साहित्यकार दुबसु क्षेत्री उर्फ जापानका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदीलाई मण्डनदेउपुरमा स्वागत तथा सम्मान
मण्डनदेउपुर काभ्रे। २०७९ साल साउन ३ गते ।
मण्डनदेउपुर वडा नं.२ स्थित बालुवापाटी स्वास्थ्य चौकीका लागि कवि दुबसु क्षेत्री उर्फ जापानका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदीकोको पहल र सहजीकरणमा भारतीय राजदूताबासमार्फत एम्बुलेन्स प्राप्त भएको छ। महामहिम राजदूत डा.दुर्गाबहादुर क्षेत्रको स्वागत एवम् सम्मानको लागि बालुवापाटी स्वास्थ्य चौकीमा एक स्वागत एवम् सम्मान कार्यक्रम आयोजना गरी उहाँको योगदानका प्रति आभार व्यक्त गरियो । कार्यक्रमको अध्यक्षता वडा नं. २ का अध्यक्ष राजकुमार मल्लले गर्नुभएको थियो भने कार्यक्रममा राजदूत सुवेदी प्रमुख अतिथि रहनुभएको थियो।
राजदूतलाई स्वागत र सम्मान गर्ने उक्त कार्यक्रममा मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाईबा, उपप्रमुख विष्णुमणि नेपालसहित प्रमुख प्रशासकीय अधिकृत डा.लोकबहादुर लोप्चनको उपस्थित रहेको थियो। स्थानीय अभिभावक, स्वास्थ्यकर्मीका साथै जनताको उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रममा राजदूत सुवेदीलाई माला र खादा लगाई सम्मानित गरिएको थियो ।
कार्यक्रममा नगर उपप्रमुख विष्णुमणि नेपालले ग्रामीण जनताको स्वास्थ्य सेवाका लागि भारतीय राजदूतावासमार्फत प्राप्त यो एम्बुलेन्सबाट यस क्षेत्रको जनताको स्वास्थ्य सेवाका लागि उच्च योगदान पुग्ने भएकोले यसका सहजकर्ता राजदूत सुवेदीप्रति विशेष आभार व्यक्त गर्नुभयो।साथै उहाँले जापानका लागि नेपाली राजदूत दुबसु क्षेत्रीसँग मण्डनदेउपुरको भगिनी सम्बन्ध कुनै जापानी नगरसँग जोड्न अनुरोध गर्नुभयो। त्यसैगरी नगर प्रमुख टोकबहादुर वाइबाले महामहिम राजदूतबाट मण्डनदेउपुर बालुवापाटी स्वास्थ्य चौकीका लागि एम्बुलेन्स उपलब्ध गराई उच्च योगदान गर्नु भएकोमा धन्यवाद र आभार व्यक्त गर्नुभयो ।
राजदूत सुवेदीले मन्तव्यको क्रममा आफूले ३ वटा कार्यहरूमध्ये मण्डनदेउपुरमा पहिलो कार्य एम्बुलेन्स उपलब्ध गराउन सकेको बताउनु भयो । त्यसपछि विद्यालयका लागि बस र विद्यालयमा पुस्तकालय उपलब्ध गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।यी सम्बन्ध र कार्यको जश चाहिँ सहजकर्ता मिनु लामालाई दिनुभयो ।साथै उहाँले नगरकोटमा आफ्नो जग्गा भएकोले आफू पनि मण्डनको नागरिक भएको कर्तव्य निर्वाह गर्न पाउँदा खुशी व्यक्त गर्दै आगामी दिनमा मण्डनदेउपुर नगरपालिकाको सम्बन्ध जापानका कुनै नगरसँग गर्न पहल गरिने वचन दिनुभयो ।साथै यस स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई जापानमा १ महिनाको तालिमको अवसर दिलाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रमका अध्यक्ष एवम् वडा नं.२ का अध्यक्ष राजकुमार मल्ले महामहिम राजदूत सुवेदीबाट बालुवापाटी स्वास्थ्य चौकीमा एम्बुलेन्स उपलब्ध गरी विशेष योगदान दिनुभएकोमा आभार व्यक्त गर्नुभयो। नगरकोट जस्तो पर्यटकीय क्षेत्रलाई विश्वस्तरीय बनाउन राजदूत सुवेदीको तर्फबाट भावी दिनमा सहयोग मिल्ने अपेक्षा राख्नुभयो ।