नेवारी मातृभाषाबाट पढ्न पाउँदा उत्साहित बालबालिका
मोडर्न नेवा इङ्गलिश स्कुलमा युकेजीमा अध्ययन गर्दै गरेका इभान महर्जनकी आमा प्रविना महर्जन अहिले खुसी छिन् । इभानले विद्यालयमा पनि आफ्नै नेवार मातृभाषामै पढ्न र सिक्न पाएका छन् । मातृभाषा नेवारी, नेपाली र अङ्ग्रेजी गरी तीनवटै भाषामा इभानको अहिले उत्तिकै दख्खल देखिन्छ । सुरुमा नेवारी वा नेपाल मातृभाषामा पढाइ हुने विद्यालयमा पढाउँदा छोराको पढाइ कस्तो हुने हो ? भन्ने चिन्ता थियो, प्रविनालाई । तर अहिले छोरालाई कक्षा १० सम्म नेवार (नेपाल) मातृभाषाको माध्यम र विषय भएको विद्यालयमै पढाउन पाए हुन्थ्यो भन्ने लाग्छ, उनलाई। बहुभाषिक शिक्षा पत्रिकासँग उनी भन्छिन्, ‘छोराको पढाइस्तर देखेर म खुसी छु, मातृभाषाको माध्यममा पढाउँदा बच्चाहरूले छिट्टै बुझ्ने रहेछ, उनीहरूको पढाइस्तर नै फरक हुने रहेछ, भाषा नि जोगियो, पढाइ नि राम्रो हुने, छोरालाई १० कक्षासम्म मातृभाषाको माध्यमबाट पढाउन पाए हुन्थ्यो ।
प्रविना त प्रतिनिधि पात्र मात्रै हुन्। आजभन्दा १६ वर्ष अगाडि सन् २००३ मा मातृभाषा र संस्कृतिको संरक्षण, गुणस्तरीय शिक्षा, सबै भाषाको सम्मान भन्ने नारा तय गर्दै स्थापना भएको मोडर्न नेवा इङ्गलिश स्कुलमा बालबालिकालाई अध्यापन गराउँदै आएका सबै अभिभावकको मुहारमा खुसीबाहेक केही छैन ।
तर १६ वर्ष अगाडि अनेक उत्तरचढावका बीच विद्यालयको स्थापना गर्दैगर्दा विद्यालयका प्रबन्ध निर्देशक दीपक तुलाधारको अगाडि भने चुनौतीको पहाड थियो । नेवारी भाषालाई माध्यम र विषयको रूपमा बालबच्चालाई अध्यापन गराउने हेतुकासाथ विद्यालय स्थापनाको यात्रामा जुटेका उनको मनमा कोही पनि विद्यार्थी नआउने पो हुन् कि, न कोही पनि अभिभावकले साथ नदिने पो हुन् कि ? भन्नेजस्ता धेरै प्रश्न उठेको थियो । ‘विद्यालय खोल्ने त भनियो, अङ्ग्रेजीले बजार कब्जा गरिरहेको अवस्थामा मातृभाषामा पढ्न कोही नआउने हो कि भन्नेजस्ता धेरै कुराहरू मनमा खेलेको थियो । बहुभाषिक शिक्षा मासिकसँगको भेटमा उनले भने, ‘पछि मैले सोचेर स्कुलको नाम नै मोडर्न नेवा इङ्गलिश स्कुल राखँे, हाम्रोमा नेवारी भाषामा नेपाली, अङ्ग्रेजीका साथै अन्य सबै विषयको पढाइ हुन्छ, बच्चाहरूले छिट्टै बुझ्छन् भनेर प्रचारप्रसार गरिदियौँ ।
यति प्रचार भएपछि उनले सुरु गरेको विद्यालयमा विद्यार्थीहरूको चाप बढ्यो । विद्यालय निरन्तर विद्यार्थीहरूको आकर्षणको केन्द्र बन्यो । त्यसपछिका निरन्तर १६ वर्षे यात्रामा यस विद्यालयमा पढ्न आउनेहरूको कमी रहेन।त्यसैले अहिले विद्यालयले विद्यार्थी भर्नामा कोटा नै निर्धारण गर्नु परेको छ। हरेक कक्षामा विद्यालयले ३० जनाभन्दा बढी विद्यार्थी भर्ना लिँदैन। ‘हामी बढीमा ३० जना विद्यार्थी भर्ना लिन्छौँ, उनीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्छौँ।उनले भने, ‘मातृभाषामा अध्यापन हुने भएकाले पनि होला, बच्चाहरू शिक्षक–शिक्षिकासँग पनि चाँडै घुलमिल हुन्छन्, छिट्टै सिक्छन् ।
अहिले मोडर्न नेवा इङ्गलिश स्कुलमा १ सय ३ जना विद्यार्थी छन् । यहाँ युकेजीसम्म मात्रै पढाइ हुन्छ।यहाँबाट युकेजीसम्मको पढाइ सकेर अन्य प्रतिष्ठित विद्यालयमा पढ्न जाने विद्यार्थीहरूले पनि आफ्नो शैक्षिक गुणस्तर भने कायम गरेका छन् । प्रबन्ध निर्देशक तुलाधार भन्छन्, ‘हाम्रोबाट पढेर गएका विद्यार्थीहरू प्रतिष्ठित विद्यालयहरूको उत्कृष्ठ १० मा समेत परिरहेका छन्, मातृभाषाको माध्यमबाट र विषयको रूपमा पढाउँदा बच्चाको शैक्षिक गुणस्तर साँच्चै वृद्धि हुने कुरा पुस्टि भइसक्यो ।
काठमाडौँस्थित दरबारमार्गमा रहेको यस विद्यालयमा प्ले ग्रुप नर्सरी, एलकेजी र युकेजीसम्मको पढाइ हुन्छ । विद्यालयमा अङ्ग्रेजी, नेपाली, नेपाल भाषा, विज्ञान, गणित, सामाजिक अध्ययन, सामान्य ज्ञान र हस्तकलाजस्ता विषयहरू अध्यापन हुने गरेको छ।
अहिले काठमाडौँ उपत्यकाका १०१ स्कुलमा नेवार (नेपाल) भाषा विषय पढाइ भइरहेको छ। मोडर्न नेवा इङ्गलिश स्कुलमा पुग्दा कक्षामा अध्ययनरत विद्यार्थीहरू उत्साहित देखिन्थे। नेवार (नेपाल) मातृभाषा माध्यमबाट र नेवार भाषा विषय अध्ययन गरिरहेका उनीहरू उत्साहपूर्वक अध्ययन गरिरहेका थिए।प्रबन्ध निर्देशक तुलाधार भन्छन्, ‘मातृभाषामा अध्ययन गर्न पाउँदा बालबालिकाहरू पनि उत्साहित देखिन्छन्, उनीहरूको उत्साहको कुनै सीमा नै छैन ।
मातृभाषाले शैक्षिक गुणस्तरमा वृद्धि
मातृभाषाको पठनपाठनले शैक्षिक गुणस्तरमा सुधार आएको छ।मातृभाषामा पढाउन थालेपछि विद्यार्थीको सिकाइमा सुधार र सजिलै बुझ्ने गरेको मोडर्न नेवा इङ्गलिश स्कुलमा नेवार (नेपाल) भाषाको माध्यमबाट पढाउँदै आएकी मिस यशोदा पाण्डे बताइन् ।
यस विद्यालयमा सम्पूर्ण विषयहरू नेवार (नेपाल) मातृभाषामा अनुवाद गरी पठनपाठन भइरहेको छ ।अभिभावककाअनुसार मातृभाषा मात्रै जानेका बालबालिकाका लागि मातृभाषाको माध्यमबाट गरिएको शिक्षणसिकाइ असाध्यै राम्रो भएको शिक्षिका पाण्डेले बताइन् ।