अमेरिकाबाट २ जना समेत रहेका छन् । एक जना ७५ वर्ष उमेरका तामाङ अग्रजले समेत तामाङ भाषा शिक्षणमा पिजिडिइ गर्न इच्छुक भई फारम भरेका छन् ।
आज जुलाइ १०, २०२५ का दिन काठमाडौँ विश्वविद्यालयले तामाङ भाषा र नेपाल भाषा शिक्षणका लागि सम्भावित फ्याकल्टीहरूसितको अभिमुखीकरण कार्यक्रम आयोजना गरेको थियो । यसमा तामाङ र नेपाल भाषाका सम्भावित फ्याकल्टीहरूको उपस्थिति हुनका साथै काठमाडौँ विश्वविद्यालय भाषा शिक्षण विभागका प्रमुख डा.टीकाराम पोखरेल, डा. रञ्जित श्रेष्ठको प्रस्तुतिसहित शिक्षाशास्त्रकका डिन प्रा.डा.बालचन्द्र लुईटेलले यो विश्वविद्यालयको नवप्रवर्तन र नवीन फड्को हो ।जुन तामाङ र नेवार समुदायको भाषा शिक्षाको लागि एउटा ऐतिहासिक उपलब्धि हुने विचार व्यक्त गर्नुभएको थियो। कार्यक्रम तामाङ भाषा शिक्षा संयोजक अजितमान तामाङ र नेपाल भाषा शिक्षा संयोजक प्रा.डा.ओमकारेश्वर श्रेष्ठसहित नेपाल भाषा विभागका प्रमुख डा.राजनलाल जोशीले मन्तव्य राख्नु भएको थियो । साथै सहभागी फ्याकल्टीहरूबाट राखिएको जिज्ञासाउपर भाषा विभाग प्रमुख डा.टीकाराम पोखरलले सम्बोधन गर्नुभएको थियो ।