बागमती प्रदेशमा तालिमप्राप्त प्रशिक्षार्थीहरूको रोजगार र स्वरोजगारसम्बन्धी अध्ययन
डा. लोक बहादुर लोप्चन
१.परिचय
बागमती प्रदेश बागमती प्रदेश सरकारसामाजिक विकास मन्त्रालय, प्रदेश प्राबिधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद् हेटौँडा, मकवानपुरको वार्षिक कार्यक्रम शीर्षकअन्तर्गत २.७.२५.४७८ मा तालिमप्राप्त प्रशिक्षार्थीहरूको रोजगार र स्वरोजगारसम्बन्धी उत्तरसमीक्षा (पोस्ट रिभ्यु) कार्यक्रम रहेको छ।यस संस्थामार्फत सीप विकास तालिम लिई सीप परीक्षण पश्चात रोजगार र स्वरोजगारको अवस्था पहिचान गरी आगामी दिनमा तालिम कार्यक्रमलाई मार्गनिर्देश गर्न सर्वेक्षण गरी प्रतिवेदन तयार गर्ने प्रयोजन परिपूर्तिका लागि यो कार्यक्रम निर्धारण गरिएको देखिन्छ।
२ अध्ययनका उद्देश्यहरू
यस सर्वेक्षणका प्रमुख उद्देश्यहरू निम्नानुसार रहेका छन्:
क) श्रम बजारमा सीपयुक्त कामदारको वास्तविक माग पहिचान गर्नु।
ख) उद्योग तथा व्यवसायको आवश्यकता र तालिमबाट उत्पादन भएका सीपबीचको अन्तर विश्लेषण गर्नु।
ग) सीप परीक्षण तथा प्रमाणपत्र प्राप्त व्यक्तिहरूको रोजगारी अवस्था अध्ययन गर्नु।
घ) परिषदबाट सञ्चालन गरिएका तालिम कार्यक्रमहरूको प्रभावकारिता मूल्याङ्कन गर्नु।
ङ) आगामी दिनमा आवश्यक पर्ने सीप, पेशा तथा श्रम मागको पूर्वानुमान गर्नु।
च) अध्ययनपश्चात विस्तृत सर्वेक्षण प्रतिवेदन तयार गर्नु।
३.अध्ययनको कार्यक्षेत्र (Scope of Work)
यस अध्ययनको निर्धारित कार्यक्षेत्र देहाय बमोजिमका कार्यहरू सम्पन्न गरिएको छः
क) बागमती प्रदेशका १३ वटै जिल्लामा सीप प्रमाणपत्र प्राप्त व्यक्तिहरू समेटी सर्वेक्षण डिजाइन तयार गर्नु।
ख) तथ्याङ्क सङ्कलनका लागि प्रश्नावली, चेकलिस्ट तथा अनुसन्धान उपकरण विकास गर्नु।
ग) प्रदेशको प्रत्येक जिल्लाबाट न्यूनतम २ जनादेखि १० जनासम्म सीप प्रमाणपत्र प्राप्त व्यक्तिसँग सुझाव तथ्याङ्क सङकलन गर्नु ।
घ) श्रम बजारमा माग भएका सीप, पेसा र क्षेत्रगत आवश्यकता विश्लेषण गर्नु।
ङ) रोजगारीमा समावेश हुन नसक्नुका कारणहरूको विश्लेषण गर्नु।
च) तालिम कार्यक्रम र श्रम बजारबीचको सम्बन्ध विश्लेषण गर्नु।
छ) नीतिगत तथा कार्यक्रमगत सिफारिससहित अन्तिम प्रतिवेदन तयार गर्नु।
४. अध्ययनसम्बन्धी नमुना छनोट र जनसङ्ख्या
यस अध्ययनका लागि परिषदबाट तालिमप्राप्त र सीप परीक्षण भएका प्रशिक्षार्थीहरूको उपलब्ध विवरणको तालिकीकरण गरी प्रारम्भिक अध्ययन र विश्लेषण गरिएको हो। जसमा विभिन्न सीप क्षेत्रगत पक्षहरूको विश्लेषण गरिएको छ। यसमा १३ जिल्लाका १४ सीप क्षेत्रहरूलाई समावेश गरी तालिम प्रदान गरिएको स्थान, परीक्षण समय र तालिम प्रदान गर्ने संस्थालाई समेत तालिकीकरण पश्चात अध्ययन सम्भाव्यताको आँकलन गरिएको छ।
यसमा १३ जिल्लाका विभिन्न पालिका र वडाहरूमा तालिम सञ्चालन गरिएको स्थान पहिचान गरी हरेक सीप क्षेत्रलाई समेट्ने गरी प्रति जिल्ला २ देखि १० जना प्रशिक्षार्थीलाई अध्ययनमा सूचकका रूपमा नमुना जनसङ्ख्या छनोट गरिएको हो। जसको विवरण अनुसूची १ र २ मा प्रस्तुत गरिएको छ।
यस अध्ययनका लागि सर्वेक्षणात्मक विधिअन्तर्गत सङ्ख्यात्मक र गुणात्मक अनुसन्धान विधिको प्रयोग गरिएको छ। जसमा प्रत्यक्ष सर्वेक्षणअन्तर्गत स्थलगत अध्ययनमा प्रश्नावली, अन्तर्वार्ता विधिका साथै भर्चुअल विधिमा भर्चुअल माध्यमबाट प्रश्नावली र अन्तर्वार्ताजस्ता कार्यमार्फत तथ्याङक सङ्कलन गरी तथ्याङक सङ्कलन, विश्लेषण र प्रतिवेदन लेखन कार्य सम्पादन गरिएको छ। अध्ययनका लागि परिषदको कार्यदेश र निर्धारित कार्यसीमाको आधारमा १३ वटा जिल्लाबाट सीप क्षेत्रगत सूचकलाई अनिवार्य छनोट गरी हरेक जिल्ला र सीप क्षेत्रबाट कम्तीमा २ जनादेखि १० जना सीप तालिम लिएका प्रशिक्षार्थीलाई सहभागी गराइएको छ।जसको लागि देहायअनुसार जिल्लागत रूपमा सीप क्षेत्रअनुसार तालिम सञ्चालन र सीप परीक्षण भएको स्थान सम्बद्ध तालिमप्राप्त प्रशिक्षार्थीहरूलाई सूचकका रूपमा लिइएको छ। अध्ययनमा नमुना छनोट गरिएका सीप क्षेत्र, जिल्ला र सहभागीको सङ्ख्या देहायको तालिकामा प्रस्तुत गरिएको छः
तालिका १
अध्ययनको नमुना छनोट (जिल्ला, सीप क्षेत्र र सहभागी सङ्ख्या)
| क्र.सं. | जिल्ला र ठेगाना | तालिमको क्षेत्र | सहभागी सङ्ख्या |
| १ | रामेछाप न.पा. ८, रामेछाप | ग्रामीण पशु कार्यकर्ता | ८ |
| २ | नीलकण्ठ न.पा., ४, धादिङ | वेटर/वेट्रेस | ३ |
| ३ | विदुर न.पा. ५, नुवाकोट | व्युटिसियन | ५ |
| ९ | भरतपुर म.न.पा.११, चितवन | केयर गिभर | ६ |
| १० | महालक्ष्मी न.पा.,लामाटार ९, ललितपुर | कम्प्युटर हार्डवेयर | ५ |
| ११ | चौतारा साँगाचोकगढीन.पा.६, सिन्धुपाल्चोक | मोबाइल मर्मत | २ |
| १२ | तिनपाटन गा.पा. २, सिन्धुली | प्लम्बर | २ |
| १३ | विदुर २ न.पा., नुवाकोट | सिलाइ कटाइ | ४ |
| १४ | भिमेश्वर न.पा., दोलखा | वरिष्टा | ५ |
| १५ | चाँगुनारायण न.पा.४, भक्तपुर | फेसन डिजाइन | ३ |
| १६ | बूढानीलकण्ठ न.पा.१२, काठमाडौँ | इसिडिएफ | ३ |
| १७ | बनेपा न.पा. ३, काभ्रेपलाञ्चोक | कुक | ३ |
| १८ | पनौती न.पा.५, काभ्रेपलाञ्चोक | मोटरसाइकल मर्मत | २ |
| १९ | हेटौँडा उ..न.पा.११, मकवानपुर | इलेक्ट्रिसियन | २ |
| २० | पार्वतीकुण्ड गा.पा.४, रसुवा | इलेक्ट्रिसियन | १ |
| २१ | उत्तरगया गा.पा.१, रसुवा | वेटर/वेट्रेस | १ |
| जम्मा | ५५ |
यसका साथै अध्ययनका लागि सर्वेक्षण संयोजक, तथ्याङक सङकलन, तथ्याङक विश्लेषण र सूचना प्रविधि विज्ञ समेतको संलग्नतमा अध्ययनको तथ्य वा तथ्याङक विश्लेषण गरी सर्वेक्षणको प्राप्ति र निष्कर्ष निकालिएको छ। यसका लागि केही सहभागीको मामला अध्ययनलाई समेत आधार बनाई सोको गुणात्मक विश्लेषणका साथ गहन अध्ययन गरिएको छ। यसका लागि देहायको जिल्ला, स्थानबाट सीप क्षेत्रगत नमुना जनसङ्ख्या छनोट गरी सोही आधारमा अध्ययन सर्वेक्षण कार्य सम्पन्न भएको छ । तर अध्ययन पूर्व प्रस्तावनामा प्रस्तुत तालिका २ अनुसारका जिल्ला, सीप क्षेत्र र स्थानको आधारमा अध्ययनसम्बन्धी प्रारूप तयार गरिएको थियो। त्यसैमा आधारित भई तालिका १ बमोजिमको जिल्ला, सीप क्षेत्र र सहभागीको निर्क्यौल गरी अध्ययन कार्य सम्पादन गरिएको छ ।
४ स्थलगत अध्ययन कार्यक्रम र प्रतिवेदन लेखन
यस अध्ययन सर्वप्रथम रामेछाप स्थित प्राविधिक शिक्षालय रामेछाप, नगरपालिकाको पशु सेवा तालिम केन्द्रको संयोजकत्वमा पशु सेवा सम्बन्धित तालिम प्राप्त प्रशिक्षार्थीहरूसँग एक दिने अन्तर्क्रियात्मक कार्यक्रम सञ्चालन गरियो। यसमा तालिम केन्द्रका संयोजक विजय श्रेष्ठसहित बहुभाषिक शिक्षा तथा सञ्चार प्रा.लि.का सञ्चालक संगिता तामाङसहित अध्येक्षता डा. लोक बहादुर लोप्चन र सहायक कर्मचारीहरूबाट अन्तर्क्रिया गर्नुका साथै प्रश्नावली भराई तथ्याङक सङ्कलन गरिएको थियो। त्यसपछि सिन्धुपाल्चोक जिल्ला चौतारागढी साँगाचोकगढी नगरपालिकामा मोबाइलमर्मतसम्बन्धी तालिम प्राप्त गरेको प्रशिक्षार्थीसँग व्यक्तिगत रूपमा भेटघाट गरी तालिमसम्बन्धी विवरण सङकलन गरिएको थियो भने थप एक जनासँग फोन संवादमार्फत विवरण सङ्कलन गरियो। त्यसपछि नुवाकोट जिल्लाको विदुर नगरपालिकामा ब्युटिसियन सम्बन्धी तालिमप्राप्त ५ जना सहभागीसँग अन्तर्क्रिया र प्रश्नावली भराई विवरण सङ्कलन गरियो। त्यसै गरी यसै जिल्लाबाट सिलाइ कटाइसम्बन्धी प्रशिक्षकबाट थप ४ जना प्रशिक्षार्थीहरूसँग प्रश्वावली भराई विवरण सङ्कलन गरिएको थियो ।
धादिङ जिल्लाको नीलकण्ठ नगरपालिकामा वेटर/बेट्रेस तालिम लिएका ३ जना सहभागीसँग प्रत्यक्ष संवाद र प्रश्वावली भराई सूचना सङकलन गरियो। त्यसै गरी चितवन जिल्लाको भरतपुर महानगरपालिकामा सहभागी ५ जना केयर गिभर तालिमप्राप्त प्रशिक्षार्थीहरूसँग अन्तर्क्रिया र प्रश्नावली भराई सूचना सङ्कलन भएको छ। साथै मकवानपुर जिल्लाबाट भने टेलिफोन संवादमार्फत् २ जना इलेक्ट्रिसियन तालिमप्राप्त प्रशिक्षार्थीसँग कुराकानी गरी आवश्यक र सूचना तथ्य सङ् कलन कार्य गरिएको छ।त्यस्तै सिन्धुली जिल्लाको कमलामाई नगरपालिमा प्लम्बरसम्बन्धी तालिम लिएका एक जनासँग प्रत्यक्ष अन्तरवार्ता र प्रश्नावली भराई सूचना सङ्कलन गरिनुका साथै अर्को एक जनासँग निजको माध्यमाट प्रश्नावली फारम भराई विवरण सङ्कलन भएको छ । त्यसै गरी रसुवा जिल्लाको हकमा इलेक्ट्रिसियनसम्बन्धी तालिम लिएका २ जना र वेटरसम्बन्धी तालिम लिएका एक जनासँग टेलिफोनमार्फत विवरण सङ्कलन र प्रविष्टिको कार्य सम्पन्न गरिएको हो ।
काभ्रेपलाञ्चोक लगायत उपत्यकाका अन्य जिल्लाहरूमध्ये काभ्रेपलाञ्चोक जिल्लाको पनौतीमा मोटरसाइकल मर्मतसम्बन्धी तालिम प्राप्त दुई जनासँग प्रत्यक्ष संवाद र प्रश्नावली भराएर विवरण लिइएको छ। त्यस्तै काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कुकसम्बन्धी तालिम लिएका तीन जनासँग छलफल गरी सूचना सङ्कलन भएको छ। यसै गरी भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिकामा फेसन डिजाइनसम्बन्धी तालिमप्राप्त ३ जना प्रशिक्षार्थीहरूसँग अन्तर्क्रिया र प्रश्नावली भराई तथ्याङ्क सङ्कलन कार्य गरिएको छ। ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका लामाटारस्थित महालक्ष्मी प्राविधिक शिक्षालयको पहलमा कम्प्युटर हार्डवेयरसम्बन्धी तालिम लिएका ५ जना प्रशिक्षार्थीसँग अन्तर्क्रिया र प्रश्नावली भराई तथ्य सङ्कलनको काम सम्पन्न गरिएको छ।काठमाडौँ जिल्लामा इसिडिएफ तालिमका प्रशिक्षार्थीसँग बूढानीलकण्ठ वडा नं. १२ मा ३ जना प्रशिक्षार्थीहरूसँग अन्तर्क्रिया गरी प्रश्नावली भराएर यससम्बन्धी आवश्यक तथ्य सङ्कलन भएको छ ।
५.निष्कर्ष
समग्रमा छोटो समयसीमा र अध्ययनका लागि सीमित स्रोत साधनका बाबजुद प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषदको आ.व.२०८२/८३ मा यस प्रदेशमा सञ्चालित सीप विकास तालिमका प्रशिक्षार्थीहरूको रोजगारी र स्वरोजगारीसम्बन्धी उत्तर समीक्षा कार्यक्रम सम्पन्न भएको छ। यस अध्ययनमा सञ्चालित तालिमको सबल र सुधारणीय पक्षहरूको पहिचान भएको छ भने सीप विकस तालिमलाई प्रभावकारी बनाउने उपायहरू सुझाइएका छन् ।यस क्षेत्रको सुधारका लागि सुझाव र सिफारिसहरू प्रस्तुत गरिएको छ जुन क्षेत्रको नीतिगत र कार्यगत सुधारका लागि कार्यान्वयन हुनेछ।