जुगल गाउँपालिका सिन्धुपाल्चोकमा शैक्षिक सत्र २०८० बाट तामाङ भाषा विषय पठनपाठन हुने

जुगल गाउँपालिका सिन्धुपाल्चोकमा शैक्षिक सत्र २०८० बाट तामाङ भाषा विषय पठनपाठन हुने

 सिन्धुपाल्चोक, जुगल गाउँपालिका। २०७९ साल चैत्र ११ गते शनिबार ।

जुगल गाउँपालिका सिन्धुपाल्चोकको आयोजना  र नेपाल तामाङ घेदुङको सहकार्यमा २०७९ साल चैत्र ११ गते शनिवारका दिन जुगल गाउँपालिकास्थित श्री रत्न राज्य माध्यमिक विद्यालय चनौटको सभाहलमा स्थानीय तहमा भाषा नीति निर्माण एवम् मातृभाषा शिक्षा विषयक कार्यशालाको पहिलो दिनको अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो । विद्यालयका प्रअ, विव्यस अध्यक्षसहित कार्यपालिकाका सदस्यहरू उपस्थित उक्त कार्यक्रममा भाषा विज्ञ डा.लोकबहादुर लोप्चनले मातृभाषा शिक्षा प्रदान गर्ने तौरतरिका र तामाङ भाषा विषय तथा स्थानीय विषयको पठनपाठनका विषयमा प्रस्तुति राख्नुभएको थियो । साथै डा.लोप्चनले स्थानीय तहमा निर्माण गर्नुपर्ने स्थानीय भाषा ऐन, प्रज्ञा प्रतिष्ठान र सङ्ग्रहालयको तथा भाषा नीतिका नमुना प्रस्तुत गरी कानुनी प्रबन्ध गर्न सहजीकरण गर्नुभएको थियो। तामाङ भाषा पुस्तक लेखन तथा लिपि प्रशिक्षक प्रतीक तामाङले हालसम्म बागमती प्रदेशका ११९ स्थानीय तहमध्ये तामाङ भाषा विषय पठनपाठनका लागि १० स्थानीय तहमा अभिमुखीकरण गरिए पनि ४/५ वटा स्थानीय तहमा मात्र पाठ्यपुस्तक विकास भई कक्षा ३ सम्म पुगेको बताउनु भयो । नेपाल तामाङ घेदुङका सङ्घीय अध्यक्ष मोहन गोले तामाङले स्थानीय सरकारहरूले भाषा र शिक्षामा भन्दा डोजेरे विकासमा जोड दिँदा सामाजिक सांस्कृतिक र शैक्षिक रूपान्तरणको मूल विषय ओझेल पर्न गएको बताउनु भयो । उहाँले संविधानमा मातृभाषालाई सरकारी कामकाजको भाषाका साथै शिक्षाको भाषा समेत बनाउन स्पष्ट व्यवस्था गरेको वर्तमान अवस्थामा यसलाई नीतिगत, कार्यगत र बजेट समेत व्यवस्था गरी कार्यान्वयन गर्ने जिम्मेवारी तहको भएको जसमा तामाङ घेदुङ खालि सहयात्री मात्र बनेको चर्चा गर्दै जनताको संवैधानिक अधिकारलाई सुनिश्चित गर्न स्थानीय तह उत्तरदायी हुनुपर्ने जिकिर गर्नुभयो ।

गाउँपालिका अध्यक्ष श्री रेशम स्याङबोका अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाल तामाङ घेदुङका अध्यक्ष श्री मोहन गोले तामाङ रहनु भएको थियो भने कार्यक्रममा गाउँपालिका वडाध्यक्षसहित सिन्धुपाल्चोक जिल्ला तामाङ घेदुङका अध्यक्ष प्रतापसिं तामाङसहित नेपाल तामाङ घेदुङका केन्द्रीय सदस्य मिलन तामाङसहितको उपस्थिति रहेको थियो । कार्यक्रममा वडाध्यक्षहरूबाट मन्तव्य राखी संविधान र कानुन प्रदत्त अधिकार जनतासम्म पुर्‍याउने क्रममा तामाङ भाषा विषय र स्थानीय विषय शैक्षिक सत्र २०८० बाट यस गाउँपालिका सबै विद्यालयमा लागू गर्न गाउँपालिका तयार रहेको बताउनुभयो। कार्यक्रमको अध्यक्ष एवम गाउँपालिका अध्यक्ष रेशम स्याङबोले गाउँपालिकाले ढिलै भए पनि तामाङ भाषा विषय र स्थानीय विषय सबै विद्यालय लागू गर्न लागेको र त्यसका लागि कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।साथै आगामी अधिवेशनबाट भाषा, प्रज्ञा प्रतिष्ठान र सङ्ग्रहालय ऐन पारित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

You might also like