तामाङभाषाः उच्चारण शिक्षण
उच्चारणको शिक्षणको आवश्यकता
भाषाको महत्वपू्र्ण पक्ष शुद्ध र स्पष्ट उच्चारण हो । शुद्ध उच्चारणले भाषालाई ग्रहण गर्न र बोध गर्न सहज हुन्छ । जबसम्म शुद्ध र स्पष्ट उच्चारण हुँदैन, तबसम्म भाषाको बोलाइ सीपमा परिपक्वता प्राप्त हुँदैन । त्यसैले भाषामा बोलाइ सीप विकासको आधार स्पष्ट र शुद्ध उच्चारण हो । शुद्ध उच्चारणले व्यक्तिको शिक्षाको स्तरलाई समेत इङगित गर्छ । शुद्ध उच्चारणबाट भाषाको बोल्ने, सस्वर पढ्ने र शुद्धसँग लेख्ने बलियो आधार प्रदान गर्छ । यसबाट भाषिक गल्ती र त्रुटि हटाई औपचारिक भाषिक रूप सिक्न र प्रयोग गर्न मद्दत गर्दछ ।
उच्चारणलाई विभिन पक्षहरूले प्रभाव पार्ने गर्दछ । यसमा व्यक्तिको भाषा सिकाइको स्तर, अन्य भाषासँगको संगत, भाषिक भेदहरूको प्रभाव आदिले प्रभाव पार्दछ । तामाङभाषाको क्षेत्रीय भेदअनुसार पनि उच्चारणमा भिन्नता आउँछ । उदाहरणको लागि आउनु भन्ने क्रियालाई तामाङ भाषामा कतिपयले हाजी भन्छ्न् कतिपयले खाजी भन्छन् । यो भाषाको भौगोलिक भेदको कारण भएको हो । त्यसैगरी व्यक्तिको शारीरिक र मनौवैज्ञानिक कारणले पनि उच्चारणमा असर पर्दछ । यदि व्यक्ति लजाएर र हिच्किचाएर बोलेमा भाषामा अस्पष्टता आउने गर्दछ । त्यसैगरी व्यक्ति लाटो छ र व्यक्तिमा दाँतलगायत स्वरसम्बन्धी समस्या छ भने उसले गरेको उच्चारण स्पष्ट हुँदैन । त्यसैगरी उच्चारणमा आउने त्रुटिहरूलाई पहिचान गरी शुद्धता ल्याउन पहिलो कार्य त्रुटि क्षेत्र पहिचान गरेर निरन्तर उच्चारणको अभ्यास गराउनु पर्छ । खासगरी बालबालिकाले पहिलो भाषा सिकाइ र उच्चारणमा गल्ती गर्दैनन् तर दोस्रो भाषा सिकाइमा त्रुटिहरू गर्छन् । त्यसैले बालबालिकालाई विषयका रूपमा भाषा विषय सिकाउँदा दोस्रो भाषा शिक्षणका सिद्धान्त र मान्यताअनुसार सिकाउनु पर्दछ ।
उच्चारण शिक्षणक्रम र कार्यकलापहरू
- पूर्वपठन
बालबालिकालाई उच्चारण शिक्षणको अभ्यास गर्नु अघि उनीहरूको भाषिक पृष्ठभूमिको अध्ययन र पहिचान गर्नुपर्दछ । कुन विद्यार्थीको तामााङभाषाको स्तर कस्तो छ भनेर अभिलेख कायम गर्नुपर्दछ । कतिपय बालबालिका एकल तामाङभाषाी हुन सक्छन्, कतिपय तामाङ र नेपाली दुवैभाषी हुन सक्छन् भने कतिपय तामाङभाषा नजान्ने तर नेपाली भाषा मात्र बोल्न सक्ने हुन सक्तछन् । उनीहरूलाई तामाङभाषा शिक्षण गर्दा फरक फरक तौरतरिकाले शिक्षण गर्न आवश्यक छ ।
- समस्या वर्णन र शब्दहरूको अभ्यास
शिक्षकले उच्चाण शिक्षणलाई प्रभावकारी र नतिजामूलक बनाउनको लागि उच्चारणका दृष्टिले आवश्यक शब्दजोडी (शब्दयुग्म) हरूको खोजेर सङकलन गर्नुपर्दछ । यसमा किताबमा भएका शब्द जोडीहरूलाई पनि उपयोग गर्नु राम्रो हुन्छ । तर शब्दयुग्मलाई शब्दपत्ती र वाक्यपत्ती प्रयोग गरेर उच्चारण गर्न लगाउने अभ्यासहरू निरन्तर गरिरहनु पर्दछ । अझ उच्चारणका लागि शब्दको आदि, मध्य र बीचमा लक्षित वर्ण भएका शब्दहरूको छनोट गरी प्रयोग र अभ्यास गर्नु उत्तम ठानिन्छ । यसका लागि समस्यामूलक वर्ण भएको शब्दको खोजी गरी पटक पटक उच्चारण गर्ने अभ्यास गर्दा मुखको आकार र उच्चारण स्थानको सङ्केत पनि गर्नुपर्दछ । शिक्षण सामग्रीमा वर्णपत्ती, शब्दपत्ती, वाक्यपत्ती प्रयोग गरेर शुद्धसँग पढ्ने अभ्यासलाई दोहोर्याएर गर्नुपर्दछ । उच्चारणमा त्रुटि गर्ने वर्णलाई व्यक्तिगत उच्चारण गर्न लगाई वाक्यमा प्रयोग गरेर पनि भन्न लगाउनुपर्छ । यसका साथै यस्ता वर्ण भएका वाक्यहरू पाठ्यपुस्तकमा पनि खोजेर पठनको अभ्यास गराउनु पर्छ । यसका अलावा समस्यामूलक वर्णलाई उच्चारण गर्न लगाउने र तिनको भिन्नता पनि बताउन लगाउने गर्नु आवश्यक छ । जस्तोः ཙི་བ་ ནི་བ་ चिबा निबा, ཀྲ་བ་ ཧྭ་བ་ क्राबा ह्वाबा, སོར་བ་ ཀོར་བ་ सोर्बा, कोर्बा आदि ।
- भाषिकागत र अन्य भाषाको कारण उच्चारण कठिनाइको पहिचान र निराकरणात्मक अभ्यास
बालबालिकाको उच्चारणमा अन्य र तामाङभाषाको क्षेत्रीय भेदका कारण त्रुटि आउन सक्छ । यसका लागि शिक्षकले बालबालिकाहरूको भाषिक पृष्ठभूमिअनुसार हुन सक्ने तामाङभाषाको त्रुटि पत्ता लगाई लक्षित वर्णलाई व्यक्तिगत वा समूह बनाई उच्चारण गर्ने अभ्यासबाट सुधार गर्नुपर्दछ । खासगरी तामाङ बालबालिकाहरूले अल्पप्राण ग, ज, द, ब को सट्टा घ, झ, ढ, ध, भ जस्ता महाप्राणीय वर्णहरूको प्रयोग गर्न सक्छन् । त्यसरी नै कतिपय शब्दहरू तामाङभाषामा नभएकाले नेपाली भाषाको शब्द प्रयोगमा ल्याउन सक्छन् । यसले भाषिक अपसरण र कोड स्वीचिङतर्फ डोर्याउँछ । त्यसैले शिक्षकले तामाङभाषाको त्रुटि क्षेत्र पहिचान गरेर त्यसलाई लक्षित अभ्यास गराउनमा जोड दिनुपर्दछ । जस्तोः
सामान्य उच्चारण शुद्ध उच्चारण
म्हेन्दो मेन्दो ༼མྷེན་དོ་༽
भोर्बा बोर्बा ༼བོར་བ་༽
घेवा गेवा ༼གེ་ཝ་༽
धरपुङ दरपुङ ༼དར་པུང་༽
- संयुक्त र मिश्र उच्चारण
बालबालिकालाई संयुक्त वर्ण उच्चारणमा अक्षरको आधा भाग छुट्याएर देखाउन सकिन्छ तर मिश्र उच्चारणमा अक्षरको आधार भाग छुट्याएर देखाउन सकिँदैन । यो जोडिएर नै रहन्छ । यसमा शब्दहरूको सङकलन गरेर शिक्षकले वर्णपत्ती, शब्दपत्ती र वाक्यपत्ती समेत फलाटिन पाटी र गोजीतालिका प्रयोग गरेर देखाउँदै उच्चारण गर्न लगाउनु पर्दछ । त्यसमा शिक्षकले संयुक्त र मिश्र उच्चारण हुने वर्णलाई शब्द सङ्कलन गरेर कक्षामा प्रस्तुत गर्नु पर्दछ । जस्तोः
संयुक्त उच्चारण हुने शब्दहरूः ཕུམ་བ (फुम्बा) ཀོན་མེ་ (कोन्मे) སིང་སུར་ (सिङसुर) ཨོལ་ཀོང་ (ओल्कोङ ཌམ་ཕུ་ (डम्फू) ।
मिश्र उच्चारण हुने शब्दहरूः གྱ་ལིང་ (ग्यालिङ) ཛོམོ་ལིང་ (ज्योमोलिङ) མྷེ་ནིང་ (म्हेनिङ) ཀ་ཁྲེ་ (काख्रे) པུ་ཁྲི་ (पुख्री) ।
उल्लिखित संयुक्त र मिश्र उच्चारण गर्न बालबालिकालाई कठिन हुने भएकाले निरन्तर अभ्यास गरिरहनु पर्दछ । यसमा वर्णपत्ती, शब्दपत्तीको प्रयोग गरेर संयुक्त अक्षरलाई छुट्याएर उच्चारणको अभ्यास गराउनु पर्छ । तर मिश्र उच्चारणलाई भने टुक्र्याएर देखाउन नसकिने हुँदा उच्चारण मात्र गरेर स्पष्ट पार्नु आवश्यक हुन्छ । कक्षाकोठामा विभिन्न किसिममा उच्चारण हुने संयुक्त र मिश्र वर्णहरूको सङ्कलन गरेर कक्षामा प्रदर्शन गरेर सामूहिक उच्चारण र व्यक्तिगत उच्चारणको अभ्यास गराउनु पर्छ । बालबालिकालाई वास्तविकताको नजिक पुर्याउन उच्चार्य अङ्गजस्तो जिब्रो, ओठ, कण्ठ आदिलाई सङकेत गरेर देखाउनु पनि पर्दछ । यस्तो अभ्यास गराउँदा शब्दजोडी र उपयुक्त शब्द समूहरूबाट अभ्यास गर्नुपर्छ भने ती शब्दहरूलाई वाक्यमा प्रयोग गरेर भाषिक सम्प्रेषण क्षमताको विकासमा जोड दिनु पर्दछ । त्यस्ता शब्दहरूलाई पाठमा खोजी गरी प्रयोग गर्न सकेमा प्रभावकारी हुन्छ ।
- अनुप्रास मिलाउने
अनुप्रास मिलाउन शब्दको अगाडि र पछाडि समान ध्वन्यात्मक उच्चारण हुने शब्दयुग्म वा जोडीको खोजी गरेर अभ्यास गराउनु पर्दछ । यसमा लयात्मक धुन अन्तर्निहीत भएकाले बालबालिकाहरू यसलाई पढ्न मन पराउँछन् । जस्तोः
पहिलो शब्द दोस्रो शब्द
ཏམ་ (ताम) ཙམ་ (चाम)
ངེ་བ་ (ङेबा) སེ་བ་ (सेबा)
སིམ་བ་ (सिम्बा) ཛིམ་བ་ (जिम्बा)
ཀེ་ཝ་ (केवा) གེ་ཝ་ (गेवा)
ཀུ་དཔ་ (कुदाप) ཀུ་ལཨི་(कुलाइ)
- सामूहिक र व्यक्तिगत अभ्यास
उच्चारण शिक्षणमा व्यक्तिगत र सामूहिक अभ्यासको आवश्यकता पर्दछ । सामूहिक अभ्यासका लागि कक्षमा विभिन्न समूह बनाएर उच्चारण अभ्यास गर्नुपर्दछ । उच्चारण कार्य व्यक्तिगत हुने भएकाले सामूहिक अभ्यासपछि व्यक्तिगत अभ्यासलाई जोड्नु पर्छ । हुनतः पहिले व्यक्तिगत उच्चारण अभ्यास गरेर त्रुटि क्षेत्र पहिचान गरेर सामूहिक अभ्यास पनि गराउन सकिन्छ । जे होस् उच्चारणमा स्पष्टता र शुद्धताका लागि व्यक्ति विशेष र सामूहिक उच्चारण क्रियाकलाप दुवै आवश्यक हुन्छ ।
- पाठका कठिन शब्दहरूको उच्चारण
भाषाका पाठ्यपुस्तकमा विभिन्न पाठहरूलाई विधाका रूपमा प्रस्तुत गरिएका हुन्छन् । हरेक पाठमा पाठ्यवस्तुका रूपमा शब्दभण्डारलाई समाविष्ट गरिएको हुन्छ । ती पाठहरूमा सामविष्ट शब्दहरूलाई पहिचान गरी उच्चारणको अभ्यास गर्नुपर्दछ । त्यसपछि क्रमशः शब्द शिक्षणको प्रक्रिया जस्तो शब्दार्थ र वाक्यमा प्रयोग गर्न लगाउनुपर्दछ । पाठका शब्दहरू पनि सबै विद्यार्थीका लागि समान रहँदैन किनभने कक्षाका विद्यार्थीहरूको भाषिक पृष्ठभूमि फरक फरक हुन्छ । त्यसकारण विद्यार्थीलाई पाठको सस्वर वाचन गराई त्रुटि क्षेत्र पहिचान गर्ने, विद्यार्थीको पृष्ठभूमिको आधारमा शब्दसूची तयार पार्ने र पाठमा भएका शब्दलाई प्रयोग गरी उच्चारण अभ्यास गराउन सकिन्छ । उच्चारण शिक्षणमा शिक्षकले आदर्शवाचन गरेर सामूहिक र व्यक्तिगत रूपमा अभ्यास गराउनु पर्दछ । त्यसपछि विद्यार्थीबाट उच्चारण गराई शिक्षकले टिप्पणी र सुधारका लागि सल्लाहका साथै पुनः अभ्यास दोहोर्याउनु पर्दछ । विद्यार्थीले कक्षामा शिक्षकले गरेको उच्चारणको अनुकरण गर्न सक्छन् । तर शिक्षकले व्यक्तिगत र सामूहिक रूपमा उच्चारणको अभ्यास गर्दै विद्यार्थीका लागि विशेष निराकरणात्मक उच्चारण विधिलाई अपनााउनु पर्दछ । यसका लागि विद्यार्थीबाट आवश्यकताको आधारमा व्यक्तिगत र कक्षागत सामूहिक उच्चारणको मौखिक अभ्यासलाई पुनरावृत्ति गर्न सक्छन् ।
- मूल्याङ्कन
भाषा शिक्षणमा उच्चारण शिक्षण उच्चारण, अभ्यास र मूल्याङ्कनको निरन्तरता हो । यसमा शिक्षकले विद्यार्थीको व्यक्तिगत उच्चारण सुधारका लागि निराकरणात्मक उपायहरू अवलम्बन गर्नुपर्छ ।