बिगु गाउँपालिकाका विद्यालयहरूमा तामाङ  र थामी भाषा विषय पठनपाठन हुने

बिगु गाउँपालिकाका विद्यालयहरूमा तामाङ  र थामी भाषा विषय पठनपाठन हुने

दोलखा सिङगटी २०८२ साल माघ २९ गते ।

बिगु गाउँपालिकाको आयोजना र बहुभाषिक शिक्षा तथा सञ्चार प्रा.लि.को सहकार्यमा विगु गाउँपालिका दोलखामा शैक्षिक सत्र २०८३ सालबाट कक्षा १ मा तामाङ र थामी भाषा विषय पठनापठनका लागि पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी तथा तामाङ भाषा र लिपि प्रशिक्षणसम्बन्धी ४ दिने कार्यशाला प्रारम्भ भयो । यस कार्यशालाबाट बिगु गाउँपालिकाका लागि तामाङ  र थामी भाषा पाठ्यक्रम कक्षा १-८ र पाठ्यपुस्तक कक्षा १ तयार भई यसै शैक्षिक सत्रबाट दुवै भाषा विषय पठनपाठन हुनेछ । तामाङ र थामी भाषाको विद्यालतगत विद्यार्थीको आधारमा यस पालिकाका ४ वटा विद्यालयमा थामी भाषा विषय र ८ वटा विद्यालयमा तामाङ भाषा विषय पठनपाठन हुनेछ । यस कार्यक्रममा सहजीकरणका लागि भाषा आयोगका निमित्त सचिव एवम् शिक्षाविद् डा.लोक बहादुर लोप्चन, थामी विज्ञ रमेश थामी र डम्बर थामीका साथै तामाङ लिपि प्रशिक्षणका लागि प्रदेश सभा तामाङ भाषा अनुवादक ज्ञानेन्द्र थोकर र प्रशिक्षक सुरज स्याङतान रहनु भएको छ। तामाङ भाषा लिपि प्रशिक्षण २०८२ साल फागुन १ गतेदेखि ३ गतेसम्म सञ्चालन भई प्रमाणपत्र समेत वितरण गरिने कार्यक्रम रहेको छ।

संगिता तामाङ, बहुभाषिक शिक्षा तथा सञ्चार प्रालिकी अध्यक्ष संगिता तामाङको अध्यक्षतामा सञ्चालित यस उद्घाटन सत्रका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष सञ्जिव ओली, विशेष अतिथि उपाध्यक्ष देविका थामी र विशिष्ट अतिथिहरूमा पूर्व मन्त्री देवी खड्का, विशाल खड्का लगायत वडाध्यक्षहरू रहनुभएको थियो ।विद्यालयका प्रअ, शिक्षक र तामाङ/थामी भाषिक संस्थाका केन्द्रीय, जिल्ला र स्थानीय प्रमुख र प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रमको औचित्य र मातृभाषा भाषा विषय र माध्यमका रूपमा स्थानीय तह, विद्यालयमा के कसरी प्रयोगमा ल्याउनु विषयमा भाषाविद् डा. लोक बहादुर लोप्चन सहजीकरणका साथ प्रस्तुति गर्नुभएको थियो। साथै प्रमुख अतिथि संजिव ओलीले गणित, विज्ञानजस्ता विषय मातृभाषाको माध्यमबाट समेत पढ्न पढाउने सकेमा सिकाइ र बुझाइको स्तर उच्च हुने विश्वास राख्दै वर्तमान प्रविधिको युगमा भाषिक प्रविधीकरण गरेर यसको पहुँच विस्तार गर्नमा जोड दिनुभएको थियो। त्यसैगरी पूर्व मन्त्री विशाल खड्काले दोलखाको विकासमा पूर्वाधार विकासको जति महत्व छ त्यसै गरी भाषा संस्कृतिलो प्रयोग विस्तारमा प्रदेश सरकारमा सहभागी भएकाले प्रदेश भाषा ऐन पारितदेखि यसको कार्यान्वयन हिस्सा भएकोमा आफूलाई गर्व लागेको बताउनु भयो । उहाँले विगु गाउँपालिका यो कदमको प्रशंसा गर्दै तालिमको सफलताको शुभकामना व्यक्त गर्नुभयो । साथै अन्य वडाहरूले पनि भाषा र शिक्षामा बहुभाषिकताको महत्व र प्रयोग विस्तार गर्न आव्हान गरेका छन् । गाउँपालिका शिक्षा शाखा प्रमुखबाट सञ्चालित यस सत्रको अन्तमा बहुभाषिक शिक्षा प्रा.लि.का अध्यक्ष संगिता तामाङले आफूहरूको मातृभाषा शिक्षा भाषा यात्राको यो चौथो शृङखलासम्म आइपुग्दा थोरै भए पनि भाषा क्षेत्रमा जोडिएर योगदान पुर्‍याउने सकेको र आगामी यात्रा निरन्तर रहने प्रतिबद्धतासहित यस कार्यक्रम उपस्थित सबैलाई कृतज्ञता प्रकट गर्नुभयो भने यस कार्यक्रमको अवसर दिलाएकोमा पालिकाप्रति आभार व्यक्त गर्नुभयो ।

You might also like