गण्डकी प्रदेशमा मगर ढुट र गुरूङ (तमू) भाषा सरकारी कामकाजमा प्रयोग हुँदै

गण्डकी प्रदेशमा मगर ढुट र गुरूङ (तमू) भाषा सरकारी कामकाजमा प्रयोग हुँदै

भाषा आयोग काठमाडौँ २०८१ साल मंसिर २९ गते

भाषा आयोग काठमाडौँको आयोजनामा गण्डकी प्रदेश सरकारी कामकाजमा भाषा प्रयोगका लागि राष्ट्रभाषा ऐन मस्यौदा २०८१ गण्डकी प्रदेशउपर आज छलफल भयो ।  भाषा आयोगका मा.सदस्य डा.अमर गिरीज्यूक अध्यक्षतामा सञ्चालन गरिएको उक्त कार्यक्रममा भाषा आयोगका सदस्यहरू, नेपाल मगर सङ्घका अध्यक्ष ज्ञानेन्द्र पुनसहित तमू गुरूङ छ्योज धीका कोषाध्यक्ष श्रीप्रसाद गुरूङसहित अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

यस प्रदेशका लागि सरकारी कामकाजको भाषा कार्यान्वयनका लागि भाषा ऐन मस्यौदा तयारीका लागि गठित समितिका विज्ञ सदस्यहरू मगर  ढुट भाषाका तर्फबाट डा. विष्णुकुमार सिञ्जाली  र गरूङ छ्योज धीका तर्फबाट विज्ञ डा.टेकबहादुर गुरूङ सहभागी हुनुभएको थियो। यस कार्यक्रमलाई भाषा आयोगका गण्डकी प्रदेशको प्रतिनिधित्व गर्न सदस्य मा.कृष्णप्रसाद न्यौपानले सम्बोधन गर्नुभएको थियो । भाषा आयोगका का.मु.सचिव डा.लोकबहादुर लोप्चनले बागमती प्रदेशमा सरकारी कामकाजमा भाषा प्रयोगका लागि गठिक कार्यदलबाट तयार पारिएको प्रतिवेदनसम्बन्धी जानकारी प्रस्तुत गर्दै भाषा आयोगको सिफारिसमा समेटिएका विषयहरूबारे स्पस्ट पार्नु भएको थियो ।

गण्डकी प्रदेशका लागि तयार पारिएको राष्ट्भाषा ऐनको मस्यौदा विज्ञ डा.विष्णुकुमार सिंजालीले प्रस्तुत गर्नु भएको थियो । यसमा भाषा आयोगका शाखा प्रमुख एवम् कानुन अधिकृतसहित का.मु.सचिवबाट राय सुझाव राखिएको थियो भने कार्यक्रमका अध्यक्ष डा.अमर गिरीबाट पनि पृष्ठपोषण प्रदान गरिएको थियो। यस अन्तरक्रियाबाट २०८१ साल मंसिरको तेस्रो साता गण्डकी प्रदेशमा मुख्यमन्त्री, मन्त्री, माननीय एवम् मन्त्रालयका पदाधिकारीसहित मगर सङ्घ र ध्योज धीसहित उपस्थितिमा भाषा आयोगबाट एक अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने विषय तय भएको छ ।

यस कार्यक्रम अघि दुवै जातीय र भाषिक सङघसंस्थाको साथै भाषा आयोगको समेत उपस्थितिमा प्रदेश भाषा ऐनको मस्यौदालाई थप दुई वटा छलफल कार्यक्रम गरी अझ परिमार्जित र परिस्कृत गरेर आगामी अधिवेशनमा पेस गर्नको लागि तयार पार्ने कार्यसूची तयार भएको छ ।

You might also like