नेपालमा ३०० वर्षको एकल भाषिकताको अन्त्यः तामाङ र नेपाल भाषा सरकारी कामकाजमा
काठामाडौँ। २०८१ साल बैशाख २४ गते ।
बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको आयोजना तथा नेपाल तामाङ घेदुङ र नेवा दय दबुको सहकार्यमा बागमती प्रदेश सरकारले २०८१ साल बैशाख २४ गतेका दिन भव्य समारोह आयोजना गरी तामाङ र नेपाल भाषालाई सरकारी कामकाजको भाषाका रूपमा कार्यान्वयनको सुभारम्भ सम्मानीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट भयो। तामाङ र नेपाल भाषा सरकारी कामकाजका रूपमा बागमती प्रदेशमा लागू भएसँगै नेपालमा ३०० वर्षदेखि आजसम्मको एकल भाषिक अभ्यासको अन्त्य भई बहुभाषिकताको सुभारम्भ भएको छ।जुन नेपालमा बोलिने १२४ भन्दा बढी भाषिक समुदायको लागि सम्मानीय प्रधानमन्त्रीज्यूकै शब्द यो एक ऐतिहासिक दिन हो, पहिचान प्राप्ति र समावेशी एवम् सङ्घीय मुलुक उच्च उपलब्धिका पनि हो भने भाषिक समुदायको गौरवको दिन पनि हो ।
बागमती प्रदेशका मुख्यमन्त्री मा.सालिकराम जमकटेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पूर्वमुख्य मन्त्रीज्यूहरू, नेपालका सरकारका बहालवाला मन्त्री, प्रदेश मन्त्री, सङघ र प्रदेशका मन्त्री, संवैधानिक पदाधिकारी एवम् तामाङ र नेवार समुदायको हजारौँ व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रम स्थल वसन्तपुरमा आउनु अगाडि भाषिक समुदायका विभिन्न सङ्घसंस्थाहरूबाट सांस्कृतिक झाँक्रीहरू प्रस्तुत गरिएको थियो भने कार्यक्रममा पनि तामाङ र नेपाल भाषाबाट स्वागत गान र नाच समेत प्रदर्शन गरिएको थियो।
यस कार्यक्रममा नेवा दय दबुका अध्यक्ष पवित्रमान बज्रचार्यले नेवार समुदाय र अन्य भाषिक समुदायको सदियौँको भाषिक आन्दोलनको उपलब्धि आज प्राप्त भएको बताउनु भयो। साथै उहाँले यसका कार्यान्वयनका लागि कानुनी, संरचना, कार्यक्रम बजेट, सक्षमता जस्ता पक्षहरू चुनौतीका रूपमा रहेको उल्लेख गर्नु भयो ।त्यसैगरी नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङले पद्मरत्न तुलाधरहरूले मातृभाषाका लागि ठुलो सङ्घर्ष गरेर यहाँसम्म ल्याउन समस्त अग्रज पुस्ताहरूले ठुलो योगदान दिएको चर्चा गर्नुभयो।उहाँले भाषिक आन्दोलनको क्रममा कैयन व्यक्तिहरूले जीवन बलिदानबाट प्राप्त उपलब्धिलाई गौरवमय बताउँदै यसका कार्यान्वयनमा लागि पर्ने सङ्घ, प्रदेश र भाषिक सङ्घसंस्थाहरू सम्झनाका पात्र बनेकोमा हार्दिक धन्यवाद दिनुभयो । साथै उहाँले यसको कार्यान्वयनमा कानुनी, व्यावहारिक, कार्यक्रमिक, आर्थिक र इमानदारिताको चुनौती रहे पनि अब कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभयो ।
यस कार्यक्रममा सङ्घीय संस्कृति, पर्यटन र नागरिक उडड्यन मन्त्री मा.हितबहादुर तामाङसहित जनकवि दुर्गालाल श्रेष्ठका साथै अन्य वक्ताहरूले समेत मन्तव्य राख्नुभएको थियो ।