नेपालका मातृभाषाहरूको विकास र प्रयोगमा केकस्ता उल्लेख्य कार्य भएका छन् त ?

 

  नेपालका मातृभाषाहरूको विकास र प्रयोगमा केकस्ता उल्लेख्य कार्य भएका छन् त ?

डा. लोक बहादुर लोप्चन

 

अन्तर्राष्ट्रिय मातृभाषा दिवस फेब्रुअरी २१, २०२६ (तदनुसार फागुन ९, २०२८२) को अवसर आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा आयोजित “मातृभाषा संरक्षणमा समुदायहरूबाट भएका असल अभ्यासहरू” विषय कार्यक्रममा मातृभाषी समुदायहरूबाट प्रस्तुतिको क्रममा प्राप्त तथ्याङक र विवरणको आधारमा कुन कुन मातृभाषमा के कस्ता कार्यहरू भएका छन्। जसलाई तल प्रस्तुत गरिएको छः

माझी भाषाः चिनीमाया माझी

प्रस्तोता चिनीमा माझीका अनुसार माझी भाषाको वर्ण पहिचान, शब्द सङ्‍कलन, व्याकरण लेखन आदि भाषिक कार्य भएका छन्।  यस भाषाको शब्दकोश धनबहादुर माझीले तयार पारेका हुन् भने प्रा.डा. दुबिनन्द ढकालले माझी भाषाको व्याकरण लेखन गरेका हुन्। यसका साथै माझी भाषाको शब्द सङकलन भएको मात्र पाइँदैन, यस भाषामाभाषा आयोगको पहलमा माझी भाषाको लोकवार्ता सङ्‍कलन भई धनबहादुर माझीबाट यसको लेखन कार्य सम्पन्न आयोगबाट प्रकाशित भएको छ। यसबाहेक माझी जातिको धर्म र संस्कारसम्बन्धी कृतिहरू लेखन र प्रकाशन भएका छन्। धनबहादुर माझी र झकेन्द्र घर्ती मगर लिखी माझी जातिको चिनारी पुस्तक प्रकाशन भएको पाइन्छ। इन्द्रबहादुर माझीले माझी भाषा सिकाइका लागि “माझी भाषा खरखरति” जस्ता पुस्तक बजारमा ल्याएका छन। त्यसै गरी श्रीबहादुर माझीले बाखान बुखून कृति लेखन र प्रकाशन गरेका छन्, यसमा माझी भाषा, धर्म संस्कार तथा संस्कृति र पुरेत विधिसम्बन्धी विषयवस्तुहरू समाविष्ट छन्।  

शिक्षामा माझी भाषाको कार्यान्वनतर्फ नेपाल सरकार, पाठ्यक्रम विकास केन्द्रबाट माझी भाषाको कक्षा १-३ को पाठ्यक्रम तयार भई पाठ्यपुस्तक लेखन कार्य भएको छ। तर विद्यालयहरूमा उक्त पाठ्यक्रम र पाठ्यपुस्तकहरू लागू भएका छैनन्। त्यसै गरी सञ्चार क्षेत्रमा गोरखापत्रको नयाँ नेपाल पृष्ठमा महिनाको १/२ वटा प्रकाशन नियमित हुँदै आएका छन्।

सुनुवार भाषाः उत्तम कुमार सुनुवार

सुनुवार सेवा समाजको स्थापना वि.सं. २०३४ सालमा स्थापना भए पश्चात सुनवार भाषा, संस्कृति र समुदायको उत्थानका काम गर्दै आएको छ। यसमा सुनुवार भाषाको विकास लागि अभियान सञ्चालन गर्ने क्रममा सुनुवार भाषाको वर्ण पहिचानदेखि युनिकोडीकरण, ध्वनि पहिचान, लिपि विकास र प्रयोग जस्ता भाषासम्बन्धी महत्वपूर्ण कामहरू गरिएका छन्।सुनुवार भाषामा साहित्यतर्फ कथा, नाटक, निबन्ध र उपन्यासजस्ता विधागत कृतिहरू सिर्जित र प्रकाशित छन्। यस भाषा र अन्य भाषामा अनुवादका कार्य भई अनुवाद साहित्यमा समेत भाषिक कार्य भएको पाइन्छ। यस भाषालाई प्रारम्भमा देवनागरी लिपिमा लेखिए तापनि अहिले कोइँच लिपिमा विकास गरिएको हुँदा यसमा सुनुवार भाषा लेखनको कार्य हुँदैछ।

नेपाल सरकारबाट सुनुवार भाषामा प्रौढ शिक्षाका सामग्री विकास गरिएको थियो। सिक्किम राज्यको सहयोगमा सुनुवार भाषा विषयको पाठ्यपुस्तकहरू लेखन र पठनपाठन हुँदै आएको छ। त्यसै गरी सुनुवार भाषामा वर्णमाला, शब्दकोश, व्याकरण लेखनका साथै कक्षा १-५ सम्मको पाठ्यपुस्तक समेत लेखिएका छन्। खिजीदेम्बा गाउँपालिकामा सुनुवार भाषाको कक्षा १ को पाठ्यपुस्तक लेखन भई लागू हुने क्रममा रहेको छ। यसका अतिरिक्त सुनुवार भाषा र लिपि कक्षाहरू समुदायमा आधारित भई सञ्चालन गरिएका छन्।देवकुमार सुनुवारको निजी लगानी र प्रयासमा रामेछापमा मुक्दुम खिं परम्परागत शिक्षा प्रणालीको विद्यालय स्थापना हुँदैछ। सरकारी कामकाजी भाषामा प्रयोगका लाग ओखलढुङगाको खिजीदेम्बा गाउँपालिकाको सबै वडा र अन्य निकायहरूको साइनबोर्डमा सुनुवार भाषा र लिपिको प्रयोग गर्ने तयारी छ।

सञ्चारतर्फ सुनुवार भाषामा अनलाईन सामग्रीहरू विकास र प्रकाशन भइआएको छ। सुनुवार डट ओरजीबाट पाठ्यसामग्रीहरू विकास गरिएका छन्। वि.सं. २०६८ सालबाट नै उत्तम सुनुवार र सहकर्मीहरूको सहयोगमा रेडियोमा सुनुवार भाषा प्रशिक्षण सामग्री उत्पादन र प्रसारण हुँदै आएको छ।त्यसैगरी इन्डिजिनियस टेलिभिजनको सहकार्यमा सुनुवार भाषामा भिडियो सामग्री उत्पादन र प्रसारणको प्रारम्भ भएको हो।यस भाषामा गोरखापत्रमा नयाँ पृष्ठअन्तर्गत नियमित प्रकाशन हुन्छ। त्यसैगरी यस भाषामा चुप्लो, हाम्सो र चेरे जस्ता पत्रिकाहरू प्रकाशनमा छन्। उत्तम सुनुवारकै पहलमा सुनुवार भाषा एप्स शब्दकोश र पाठ्यसामग्री निर्माण भएको छ। सुनुवार भाषाको प्रयोग विस्तारका लागि यस भाषामा हाजिरी जवाफ प्रतियोगिता, साहित्यिक कार्यक्रम र म्युजिक भिडियोहरू निर्माण गरिएका छन्।

यति हुँदाहुँदै पनि नेपालमा मातृभाषाको संरक्षण, विकास र प्रयोगको बढावा लागि सम्बन्धि भाषिक समुदाय र सरकारी ऐन, कानुन, नियमावली एक भाषिक नभई बहुभाषिक हुनुपर्ने,  हरेक कार्यक्रमलाई बहुभाषिक माध्यमबाट सञ्चालन गरिनुपर्ने र अन्तर्भाषिक अनुवाद प्रणाली स्थापना गर्दै बहुभाषिक रूपमा सरकारी सेवा प्रवाह गर्नमा प्रस्तोताले सुझाएका छन्।

दूरा भाषाः सञ्जिता दूरा

दूरा जातिको भाषा र संस्कृतिको खोज र अनुसन्धानमा अध्येता मुक्तिनाथ घिमिरेको  उल्लेखनीय भूमिका रहेको छ।दुरा डाँडा तुर्लुङकोटका स्वर्गीय केशबहादुर दूरा र कानेस्वाँराका बीर बहादुर दुराले सर्वप्रथम दूरा भाषामा शब्द सङ्‍कलन गरेका थिए। वि.सं.२०६४ मा दूरा भाषा संरक्षण समिति गठन पश्चात यस भाषाको खोज कार्यले प्राथमिकता पाउन थालेको देखिन्छ। दूरा जाति परिचयदेखि यस भाषाको शब्दकोश र व्याकरण लेखनमा विभिन्न अध्येताहरूको योगदान रहेको छ। खास गरी मुक्तिनाथ घिमिरेले दूरा भाषाको व्याकरणको स्वरूप (वि.सं.२०४९) तयार पारेका छन् भने आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानले दूरा भाषाको वर्ण निर्धारण र शब्द सङ्कलनमा आर्थिक र प्राज्ञिक सहयोग पुर्‍याएको छ।

भाषा आयोगबाट दूरा भाषाको इतिहास लेखन, पाठ सङ्‍कलन र पाठ्यसामग्री निर्माणका साथै शब्द सङ्‍कलन र व्याकरण लेखनसम्बन्धी कार्य गरिएका छन्। साथै आयोगबाट दूरा भाषा सरक्षणका लागि समुदायमा आधारित दूरा भाषा कक्षा सञ्चालन गरिँदै आएको छ। लमजुङ जिल्लाको सुन्दर बजार नगरपालिकाको दूराडाँडास्थित ३ वटा विद्यालयहरूमा दूरा भाषा विषय पठनपाठन हुन्छ।जसमा श्री देवी सदन प्रा.वि. वडा नं. ११ तुर्लुङकोटमा वि.सं.२०७५ बाट नै दूरा भाषा पठनपाठन भइआएको छ। त्यसै गरी वडा नं. १० हाँडीखोला स्थित श्री शारदा सदन प्रा.वि.मा समेत दूरा भाषा पठनपाठन हुँदै आएको छ। यसबाहेक दूरा सेवा समाजको पहलमा दूरा भाषासम्बन्धी कक्षाहरू चितवन, कास्की, काठमाडौँ, तनहुँ, लमजुङका विभिन्न दूरा बसोबास रहेका स्थानहरूमा सञ्चालन गरिएका छन्।

दूरा भाषामा विधागत साहित्यको लेखन र प्रकाशन भएको पाइन्छ। यसमा दूरा समाजका अध्यक्ष देवबहादुर दूरादेखि मुक्ति घिमिरेलगायत विभिन्न व्यक्तिहरूले दूरा भाषामा कविता लेखन र गीत समेत लेखन गरेका छन्। भाषा आयोगबाट दूरा भाषामा सन्देश गीत लेखन र छायाङकन भई स्वराङ्‍कन भएको छ। सञ्जिता दूरालगायतका दूरा विद्यार्थीहरूले नेपाल प्रज्ञा प्रतिष्ठानबाट आयोजना हुने मातृभाषा कविता प्रतियोगिताम दूरा भाषामा कविता लेखन र वाचन कार्यले निरन्तरता पाएको छ। दूरा भाषा शिक्षक कमला कुसुण्डाले वि.सं.२०७८ सालदेखि दूरा भाषा कक्षा मेसेन्जर समूहमार्फत दूरा भाषा सिकाउने सिक्ने कार्य गरिँदै आएको छ। त्यसै गरी दूरा लोपा मोबाइल एप तयार गरी यसमार्फत अनलाइन माध्यम दूरा भाषा सिक्ने सिकाउने कार्य प्रारम्भ भएको छ।

नेवा देय दबूः दिपक तुलाधर

नेपालमा मातृभाषा संरक्षण गर्न घरमा मातृभाषा बोल्ने र स्कुलमा मातृभाषा पठनपाठन हुन जरूरी छ। वि.सं.२०३२ सालसम्म काठमाडौँको विद्यालयहरूमा नेवार भाषाको माध्यमबाट विद्यालय तहमा पठनपाठन हुन्थ्यो। तत्पश्चात विद्यालयहरूमा नेपाली भाषालाई अनिवार्य गरिएको हुँदा अन्य मातृभाषाहरूलाई माध्यमका रूपमा प्रयोग हुन सकेन। नेपालभाषाको विद्यालय शिक्षादेखि विश्वविद्यालय तहमा विद्यावारिधि तहसम्मको पठनपाठन हुन्छ।

सङ्घीय तहको कार्यान्वयन पछि बागमती प्रदेशमा तामाङ र नेपाल भाषा सरकारी कामकाजी भाषाको रूपमा कार्यान्वयन भएको छ। यस भाषाको लेखनमा रञ्जना, देवनागरी लगायत प्रचलित नेपाल लिपिलाई प्रयोगका लागि मान्यता प्रदान गरिएको छ। स्थानीय तहमा मातृभाषा शिक्षाअन्तर्गत काठमाडौँ महानगरपालिका, कीर्तिपुर नगरपालिका, ललितपुर महानगरपालिकाका विद्यालयहरूमा नेपालभाषाको माध्यमबाट स्थानीय विषय पठनपाठन अनिवार्य गरिएको छ   महानगरपालिकामा नेपाल भाषा शिक्षक दरबन्दीको व्यवस्था करिब २०० जना नेपालभाषा पठनपाठन गर्ने शिक्षक नियुक्ति भाषा शिक्षकका रूपमा रोजगारी समेत सिर्जना गरिएको छ। साथै टोखा नगरपालिका र चन्द्रागिरी नगरपालिकामा नेपाल भाषाको माध्यमबाट स्थानीय विषय पठनपाठनका लागि  भइरहेको छ। काठमाडौँ महानगरपालिकामा नेपालभाषाका पाठ्यपुस्तकको प्रबन्ध गरी नगरपालिकाले शिक्षक दरबन्दी कायम गरेर निरन्तरता दिएको छ। ललितपुर जिल्लाको गोदावरी नगरपालिकामा नेपाल भाषा र तामाङ भाषा पढाउने २/२ जना शिक्षक नियुक्ति गरी दुवै भाषाको पठनपाठनलाई जोड दिइएको छ ।

ह्योल्मो भाषाः टासी लामा ह्योल्मो

नेपाल ह्योल्मो समाज जातीय संस्था हो, यसले होल्मो भाषाको संरक्षण र विकासका लागि पहल र प्रयास गर्दै आएको छ। ह्योल्मो सम्भोटा लिपिमा लेखिने गरिन्छ। यस भाषाको देवनागरी लिपिमा वर्ण निर्धारण भइसकेको छ भने आम समुदायमा यसलाई सहज र प्रयोग विस्तारका लागि देवनागरी लिपिको माध्यमबाट लेखन, प्रकाशन र प्रयोगका कार्यहरूमा जोड दिइएको छ। यस भाषषाको वर्णनिर्धारण गर्न ५ वटा जिल्लाको वक्ता सहभागितालाई आधारित भई वर्णनिर्धारण गरिएको हो। अहिले यस भाषामा  गोरखापत्रमा नयाँ पृष्ठमा प्रकाशनको प्रारम्भ भएको छ भने नेपाल इन्डिजिनियस टेलिभिजनमा समाचार र कार्यक्रम प्रसारण हुन्छ।

किरात राई भाषाः डा. तारामणि राई

किराँत राई समूहका एकल भाषा बोलिने नभएर २६ भाषिक भेदहरू बोलिन्छन्। यी सबै भाषाहरूको विकास स्थिति र प्रयोग अवस्था पहिचान गरेर निचोड निकाल्न सहज भने छैन।यस समूहका केही भाषाहरू लोप भइसकेका छन् भने केही सङकटासन्न छन्, जसमा लुङखिम, तिलुङ जस्ता एक दुई जना वक्ता भएका भाषाहरू पर्दछन्। राई भाषाहरूको संरचनात्मक र स्तरगत विकास कार्यमा राई समुदायगत संस्थाको भूमिकाका साथै किराँत राई प्रज्ञा परिषदले प्राज्ञिक र अध्ययन अनुसन्धानका कार्यहरू गर्दै आएको छ।

राई किरात समूहका भाषाहरूको अध्ययन अनुसन्धान कार्य विभिन्न सङ्घसंस्था  निकायहरूबाट हुँदै आएको छ। यस समूहका भाषाहरूको वर्णपहिचान, शब्दकोश विकास, व्याकरण लेखन र साहित्य सिर्जजनाका साथै सञ्चार क्षेत्रमा भाषिक पत्रपत्रिकाहरू प्रकाशन भएका छन्। जसमा बान्तावा भाषामा बुङवाखा, तिलुङ भाषामा सितिमी मासिक पत्रिका प्रकाशन हुन्छ। गोरखापत्रको नयाँ पृष्ठमा यी भाषाहरूमा नियमित प्रकाशन भई आएको छ र थप भाषाहरू समेट्ने क्रम जारी छ। विद्यालय शिक्षातर्फ पाठ्यक्रम विकास केन्द्रको पहलमा केही राई समूहका भाषाहरू जस्तो बान्तावा भाषामा पाठ्यक्रम र पाठ्यपुस्तक प्रकाशन भई केही पालिकाका विद्यालयहरूमा पठनपाठन भइरहेको छ। त्यसै गरी किरात राई परिषदबाट स्था नीय तहहरूको सहकार्यमा ८ भन्दा बढी भाषाहरूमा पाठ्यक्रम र पाठ्यपुस्तक लेखन कार्य सम्पन्न भएका छन् तर यसको कार्यान्वयन पक्ष भने सबल बन्न सकेको छैन। यसरी  विद्यालय शिक्षामा मातृभाषामा लागू गर्न विशेष पहल र तदारूकता आवश्यक छ।

      छन्त्याल भाषाः नवीन छन्त्याल

छन्त्याल जातिकोउद्‍गमथलो बाग्लुङ र म्याग्दी हो। उनीहरूले बिगतमा सरकारलाई भेजा वा कर तिरेको इतिहासमा उल्लेख भएको पाइन्छ। नेपालमा छन्त्याल जातिको न्यून जनसङ्ख्याको कारण यस भाषाको वक्ता सङ्‌ख्या पनि न्यून रहनु अस्वभाविक रहेन। छन्त्याल भाषाको दस्तावेजीकरण कम भएको देखिन्छ।

गण्डकी प्रदेशको म्याग्दी जिल्लाको धौलागिरी गाउँपालिकाका झीखानीका गाउँहरूमा छन्त्याल भाषा जीवित रहेको छ। यस भाषामा छन्त्याल बोलीचाली पुस्तक प्रकाशन भएको छ। त्यस गरी यस भाषालाई अन्तरपुस्तामा हस्तान्तरण गर्न  समुदायमा आधारित छन्त्याल भाषा कक्षा सञ्चालन भएका छन्। बाग्लुङ जिल्लामा छन्त्याल भाषा प्रशिक्षण कार्यक्रमहरू सञ्चालन भएका छन्। यस भाषाको शब्द सङकलन भएको पाइन्छ भने व्याकरण लेखन र शब्दकोश  प्रकाशन गर्न पहल भइरहेको छ।

लिम्बू भाषाः प्रेम यक्तेन

लिम्बू भाषाको इतिहास लेखनदेखि शब्दकोश, व्याकरण लेखन र साहित्यका विधागत सिर्जनाहरू पर्याप्त भएका छन्। यस भाषाको विद्यालय तहमा पठनपाठन गर्न पाठ्यक्रम र पाठ्यपुस्तक तयार पारेर पठनपाठन हुँदै आएको छ, जुन तल्ला कक्षाहरूमा सीमित रहेको माथिल्लो कक्षासम्म पठनपाठनका लागि पहल गरिएको छ। वर्तमान विज्ञान र प्रविधिको युगमा यस भाषाको विश्वव्यापीकरण र प्रविधिकरणका लागि गुगल ट्रान्सलेसन गर्नका आवश्यक पहल र प्रयोग गरिँदैछ।

युनेस्को नेपालः वर्षा लेखी

युनेस्कोले अन्तर्राष्ट्रिय आदिवासी भाषा दशक कार्ययोजना (२०२२-२०३२) को सन्दर्भमा नेपालको कार्ययोजना तयारीका लागि संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्रालय र भाषा आयोगसँग सहकार्य गरी दस्तावेज तयार गरी मन्त्रालयमा पेस गरिएको हो। अहिले भाषा आयोगले नेपाल सरकारसमक्ष उक्त कार्ययोजना पेस गरेको हुँदा सरकारबाट यसको स्वीकृति गरी कार्यान्वयन गर्न बाँकी रहेको छ।

युनेस्को नेपालले आदिवासी जनजातिसम्बन्धी कार्यक्रमहरू युथ एज रिसर्चरहरू, आदिवासी भाषा र जलवायु परिवर्तनको प्रभाव विषयमा काम गर्दै आएको छ। यसका लागि युवा समितिहरूलाई रकम दिएर प्रतिवेदन तयारी गरिएको छ। मूलतः आदिवासीका जातीय सङ्घसंस्थाहरूबाट नेपाल सरकार, प्रदेश र स्थानीय सरकारसमक्ष अन्तर्राष्ट्रिय आदिवासी भाषा दशकको नेपालका लागि कार्ययोजना स्वीकृत गरी कार्यान्वयन गर्न आवाज उठाउनु पर्दछ।

सुरेल भाषाः प्रल्हाद सुरेल र रमेश सुरेल

सुरेल जाति आफैँमा लोपोन्मुख अल्पसङ्ख्यक जाति भएकाले यस जातिको वक्ता सङ्‍ख्‍या पनि अत्यन्न न्यून रहेको छ। यस भाषाको अध्ययन अनुसन्धानमा त्रिवि भाषा विज्ञान केन्द्रीय विभाग, भाषा आयोग र सुरेल समाजको सामूहिक पहल र प्रयास महत्वपूर्ण छ। वर्ण निर्धारण, पाठ सङ्कलन, इतिहास लेखन जस्ता कार्यहरू भएका छन्। त्यसै गरी भाषा आयोगबाट सुरेल भाषा कक्षा सञ्चालनका लागि आधारभूत पाठ्यसामग्री सुरेल लोपा भाषा १ र २ तयार भई विद्यालयमा पठनपाठन भइरहेको छ। स्थानीय गौरीशंकर गाउँपालिकाबाट सुरेल भाषा पठनपाठनको लागि श्री विष्णेश्वरी प्रा.वि.सुरेलगाउँमा एक जना शिक्षक दरबन्दीको व्यवस्था गरेर नियुक्ति समेत गरी पठनपाठनमा साथ र सहयोग मिलेको छ।

सुरेल भाषाको विकासमा आदिवसी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानबाट केही पाठ्यसामग्री तयारी गरिएको छ। यस जातिको जनसङ्ख्‍या कमी भएकाले भाषिक वक्ता कम हुनु स्वभाविक रह्यो। तसर्थ यस्ता लोपोन्मुख जातिका लागि  राष्ट्रिय र स्थानीय नीति, नियम संशोधन गरेर विशेष नीति र कार्यक्रमलाई सुरेल जाति लक्षित गरिनु जरूरी छ। आगामी दिनहरूमा प्रतिष्ठानबाट सुरेल जातिको भाषाका लागि सहयोगको अपेक्षा गरिकएको छ।

मगर भाषाः डा. विष्णु सिंजाल

नेपालमा मगर जातिको जनसङख्या करिब २० लाख जाति छन्। तथापि यस जातिमा मगर भाषा नबोल्ने सङ्ख्या ५५% भन्दा बढी छन्। यसबाट के देखिन्छ भने मगर भाषामा नेपाली भाषाको असर वा प्रभाव बढी परेको देखिन्छ। तथापि मगर भाषामा वर्ण निर्धारण, शब्दकोश विकास र व्याकरण लेखन र प्रकाशन छन्। त्यसैगरी साहित्यिक सिर्जनामा कविता, कथा, उपन्यास र महाकाव्यसम्म लेखिएका छन्। अहिले मगर भाषालाई युनिकोडीकरण र अन्तरभाषि क मेसिन अनुवादबाट गुगल अनुवादको विकासलका लागि पहल भइरहेको छ।

यस भाषालाई स्थानीय ७ वटा पालिकाका विद्यालय तहमा पठनपाठन हुन्छ। त्यसैगरी काठमाडौँ विश्वविद्यालय र नेपाल खुला विश्वविद्यालयमा मगर अध्ययन हुन थालेको छ। पाठ्यक्रम विकास केन्द्रबाट मगर भाषाको पाठ्यक्रम र पाठ्युस्तक तयार भई माध्यमिक तहसम्म पुगेको अवस्था छ। सरकारी कामकाजको भाषातर्फ गण्डकी प्रदेशमा मगर भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता प्रदान गरी कार्यान्वयनउन्मुख छ भने यस भाषाको लेखनमा देवनागरी र अख्खा दुवै लिपिको प्रयोग हुन्छ।

भोटेभाषाः याङछिरि भोटे

हिमाली भेगमा बसोबास गर्ने भोटे जातिले बोल्ने भाषा भोट भाषा हो। यहाँका बासिन्दाहरूको मातृभाषा भएकाले दैनिक जीवनदेखि समुदायको संस्कार संस्कृतिमा भोट भाषा बोलिन्छ।  यस भाषामा विभिन्न निकायबाट अध्ययन अनुसन्धान भएको पाइन्छ। त्यसैगरी पाठ्यक्रम विकास केन्द्रबाट भोट भाषामा पाठ्यक्रम र पाठ्यपुस्तक तयार भएका छन्। नेपाल प्रज्ञा प्रतिष्ठान, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान र भाषा आयोगबाट भोट भाषामा भाषिक कार्य सम्पादन भएका छन्।

भोट भाषाको लेखनमा सम्भोटा  लिपिको प्रयोग भए तापनि यसलाई सरलीकरण र प्रयोग विस्तारका लागि देवनागरी लिपि समेत प्रयोग हुन थालेको छ। संस्थाको तर्फबाट भोट भाषा र लिपि संरक्षण र विकासका लागि पहल गरिँदै आएको छ।

शेर्पा भाषाः दावा शेर्पा

शेर्पा जातिको मुख्य पहिचानका रूपमा शेर्पा भाषा रहेको छ। विभिन्न राष्ट्रिय जनगनाहरूको आधारमा तुलना गर्दा शेर्पा भाषाको बफारिता उच्च छ। राष्ट्रिय जजनगणना २०७८ अनुसार यस जातिको वक्ता सङ्‍ख्या १,१७, ८९६ रहेको देखिन्छ। तथापि बसाइँसराइ, बजारको प्रभाव र राज्य संयन्त्रको एकल माध्यम भाषा आदिको कारण यस भाषाको पुस्तान्तर विस्तारै कमजोर हुँदै गएको छ।

शेर्पा भाषामा वर्णनिर्धारणदेखि शब्दकोश र व्याकरण लेखन र प्रकाशन भएका छन्। यस भाषामा केही साहित्यिक कृति लेखन प्रकाशन हुँदै आएको छ। गोरखापत्रमा नियमित पृष्ठ प्रकाशन हुँदै आएकोमा ज्योमोलुङमा जस्ता मासिक पत्रिकाहरू शेर्पा भाषामा प्रकाशन हुन्छ। रेडियो नेपालदेखि एम.एम. रेडियोहरूका साथै नेपाल टेलिभिजनसहित विभिन्न सञ्चार माध्यमबाट शेर्पा भाषामा समचार र कार्यक्रम प्रसारण हुन्छन्। यस भाषामा चलचित्रहरू बनेका छन् जस्तो खाङग्री, कुसुम, टिन्छेन आदि चलचित्रहरू हुन्।

विद्यालयतर्फ पाठ्यक्रम विकास केन्द्रबाट शेर्पा भाषामा पाठ्यक्रम र पाठ्यपुस्तक प्रकाशन भई केही विद्यालयहरूमा पठनपाठन भए तापनि विश्वविद्यालय तहमा यसको पठनपाठन पर्खाइको विषय बनेको छ। नेपाल शेर्पा सङ्घको पहलमा विभिन्न स्थानीय तहहरूमा शेर्पा भाषाको विषयको पठनपाठनका लागि पहल गरिएका छन्, जसमा खिजिदेम्बा गाउँपालिका र सिद्धिचरण नगरपालिका ओखलढुङ्घ र सोलुदूधकुण्ड गाउँपालिका सोलुखुम्बूमा शेर्पा विषय पठनपाठनका लागि पहल गरिएको छ। त्यसै गरी ताप्लेजुङ जिल्लाका २० विद्यालयहरूमा शेर्पाभाषी शिक्षक नियुक्ति भई शेर्पा भाषा विषय पठनपाठन भइरहेको छ। आगामी दिनमा शेर्पा भाषामा यान्त्रिक अनुवादको व्यवस्था गर्दै विश्वविद्यालयहरूमा पठनपाठन गरिनु जरूरी छ।

थारू भाषाः प्रेमीलाल चौधरी

नेपालका २६ वटा जिल्लाहरूमा थारू जातिको बसोबास रहेको छ। भाषा आयोगको सिफारिस २०७८ अनुसार कोशी प्रदेश र लुम्बिनी प्रदेशमा थारू भाषालाई सरकारी कामकाजको भाषामा प्रयोगका लागि सिफारिस गरिएका छन्। थारू भाषाका विभिन्न क्षेत्रीय भेदहरूमा पूर्वीया थारू, दगौरा थारू, राना थारू भाषिक भेदहरू छन्। त्यसैले थारू कल्याणकारी सभाको पहलमा थारू भाषाको मानकीकरण गरिएको छ।

यस भाषामा शब्दकोश, व्याकरण र विधागत साहित्यिक कृतिहरू लेखन र प्रकाशन भएका छन्। नेपाल प्रज्ञा प्रतिष्ठानबाट विद्यालय तहका पाठ्यक्रम र पाठ्यपुस्तक तयार भई विद्यालयहरूमा पठनपाठन हुँदै आएको छ। त्यसैगरी विश्वविद्यालयमा थारू भाषामा स्नातक तहको पढाइको लागि पहल गरिएको छ।  नेपाल प्रज्ञा प्रतिष्ठानबाट थारू भाषा बृहत शब्दकोश प्रकाशोन्मुख छ।

नेपाल प्रज्ञा प्रतिष्ठानः प्राज्ञ त्रैलोक्यमान बनेपाली

नेपालामा नेपाली भाषा पछि ऐतिहासिक र प्राज्ञिक रूपमा विकास भएको भाषाका रूपमा नेपाल भाषालाई लिन सकिन्छ। यस भाषामा शब्दकोश र व्याकरण मात्र लेखिएका छैनन्, साहित्यका सबै विधामा प्रसस्त कतिहरू लेखन र प्रकाशन भएका छन्। विद्यालयमा विषयको पठनापठनदेखि विश्वविद्यालयमा विद्यावारिधि तहसम्मको पठनपाठन हुन्छ। जातिगत रूपमा नेवा देयः दबू रहेको छ भने नेपालभाषा प्रज्ञा प्रतिष्ठानबाट यस भाषाको  संरक्षण, संवर्धन र विकासका कार्यहरू हुँदै आएको छ।

नेपाल प्रज्ञा प्रतिष्ठानबाट विभिन्न भाषाहरूमा शब्दकोश, व्याकरण लेखन र प्रकाशनसम्बन्धी कार्यहरू गरिन्छ। प्रतिष्ठानसँग आर्थिक स्रोत न्यून रहे तापनि समुदायबाट शब्दकोशहरू लेखन भई प्रकाशोन्मुख छन्। मातृभाषाका शब्दकोशहरू अङग्रेजी र नेपाली भाषासहित बहुभाषामा प्रकाशित हुँदै आएको छ। हाल प्रकाशनको क्रममा रहेको शब्दकोशहरूमाअवधी भाषाको शब्दकोश राना थारू भाषाको शब्दकोश र मगर भाषाको शब्दकोश रहेका छन्। यस अघि ने भोजपुरी साहित्य सांस्कृतिक अध्ययन पुस्तक प्रकाशन भएको छ। यसरी माततृभाषाका २७ वटा पत्रिकाहरू प्रकाशन हुन लागेको छ भन डोटेली भाषाको पत्रिका ज्योती समेत प्रकाशन हुन लागेको छ।

 

 

 

 

 

 

You might also like