तामाङभाषाः अक्षर शिक्षण
डा. लोक बहादुर लोप्चन
तामाङ वर्णमाला परिचय
बालबालिकाको अक्षर चिनारी तामाङ वर्ण वा अक्षर चिनारीसँग आरम्भ हुन्छ । त्यसैले तामाङ वर्ण वा अक्षरसँग शिक्षक पहिले नै परिचित र अभ्यास हुन जरूरी छ । तामाङ भाषाहरू वर्ण वा अक्षरहरू लेख्य चिन्हमार्फत् व्यक्त हुन्छन् । त्यसलाई लिपिको माध्यमबाट प्रस्तुत गरिन्छ । तर तामाङ भाषाको लेखनमा एकल नभई बहुलिपिको प्रयोग भएको पाइन्छ । शास्त्रीय तामाङ दस्तावेजहरू सम्भोटा लिपिमा लेखिएका छन् । त्यसैगरी अधिकांश तामाङ साहित्यका विधागत सिर्जनाहरू देवनागरी लिपिमा लेखिएका छन् । पछिल्लो समयमा गोरखापत्र दैनिकमा तामाङभाषा पृष्ठ तामयीग लिपिमा लेखन र प्रकाशन हुँदै आएको छ । नेपालबाहिर सिक्किम कक्षा १ देखि १२ सम्म तामयीग लिपि लिखित तामाङ भाषा विषयको पठनपाठन हुँदै आएको छ । बागमती प्रदेशका १५ जति पालिकाका विद्यालयहरूमा कक्षा १-३ सम्म तामयीग लिपिमा लिखित तामाङभाषा विषयको पठनपाठन भइरहेको छ । तर सम्भोटा लिपिमा लिखित तामाङ भाषा विषय काठमाडौँको एउटा विद्यालयमा कक्षा १-८ सम्म पठनपाठन भइरहेको पाइन्छ । यस सन्दर्भमा बागमती प्रदेश सरकारबाट प्रदेश सरकारी कामकाजको भाषाका रूपमा तामाङभाषा कार्यान्वयन गर्दा तामयीग लिपिलाई आधिकारिक लिपिका रूपमा मान्यता प्रदान गरिएको हुँदा तामयीग लिपिका साथै प्रचलित देवनागरी लिपिसहित बहुलिपिको प्रयोग गरिएको छ । यहाँ तामाङभाषाका वर्ण वा अक्षरलाई तामयीग लिपिको माध्यमबाट प्रस्तुत गरिएको छः
तामाङ भाषाका स्वर वर्णहरू (५ वटा)
अ इ उ ए ओ
ཨ ཨི ཨུ ཨེ ཨོ
तामाङ भाषाका व्यञ्जन वर्णहरू (२४ वटा)
क ख ग ङ
ཀ ཁ ག ང
च छ ज
ཙ ཚ ཛ
ट ठ ड
ཊ ཋ ཌ
त थ द
ཏ ཐ ད
प फ ब म
པ ཕ བ མ
य र ल व
ཡ ར ལ ཝ
स ह
ས ཧ
उल्लिखित तामाङभाषाका वर्ण र तामयीग लिपिबाट लेखनको आधारमा तामाङ भाषामा स्वर वर्ण ५ वटा र व्यञ्जन वर्ण २४ वटा देखिन्छ (तामाङ, थोकर र तामाङ, २०७५, पृ.३५) । तर देवनागरी लिपिको आधारमा भने यसभन्दा बढी वर्ण वा अक्षर प्रयोग गरिएको पाइन्छ । यसमा स्वर १० र व्यञ्जन वर्ण ३१ वटा पहिचान गरिएको पाइन्छ (योञ्जन तामाङ, २०७४,पृ. ९६) । जसलाई तल प्रस्तुत गरिएको छः
स्वर वर्णहरू (१०)
आ इ उ ए ओ
आः इः उः एः ओः
व्यञ्जन वर्णहरू (३० वटा)
क ख ग ङ ङ्ह
च छ ज
ट ठ ड
त थ द न न्ह
प फ ब म म्ह
य र रह ल व
स स्ह ह
तामाङ भाषामा तानको व्यवस्था
तामाङ भाषाको अर्थपूर्ण एकाइ बोली वा आवाज (काइ) हो । यही काइबाट नै तामाङ भाषाले ठोस रूप ग्रहण गर्दछ । तामाङ भाषाको एकै शब्दको फरक फरक उच्चारण हुन्छन् र अर्थ पनि फरक फरक लाग्दछ । यदि एउटै शब्दको उच्चारण भिन्नभिन्न हुने र अर्थभेदक भएमा तानीय भाषा मानिन्छ (तामाङ, २०८१,पृ.५८) । त्यसैले तामाङ भाषा तानीय भाषा (Tonal Language) हो । तामाङभाषामा एकै शब्द विभिन्न भाषिक क्षेत्रमा क्षेत्रीय भाषिक भेदका कारण फरक उच्चारण हुन्छ तर अर्थमा परिवर्तन आउँदैन । ती उच्चारण फरक भएका शब्द समान रहेका तामाङ शब्दहरूलाई लेखनमा भने अलग्गै लेख्न सकिन्छ । तामाङ भाषाको लेखनमा विभिन्न लिपिहरूजस्तो सम्भोटा र देवनागरी लिपिको समेत प्रयोग गरिँदै आएको भए तापनि तामयीग लिपिमा सहजताका साथ लेख्ने पहल र प्रयास हुँदै आएको छ । यसले करिब ३ दशकको अभ्यासपछि भाषा आयोगको सिफारिसबमोजिम सरकारी कामकाजको प्रयोजनमा कार्यान्वयन भइआएको छ । तामाङभाषाको मानक लेखन प्रणाली (तामाङ,२०८१,पृ. ५९) अनुसार तामाङभाषाको मौलिक लेखनका देहायअनुसार स्वरूप अग्रसारित छः
मौलिक तामाङ रूप चतुर्थ महाप्राणको प्रभाव शब्दार्थ
ग्याम ༼གྱམ་༽ घ्याम बाटो
जाङ ༼ཛང་་༽ झाङ गुँड
डा ༼ཌ་༽ ढा नाम्लो
मेन्दो ༼མྷེན་དོ་༽ म्हेन्दो फूल
युल ༼གྱལ་༽ ह्युल जिल्ला
ब्रीबा ༼བྲི་བ་་༽ भ्रीबा लेख्नु
ब्लोबा ༼བློ་བ་་༽ भ्लोबा घोच्नु
तामाङ भाषामा अल्पप्राण वर्णहरू ग ज ड द ब हुन्छ भने तामाङभाषामा महाप्राण वर्ण घ झ ढ ध भ हुँदैन । तर नेपाली वा अन्य भारोपेली भाषाको प्रभाव कारण महाप्राणीय वर्णको प्रयोग भई एउटा लेख्नुपर्ने ठाउँमा अर्को लेखिन पुग्छ । जस्तो तामाङमा गाङ नै शुद्ध रूप हो । कतिपय घाङ भन्छन् । त्यसैगरी तामाङ थरमा ब्लोन नै सही रूप हो तर अन्य भाषाबाट प्रभावित उच्चारण र लेखन भ्लोन भई प्रयोगमा गएको देखिन्छ ।
तामाङ भाषाको तानीय अध्येताहरूले चार प्रकारका तानहरू पहिचान गरेका छन् । जसमा डोरिन टेलर, मारिया हारी र मार्टिन मजाउदिन रहेका छन् । उनीहरूका अनुसार तामाङभाषाको तानीय स्वरूपलाई तल प्रस्तुत गरिएको छः
उच्च तान (High tone) मे (me) आगो (fire)
उच्च तान (High tone) मे: (me) पुच्छर (tail)
मध्य तान (Mid tone) म्हे (meh:) गोरू (ox)
निम्न तान (Low tone) म्हे (meh) कोठी (mole)
तामाङ सग्ला अक्षर चिनारी र लेखन
तामाङभाषामा उल्लिखित लिपि चिन्हहरूलाई नै तामाङ वर्ण वा अक्षरका परिचित छन् । हुनत यिनीहरू ध्वनिलाई प्रतिनिधित्व गर्ने लेख्यचिन्ह हुन् जुन लिपिका रूपमा स्थापित छन् । यहाँ तामाङभाषाका ध्वनिहरूले लिपि वा सङकेतले ठोस स्वरूप प्रदान गरेको छ । त्यसलाई देवनागरी र तामयीग लिपिमा लेखन गरी स्वर वर्ण वा अक्षर ५ वटा र व्यञ्जन वर्ण वा अक्षर २४ वटा लाई जे उच्चारण हुन्छ, त्यसरी नै लेख्न सकिन्छ । त्यसैले तामाङभाषामा नेपाली भाषामा जस्तो श,ष र स को वर्णगत भेद रहेको पाइँदैन । यसमा संयुक्त अक्षरहरू क्ष, त्र र ज्ञ आदि पनि वर्णका रूपमा लिइएको छैन । यी संयुक्त अक्षर निर्माणका विधि छु्ट्टै छन् । त्यसैगरी तामाङ भाषामा व र ओ को पनि भिन्नता रहेको छैन । तामाङभाषामा घाँटी भन्न ‘ओल्कोङ’ र रातो भन्न ‘वाला’ भनिन्छ । त्यसैले यिनीहरूको उच्चारण जे छ लेखन पनि त्यही हुने गरेको छ । यसको शिक्षणसिकाइको क्रमलाई तल प्रस्तुत गरिएको छः
- तामयीग लिपिमा तामाङ वर्ण शिक्षणसिकाइको तयारी र रेखाहरूको प्रयोगः तामाङभाषा र तामयीग लिपिमा विभिन्न रेखाहरू प्रयोगमा आउँछन् । वर्ण चिनारीसँगै बालबालिकाहरूलाई रेखा कोर्न र अभ्यासमा संलग्न गराउनु पर्दछ । यसका लागि शिक्षकले कार्डबोर्डबाट टुक्रे आकार वा रेखा आदि बनाएर विद्यार्थीलाई उक्त टुक्राहरूबाट अक्षर वा वर्ण बनाउने अभ्यास गर्नुपर्दछ भने उस्तै आकार, रेखा र धर्साहरूको लेखन अभ्यास गराउन कार्यकलाप गर्नुपर्दछ । जस्तोः
अ)रेखाहरू कोर्ने अभ्यास
——— (तेर्सो रेखा), | | | (ठाडो रेखा), / / / (ढल्केको रेखा – दायाँतिर), \ \ \ (ढल्केको रेखा – बायाँतिर)
इ)घुराउरो रेखाहरू लेख्ने अभ्यास जस्तोः
︶︵︶︵ (घुमाउरो – माथि/तल, ଓ ଓ ଓ (साना गोल घेरा), ࿓ ࿓ ࿓ (बाह्रै घुमेको आकार) प्रारम्भिक तामयीग शैलीको अभ्यास) ।
- आधारभूत आकारहरू (Basic Shapes) जस्तोः
◯ (गोलो), ▭ (आयत), ▢ (वर्ग), ∆ (त्रिकोण)
- सरलदेखि जटिल क्रममा वर्णमालाका अक्षरहरूको सिकाइको क्रम निर्धाणः यसमा अ देखि ओ सम्म र क देखि ह सम्म नै जस्ताको तस्तै सिकाउनुपर्छ भन्ने नियम छैन । ज्ञातबाट अज्ञाततिरको क्रम निर्धारण गरेर कुनै एक वर्ण वा अक्षरबाट अन्य वर्णलाई समेत सहयोगी हुने तामाङ वर्णबाट चिनारी र लेखनको प्रारम्भ गर्दा बेस हुन्छ । जस्तोः तामाङभाषामा माथिको रेखात्मक आधारसहित सरलदेखि जटिलताको क्रम निर्धारण गर्दा पहिलो व्यञ्जन वर्ण ཀ बाट सुरू गर्नु उपयुक्त हुने देखिन्छः
ཀ
- आधार अक्षर पहिचान गरी अक्षर चिनारी र लेखनको अभ्यास र पुनरावृत्तिः बालबालिकाहरूलाई तामाङभाषाको आधार अक्षर पहिचान गरेर तामयीग लिपिमा अक्षर चिनारी र लेखनको अभ्यास गरेर छिटो र सरल रूपमा सिकाउन सकिन्छ । यसका लाग जस्तोः ཀ ང ཙ ཏ ཐ པ ( क, ङ, च, त, थ र प) जस्ता अक्षरहरूलाई अक्षर चिनारीको आधार अक्षर बनाउन सकिन्छ । उदाहरणको लागि ཀ सँग ཁ ག, ང सँग ཌ ད, ཙ सँग ཚ, ཏ सँग ཊ, ཐ सँग ཋ र པ सँग བ ཝ ཕ र ཨ सँग ས अन्तरसम्बन्धि देखिन्छन् । यी अक्षरहरूलाई एक अर्काको परिपूरक बनाएर छिटो र परिपूरक रूपमा तामाङभाषाका अक्षर वा वर्ण चिनारी र लेखन सीपको विकास गर्न सकिन्छ ।
- तामाङभाषाका अक्षर चिनारी र र लेखनका लागि शिक्षकलाई मार्गनिर्देश
शिक्षकले विद्यार्थीको अनुभव र ठोस वस्तुसँग तालमेल हुने गरी आफ्नो अनुभव र पाठ्यपुस्तकबाट सग्ला अक्षरहरू छनोट र सङ्कलन गर्नुपर्दछ । सकभर यस्ता अक्षरहरूलाई चित्र र शब्दको धारणासँग मिलाउन गर्दै त्यसमा प्रयुक्त सग्ला अक्षर शिक्षणमा जोड दिनुपर्दछ । जस्तोः कावा, गाल्दा, डाम्फु, तारङा, नाका ༼ཀཝ་ གལ་ད་ ཌམ་ཕུ་ ཏར་ང་ ནཀ་༽ आदि । टुक्रे अक्षरबाट शिक्षणसिकाइको लागि अक्षरपत्तीमा अक्षरको टुक्राहरू बनाई विद्यार्थीलाई जोडेर अक्षर बनाउनु अभ्यास उपयोगी हुन्छ । त्यसै टुक्रे अक्षरका विभिन्न भागहरू बालबालिकालाई दिएर खेल्न र सिङ्गो अक्षर बनाउन उत्प्रेरित गर्नुपर्दछ । कहिले टुक्रे अक्षरलाई छ्यामिस सग्ला अक्षर बनाउने र कहिले अक्षरको उच्चारण गर्न लगाउँदै अक्षर पत्तीको खोजी गर्न लगाउन सकिन्छ । त्यसैगरी अक्षरपत्ती देखाउँदै त्यसमा लेखेको अक्षर पहिला समूहमा र पछि व्यक्तिगत रूपमा विद्यार्थीलाई भन्न लगाउने क्रियाकलापहरू प्रभावकारी हुन्छन् ।
- सल्ला अक्षर चिन्नका लागि उपयोगी कार्यकलापहरूः आरम्भिक अक्षरहरू जस्तो ཀ ང ཙ ཏ ཐ बाट अन्य कुन कुन अक्षर बन्छन् । ह्वाइटबोर्डमा अक्षरहरूको सूची प्रस्तुत गरी भन्न लगाउने, उच्चारण गर्ने र लेख्ने अभ्यास गराउनु पर्दछ । त्यसैगरी सग्ला अक्षर भएका शब्दहरूको आदि, मध्य र अन्त्यमा भएका अक्षरलाई गोलो चिनो लगाउने अभ्यास पनि उपयुक्त हुन्छ । त्यसैगरी थिग (डिको) दिएर लेख्नको लागि बानी बसाल्दै जानुपर्दछ । साथै शिक्षकले विन्दु वा थोप्लोद्वारा अक्षरहरूको आकृति जोड्न लगाउने र पूर्ण अक्षर बनाउने कार्यकलाप प्रभावकारी देखिन्छन् । त्यस्तै अक्षर लेखाउनु भन्दा पहिले अक्षरहरूलाई टुक्रा टुक्रामा अलग्गै प्रस्तुत गरी पूर्ण बनाउन लगाउनु पर्दछ । जस्तोः
| | ——— ཀ
- हस्तलेखन र श्रुतिलेखन र अभ्यासः अक्षर लेखनमा बालबालिकालाई सुरूमा हस्तलेखन कार्यलाई धेरै पटक अभ्यास गराउनु पर्दछ । खासगरी अक्षर लेखनमा हस्तलेखन नै बढी प्रयोगमा आएको देखिन्छ । त्यसैगरी हस्तलेखनको अभ्यास भई अक्षरको धारणा विद्यार्थीमा बसिसकेपछि श्रुतिलेखनतर्फ प्रवृत्त गराउनु पर्दछ । त्यस्तै वास्तविक वस्तु र चित्र देखाएर सग्ला अक्षर लेख्ने अभ्यास पनि उपयोगी हुन्छ ।
- अक्षर लेखनमा ध्यान दिनुपर्ने कुराहरू
अक्षर लेखन अभ्यास गर्दा बालबालिकाको हातको चात, आँखा र हातको सन्तुलन कस्तो छ ? भनेर शिक्षकले नियमित हेर्दै सहजीकरण गर्नुपर्दछ । अक्षर लेख्दा डिको (थिग) दिँदा र नदिँदाको फरक देखाउने र बताउने गर्नुपर्दछ । अक्षर लेखनमा क्षमता के कति विकास भएको छ भन्ने पत्ता लगाउन पाठ्यपुस्तकबाट शब्द वा वाक्य सार्न लगाउने, सग्ला र संयुक्त अक्षर शिक्षकले भनेर लेख्न लगाउने कार्यहरू गराउनु पर्दछ ।
तामयीग लिपिमा तामाङभाषाको लेखन प्रणाली
तामाङ भाषाको स्वर वर्ण र व्यञ्जन वर्णहरूको लेखन
तामाङभाषाको स्वर वर्ण हेर्दा नेपाली र संस्कृत भाषामा पाइने अ स्वर पाइँदैन । त्यसैले व्यञ्जन वर्णमा जस्तो क ख रा को उच्चारण का खा रा हुन जान्छ । तर माथि प्रस्तुत गर्दा क ख रा नै प्रस्तुत गरिएको छ । बालबालिकाहरूले नेपाली भाषामा देवनागरी लिपिमा कखरा सिक्ने भएकाले लेखन प्रयोजनका लागि यहाँ क ख रा प्रस्तुत गरिएको हो । जबकि तामाङभाषाको उच्चारण आकारान्त हुने हो किनभने तामाङभाषा अकारान्तमूलक भाषा होइन । तामाङभाषाको स्वर वर्णलाई तल प्रस्तुत गरिएको छः
तालिका- १३
तामयीग स्वरहरू
| तामयीग लिपि स्वरहरू | तामाङ उच्चारण/हिज्जे र देवनागरी लिपि | तामाङ उच्चारण र रोमन लिपि |
| ཨ | आ | A |
| ཨི | इ | I |
| ཨུ | उ | U |
| ཨི | ए | E |
| ཨོ | ओ | O |
तामाङभाषामा व्यञ्जन वर्ण र स्वर वर्णको संयुक्त लेखन
तामाङभाषाको स्वर वर्ण र व्यञ्जन वर्णको संयुक्त लेखनमा नेपाली र संस्कृतमा भाषामा जस्तो ह्श्व र दीर्घ (इ, उ) कार हुँदैन । यसको लेखनका तलको रूपमा अपनाउनु पर्दछ (तामाङ, २०८१,पृ.४२)
तालिका-१४
तामाङभाषाको संयुक्त लेखन
| व्यन्जन र स्वर | संयुक्त रूप | तामयीग | रोमन |
| का+ा | का | ཀ | Ka |
| का+ी | की | ཀི | Ki |
| का+ु | कु | ཀུ | Ku |
| का+ े | के | ཀེ | Ke |
| का+ो | को | ཀོ | Ko |
तामाङभाषाको संयुक्त अक्षरलाई तामयीग लिपिमा लेख्ने विधिहरू
- तामाङभाषाका ङ, ट, ठ, द र द बाहेक अन्य वर्णलाई य, ल र व वर्णसँग आधा अक्षरको रूपमा जोडेर देहायअनुसार लेखिन्छः
ग्याम क्लाङ ह्वाबा
གྱམ་ ཀླང་ ཧྭ་བ་
- तामाङभाषामा अक्षरमा थोप्लो वा थीगले उच्चारणलाई छुट्याउँछ, त्यसैले हलन्त प्रयोग हुँदैन । त्यसैले गरी तामाङभाषामा य वर्णसँग जोडेर अन्य अक्षर लेख्ने तरिका यसप्रकार छः
ताम काङ सेम नङगु
ཏམ་ ཀང་ སེམ་ ནང་གུ་
- दुई अक्षर (Syllable) को व्यञ्जन वर्ण स्वतः आधार अक्षर हुन जान्छ । त्यसलाई यसरी लेख्न सकिन्छः
नाम्सा सोल्बा क्यामसाङ ओन्मा
ནམ་ས་ སོལ་བ་ ཀྱམ་སང་ ཨོན་མ་
- देवनागरी लिपिमा लेखिएको तारङा, क्रा र सेर्खालाई तामयीगमा क्रमशः ཏར་ང་ ཀྲ་ སེར་ཁ་ लेख्नुपर्दछ । तामाङ भाषामा एकाक्षरी छुट्याउन र उच्चारण गर्न कठिन हुने भएकाले यस्ता शब्दलाई यसरी सेरखालाई སེརྑ་ तारङालाई ཏརྔ लेख्नु हुँदैन । त्यसैगरी संयुक्त व्यञ्जन वर्ण जस्तो क्रा लाई ཀྲ नै लेख्नुपर्दछ ।
मूल्याङ्कन
तामाङभाषाको वर्ण वा अक्षर शिक्षण गर्दा नेपाली भाषाको वर्ण वा अक्षरको प्रभाव पर्ने देखिन्छ । त्यसैले देवनागरी लिपिको सहायताले लेख्न सकिने वर्णहरूको सहसम्बन्ध कायम गरेर तामयीग लिपिमा लेख्ने गरी सहजीकरण गर्नुपर्दछ । यसका लाागि शिक्षकले विद्यार्थीको पूर्व भाषिक ज्ञान र सीपको आधारमा वर्ण चिनारी र लेखनलाई जोड दिनुपर्दछ । तर यसमा सुरूको वर्णबाट नै चिनारीको प्रारम्भ नगरी जुन वर्ण वा लेख्य चिन्हबाट अन्य धेरै वर्णको निर्माण गर्न सकिन्छ त्यही वर्णबाट तामयीग लिपिमा तामाङभाषाको लेखन सुरू गर्दा व्यावहारिक र सहज हुने देखिन्छ ।