
बज्जिका मातृभाषामा शिक्षाका लागि अन्तर्क्रिया कार्यक्रम सम्पन्न
रामनगर गाउँपालिका सर्लाही, २०७७ साल चैत्र ९ गते ।
भाषा आयोग र रामनगर गाउँपालिका सर्लाहीको सहकार्यमा मिति २०७७ साल चैत्र ९ गतेका दिन श्री तपस्वी जगदेव मावि रामनगरमा बहुभाषिक शिक्षासम्बन्धी शिक्षक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भयो । गाउँपालिका उपाध्यक्ष श्री नितुदेवी यादवको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रमको सञ्चालन भाषा आयोगको प्राविधिक सहायक श्री बाल विक्रम राईले गर्नुभएको थियो । कार्यक्रममा भाषा आयोग माननीय सदस्य उषा हमाल प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो भने भाषाविद अमृत योञ्जन तामाङ र मातृभाषा शिक्षा शाखा प्रमुख डा.लोकबहादुर लोप्चनको उपस्थिति रहेको थियो।गाउँपालिकाभरिका सामुदायिक विद्यालयमा बाल कक्षा र कक्षा १ मा पठनपाठन गर्ने शिक्षकका साथै केही विद्यालयका प्रअहरू समेत उक्त बहुभाषिक शिक्षा तथा तालिमसम्बन्धी कार्यक्रममा सहभागी रहेका थिए ।
गाउँपालिकाका शिक्षा संयोजक राम पवित्र शाहको स्वागत मन्तव्यबाट प्रारम्भ गरिएको उक्त कार्यक्रममा सहभागीको परिचयात्मक कार्यपछि सहभागीको अपेक्षा वा विचार प्रस्तुति राखिएको थियो । सहभागी शिक्षक तथा प्रअबाट बज्जिका भाषा दिँदा हुने लाभका साथै नेपाली तथा अङ्ग्रेजी भाषाले बजारमा लिएको स्पेसको बारेमा विचार अभिव्यक्त भएको थियो । कतिपय शिक्षकले अहिले पनि कक्षाकोठामा बज्जिका भाषा र नेपाली दुवै भाषाको प्रयोग गरी मातृभाषामा आधारित बहुभाषिक शिक्षा प्रदान गर्दै आएको पाइयो । केही सहभागीकाअनुसार बज्जिका भाषामा मात्र पढाउँदा लोक सेवा आयोग वा सरकारी कामकाजको भाषामा बालबालिका पछि पर्ने हो कि ? अङ्ग्रेजी वा नेपाली भाषामा सक्षमता विकास नभएमा रोजगारीमा अवरोध सिर्जना हुने हो कि भन्ने जस्ता जिज्ञासा वा सवालको उठान गर्न पुगेका थिए ।
भाषाविद् अमृत योञ्जन तामाङले बहुभाषिक शिक्षाको आवश्यकता, यसका उपागम र बालबालिकाको भाषिक एवम शैक्षिक विकासका लागि भाषिक माध्यमको सन्तुलन मिलाउनुपर्ने विषयमा अभिमुखीकरण गर्नुभएको थियो । भाषा आयोगका मातृभाषा शिक्षा शाखा प्रमुख डा.लोकबहादुर लोप्चनले मातृभाषामा शिक्षाको माध्यम एकल नभई नेपालीसहित मातृभाषामा आधारित हुने, विषय र माध्यमक सन्तुलन मिलाउने, नेपाली र अङ्ग्रेजी विषयलाई दोस्रो वा विदेशी भाषाको रूपमा शिक्षण गर्नका साथै सामुदायिक विद्यालयको सिकाइ उपलब्धि अभिवृद्धि गरी शैक्षिक गुणस्तर वुद्धिमा जोड दिनुपर्ने बताउनुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि उषा हमालले भाषा आयोगले भाषासम्बन्धी सम्पूर्ण विषयहरूमा नेपाल सरकार, प्रदेश तथा स्थानीय सरकारलाई सिफारिस गर्ने तर कार्यान्वयन गर्ने जिम्मेवारी भने आयोगको नभई तीनै तहको सरकारको रहेको बताउनुभयो । साथै उहाँले भाषा आयोगले गरेका सिफारिसहरू कार्यान्वयनका लागि आयोगले पहल र प्रयास गरिरहेको जानकारी दिलाउनुभयो । अन्तमा, कार्यक्रमका अध्यक्ष एवम् गापा उपाध्यक्ष नितुदेवी यादवले यस गाउँपालिकामा बज्जिका भाषाको प्रयोग विस्तार गरिने प्रतिबद्धताका साथ कार्यक्रमको समापन गर्नुभयो ।