लिखु तामाकोशी गापा रामेछापमा शैक्षिक वर्ष २०८१ बाट तामाङ, सुनुवार र स्युबा (कागते) भाषा विषय पठनपाठन हुने

 

लिखु तामाकोशी गापा रामेछापमा शैक्षिक वर्ष २०८१ बाट तामाङ, सुनुवार र स्युबा (कागते) भाषा विषय पठनपाठन हुने

रामेछाप ।२०८० साल फागुन ३० गते।

लिखु तामाकोशी गाउँपालिकाको आयोजना र बहुभाषिक शिक्षा तथा सञ्चार प्रा.लि.काठमाडौको सहकार्यमा लिखु तामाकोशी गाउँपालिकामा जनप्रतिनिधिलगायत सरोकारवालाहरूका लागि स्थानीय भाषा र मातृभाषा विषयसम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। यो कार्यक्रम गा.पा.अध्यक्ष श्री केशव महतको अध्यक्षतामा गापा उपाध्यक्ष दिपा पाख्रिनसहित गाउँ कार्यपालिकाका सदस्य, विद्यालयका प्रअ, विव्यस अध्यक्षहरूको उपस्थितिमा गरिएको थियो। कार्यक्रममा बहुभाषिक शिक्षा तथा सञ्चार प्रा.लि.का तर्फबाट भाषाविद एवम् भाषा आयोगका पूर्व सदस्य अमृत योञ्जन तामाङ र शिक्षाविद एम् भाषा आयोगका सचिव डा.लोकबहादुर लोप्चनले भाषा शिक्षा र शिक्षाका विषयमा कार्यपत्रहरू प्रस्तुत गरी अभिमुखीकरण गर्नु भएको थियो ।

यस कार्यक्रममा वडाध्यक्षहरू प्रदिप कुमार तामाङ, गोपालराज तामाङका साथै विव्यस अध्यक्ष मानबहादुर तामाङले यस पालिकामा मातृभाषा विषय पठनपाठन गरेर जानु पर्ने विचार अभिव्यक्त गर्नु भएको थियो। खुला छलफलका क्रममा विज्ञ समक्ष एक भन्दा बढी मातृभाषालाई कक्षाकोठामा माध्यम र विषयका रूपमा कसरी लैजान सकिन्छ भन्ने जिज्ञासा राखेका थिए। कार्य प्रस्तोतता द्वयबाट जवाफ दिइएको थियो। कार्यक्रममा अन्तमा गाउँपालिका उपाध्यक्ष दिपा पाख्रिनले यो गाउँपालिकामा यसै शैक्षिक सत्रबाट स्थानीय विषयका साथै उल्लिखित ३ वटा मातृभाषा (तामाङ, सुनुवार, स्युबा) हरूको पाठ्यक्रम र पाठ्यपुस्तक बनाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै उहाँले अन्य स्थानीय तहहरूमा स्थानीय भाषा ऐन, प्रतिष्ठान सम्बन्धी कानुन र ऐन बनेकोमा यो पालिका पनि यस कार्यमा लागी पर्ने विचार व्यक्त गर्नुभयो। अन्तमा, कार्यक्रमका अध्यक्ष एवम गाउँपालिका अध्यक्षज्यूले सबै भाषाहरूको लागि स्थान दिन सरकारी कामकाजमा प्रयोग गर्ने र शिक्षामा सबै कक्षाहरूमा क्रमशः लागू गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

 

You might also like