भाषिक षड्यन्त्रकारीहरू सैतान हुन्: मन्त्री राजेन्द्र श्रेष्ठ
काठमाडौँ, २०७८ साल फागुन ९ गते ।
फ्रेबुअरी २१ का दिन विश्वभरि नै टेक्नोलोजी फर मल्टिलिङगल लर्निङ, च्यालेन्जेज एन्ड अपर्ट्यनिटिज नाराका साथै मनाउँदै छ । नेपालमा पनि भाषा आयोग, नेपाल प्रज्ञा प्रतिष्ठान, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानहरूबाट विशेष कार्यक्रमका साथ यस वर्षको मातृभाषा दिवस मनाइँदैछ । नेपाल प्रज्ञा प्रतिष्ठानको यसै सन्दर्भमा फागुन ८ गते मातृभाषा विषयक गोष्ठीको आयोजना गरिएको थियो भने ९ गते प्रज्ञा मातृभाषा कविता वाचन कार्यक्रम राखेको छ। त्यसरी नै भाषा आयोगले यस अवसरमा भर्चुअल माध्यमबाट लोपोन्मुख भाषाहरूको पार्श्वचित्र तयारी गराई प्रस्तुतीकरण, छलफल र प्रकाशन गर्ने कार्यक्रम तय गरेको छ। अन्तर्राष्ट्रिय आदिवासी दशक (२०२२-२०३२) को सन्दर्भमा आयोजित यस कार्यक्रममा युनेस्कोको नेपाल कार्यालय र युनेस्कोका नेपाल राष्ट्र्रिय आयोगको समेत सहकार्य रहेको छ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय उत्थान प्रतिष्ठानले मातृभाषा राष्ट्रिय पुरस्कार तथा मातृभाषा कविता वाचन कार्यक्रम आयोजना गरेको छ। यस प्रतिष्ठानका अनुसार यस वर्षको मातृभाषा राष्ट्रिय पुरस्कार कवि एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वैरागी काँइलालाई प्रदान गरिएको छ। कार्यक्रममा मातृभाषी कविहरूले मातृभाषामा कविता वाचन गरिएका थिए ।उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित सङ्घीय मामिमा तथा स्थानीय विकास मन्त्रीले सङ्घीय संरचना भए पनि आचरण र व्यवहारबीच तादात्यता नभएको बताउनुभयो। सङ्घीय व्यवस्थापनका लागि आवश्यक कानुन, ऐन, नीति बनाउने क्रममा संविधानतःप्रबन्ध गरिएको विशेष, स्वायत्त र संरक्षित क्षेत्रको लागि ऐनको मस्यौदा तयार पारी नेपाल सरकार समक्ष पेस गरिएको उल्लेख गर्नुभयो ।नेपालमा भाषा,संस्कृति र जातिमाथि समन्यायिक व्यवहार हुन नसकेको उल्लेख गर्दै भाषाको सन्दर्भमा षडयन्त्र हुन गरेको चर्चा गर्नु भयो र भन्नुभयोः “भाषिक षडयन्त्रकारीहरू सैतान हुन् ।” कार्यक्रम आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्तीको सभापतित्वमा भएको थियो । आदिवासी जनजाति आयोगको अध्यक्ष रामबहादुर थापा मगरसहित यस कार्यक्रममा यस वर्षको राष्ट्रिय मातृभाषा पुरस्कारका निर्णायक समितिका संयोजक प्रा.डा.चुन्दा बज्रचार्य, भाषाविद अमृत योञ्जन तामाङ, डा.तारामणि राई र भाषा आयोगका निवर्तमान का.मु.सचिव डा.लोकबहादुर लोप्चनको उपस्थिति रहेको थियो ।