तामाङ भाषाः शब्दार्थ शिक्षण
डा.लोक बहादुर लोप्चन
परिचय
भाषा भाव वा विचारको संवाहक हो । यसमा शब्दले विशेष अर्थ बोकेको हुन्छ र शब्दकै माध्यमबाट विचारको सञ्चार सम्भव छ । भाषामा बोध (सुनाइ र पढाइ) र अभिव्यक्ति (बोलाइ र लेखाइ) सीप हासिल गर्न शब्दभण्डारको आवश्यकता हुन्छ । त्यसैले भाषा शिक्षणमा शब्दभण्डार आधारभूत भाषिक पक्ष हो । किनभने शब्दकै माध्यमबाट वाक्यहरू बन्छन् र वाक्यको सुगठनमार्फत् अनुच्छेदहरू बन्ने गर्दछ । त्यसपछि आपसी संवाद, सञ्चार र सम्प्रेषण तहमा भाषाको प्रयोग तथा अभ्यास हुन थाल्दछ । जसरी कुनै पनि सामग्री निमार्णमा कच्चा पदार्थ अतिआवश्यक हुन्छ । त्यसरी नै भाषामा शब्द आधार तत्व हो । त्यसैले भाषा शिक्षणमा विद्यार्थीलाई शब्दभण्डारको ज्ञान प्रदान गरी सन्दर्भअनुसार प्रयोग गर्ने सीप र सामर्थ्यको विकास गर्नुपर्दछ । शब्दको सिकाइबाट बालबालिकाहरूमा धारणाको विकास र संज्ञान (बुद्धि) विकासको ढोका खुल्दछ । जति शब्दको विकास बढ्दै जान्छ उति नै धारणामा स्पष्ट हुन्छ ।
विद्यालय शिक्षामा शब्दभण्डार शिक्षणसँग वाक्य गठन सीपको विकास गर्न आवश्यक हुन्छ । कुनै पनि शब्दको प्रयोग विना वाक्य शब्दले वास्तविक वा साँचो अर्थ प्रदान गर्दैन । त्यसैगरी व्यक्तिले जब शब्दलाई वाक्यात्मक रूपमा प्रयोगमा ल्याउँछन्, त्यसपछि मात्र व्यक्तिको भाषिक सम्पदा बन्न पुग्छ । तल्लो तहमा भाषा शिक्षण गर्दा सरल र सानो वाक्य गठनको शिक्षण गरिन्छ । तर माथिल्लो तहमा वाक्यका जटिल र संयुक्त संरचनाहरूको गठन प्रक्रियासम्बन्धी सीप विकासमा जोड दिइन्छ ।
शब्द शिक्षणको प्रयोजन
भाषामा बोध र अभिव्यक्तिका लागि आधारभूत शब्दहरूको आवश्यकता पर्दछ । शब्दहरूको सामान्य र विशेष अर्थ हुने गर्दछ । यहाँ शब्दले सामान्य भन्नाले कोशीय र सन्दर्भपरक भन्नाले विशेष अर्थ प्रदान गर्दछ । कोशीय अर्थलाई अभिधा र सन्दर्भपरक अर्थ भने फरक फरक हुन सक्छन् । शब्द प्रयोगको फरक प्रसङ्ग र सन्दर्भमा शब्दले फरक अर्थ वा आशय प्रकट गर्दछ । विभिन्न परिस्थिति र समयअनुसार भाषिक कारोबार गर्ने क्रममा नयाँनयाँ शब्द, उखानटुक्का र पदावलीहरू प्रयोगमा आउँछन् । कतिपय शब्दहरू सम्प्रेषणको क्रममा दोहोरिने पनि हुन्छन् । भाषा शिक्षण गर्दा तल्लो तहमा थोरै शब्द पनि पुग्दछ तर माथिल्लो तहमा शब्दभण्डारको बढी आवश्यक पर्दछ । यसका साथै उखानटुक्का र पदावलीहरूको ज्ञान र प्रयोग सीप वृद्धि गरिन जरूरी हुन्छ ।
शब्दार्थ शिक्षणक्रम र क्रियाकलाप
- पूर्वपठन
भाषा शिक्षणमा शब्दभण्डार विकास र वृद्धिको उद्देश्य रहेको हुन्छ । भाषाका हरेक पाठ वा विधा शिक्षणमा शब्दभण्डारमा केही नयाँ शब्दहरू समाविष्ट हुन्छन् । किनभने भाषा शिक्षणमा सम्प्रेषण सीप र क्षमता अभिवृद्धिका लागि शब्दहरूको ज्ञान पर्याप्त हुनु आवश्यक हुन्छ । त्यसैले भाषा विषयको हरेक पाठहरूमा शब्दको अर्थबोध, प्रयोग र अभ्यासलाई अनिवार्य गरिएको पाइन्छ । उदाहरणका लागि कथा, कविता, निबन्ध, नाटकमा शब्दभण्डार शिक्षणलाई पहिलो क्रममा सिकाउनु पर्दछ । यसलाई शिक्षाको तह, शब्दको प्रकार र विद्यार्थीको आवश्यकताको आधारमा फरक फरक विधि वा तरिकाबाट शिक्षण गर्न सकिन्छ । शब्द शिक्षणका विभिन्न तौरतरिकाहरूलाई तल चर्चा गरिएको छः
- वस्तु, चित्र वा प्रतिमूर्तिबाट शब्दको अर्थ स्पस्ट पार्ने
विद्यार्थीलाई कतिपय शब्दहरू प्रत्यक्ष वस्तु वा चित्र देखाएर वस्तु र शब्दको ठोस धारणा बसाउनु पर्दछ । यसले बालबालिकामा शब्द र वस्तुबीच अन्तरसम्बन्ध कायम गरी अर्थबोध गर्न सहज हुन्छ । त्यसैले तल्ला तहका पाठ्यपुस्तकमा चित्र र शब्दहरू सँगसँगै प्रस्तुत गरेर पाठ्यसामग्रीहरू तयार गरिएको पाइन्छ । जस्तो बिरालोको धारणा बसाउन बिरालो नै देखाउने वा चित्र देखाएर बिरालो धारणा र शब्दको अर्थबीच सम्बन्ध स्थापना गर्न सकिन्छ ।
- पर्यायवाची शब्द दिने
शब्दको समान अर्थ दिने शब्द नै भनेर पनि शब्द शिक्षण गर्न सकिन्छ । यसरी उस्तै अर्थ दिने एक भन्दा बढी शब्दहरू हुन सक्छन्, जुन पर्यायवाची शब्द हुन् । यसरी एकै शब्दको उस्तै अर्थ दिएर शब्दभण्डारको वृद्धि गरिन्छ । जस्तोः आमालाई मा, ममी, मुमा आदि शब्द प्रयोग गर्न सकिन्छ ।
- शब्दको अर्थीकरण र परिभाषीकरण
शब्द शिक्षणमा अर्थीकरण र परिभाषीकीरणलाई प्रयोग र अभ्यास गरिएको पाइन्छ । यहाँ अर्थीकरण भनेको पर्यावाचीकरण जस्तो एक शब्दे समान शब्दको प्रयोग नभई एक भन्दा बढी शब्दको माध्यमबाट अर्थबोध गर्ने प्रक्रिया हो । जस्तो चञ्चल भन्नाले एक ठाउँमा अडिन नसक्ने अर्थ दिन्छ । कतिपय प्राविधिक र विशेष शब्दहरूलाई शब्दकोशमा प्रविष्ट गरिएको व्युत्पत्तिमूलक आधारमा मात्र अर्थबोध गराउन सकिँदैन । यस्ता शब्दहरूलाई शिक्षण गर्न विशेष व्याख्या वा वर्णन आवश्यक पर्दछ, यसलाई शब्दको परिभाषीकरण कार्य भनिन्छ ।जस्तोः मूल्याङ्कन शब्दको कोशीय अर्थ मूल्य र अङकन हुन्छ तर यसको शैक्षणिक अर्थ पाठ्यक्रममा निर्धारित उद्देश्य हासिल भए नभएको परीक्षण गरी उत्तीर्ण वा अनुत्तीर्ण के भएको हो नतिजा समेत दिने कार्य हो भन्ने जनाउँछ ।
- विपरीतार्थ शब्द लिने
कतिपय शब्दहरूलाई त्यसको विपरीत शब्द दिएर अर्थ स्पष्ट गर्न सकिने खालका हुन्छन् । त्यस्ता केही शब्दको शिक्षणमा अन्य विधि भन्दा विपरीतार्थक शब्दको उपयोग गरेर शब्द शिक्षण गर्न सकिन्छ । जस्तोः सानो ठूलो, अग्लो होचो, कालो सेतो आदि ।
- व्युत्पत्तिकरण र अनेकार्थीकरण
शब्द शिक्षणमा शब्द विशेष केही शब्द शिक्षणमा व्युत्पत्तिकरण विधि अपनाउने गरिन्छ । शब्द कसरी निर्माण भएको हो, त्यसको मूल रूप पहिचान गरेर अर्थ लगाउने प्रचलन छ । जस्तोः रात र यौलीबाट रत्यौली शब्द बन्छ । त्यसैले माखाले जस्तो चुस्ने मख्खीचुस आदि । केही शब्दहरूको शिक्षणमा भने अनेकार्थीकरण वा एक भन्दा धेरै अर्थको उल्लेख वा चर्चा गरेर शिक्षण गर्न सकिन्छ । जस्तोः साँचो शब्दले कुनै प्रसङगमा ताल्चा खोल्ने साँचो र कुनै प्रसङ्गमा साँचो कुरालाई बुझाउँछ ।
- आशयको व्याख्या गर्ने
सबै शब्दको प्रसङगत अर्थ मात्र वास्तविक हुन जान्छ । केही शब्दहरूलाई आशय नै उल्लेख गरेर वर्णन गरी स्पष्ट पार्न आवश्यक हुन्छ । जस्तोः पीडा शब्दलाई प्रसवपीडा, विछोडको पीडा, गरिबीको पीडा आदि ।
- अभिनय र हाउभाउ प्रदर्शन गर्ने,
शब्द शिक्षणका लागि अभिनय र हाउभाउ प्रदर्शनसहित प्रयोग कार्य जीवन्त सिकाइसँग सम्बन्धित छ । यसले शब्दलाई मानिसको क्रियाकलापसँगै सिक्न र प्रयोग गर्ने सीपको विकास गर्न मद्दत गर्दछ । जस्तोः ऐया ! आबुइ ! आहा ! कठैबरा ! आदि ।
- वाक्यमा प्रयोग गर्ने
शब्द शिक्षणका लागि वाक्यमा प्रयोग अनिवार्य मानिन्छ । जबसम्म शब्दलाई वाक्यगठनमा प्रयोग गर्ने क्षमताको विकास हुँदैन तबसम्म उक्त शब्दको सही सिकाइ भयो भन्न मिल्दैन । त्यसैले शब्दको अर्थबोध र प्रयोग सामर्थ्य हासिल गर्न वाक्यगठनको अभ्यास जरूरी छ ।
- मूल्याङ्कन
भाषा शिक्षणमा शब्द शिक्षण होस् या वााक्य गठनलगायत अन्य सीपहरूको शिक्षण, हरेक सीप शिक्षणमा निरन्तरको अभ्यास र प्रयोगको जरूरत पर्दछ । त्यसैले शब्द र वाक्यगठन शिक्षण गर्दा निरन्तर मूल्याङ्कन गरिनुपर्दछ । यसले शब्द र वाक्यगठन शिक्षणलाई नतिजामुखी बनाई भाषाका सीप र सामर्थ्य विकासलाई सार्थक बनाउँछ ।