नेपाल भाषा विशेष (क्रमशः)

 

प्रा.डा. ओमकारेश्वर श्रेष्ठ

पृष्ठभूमि

शिक्षाको शुरुवात आमाको काखबाट हुन्छ भन्ने प्रशिद्ध उक्ति समाजमा विद्यमान छ । समाज निर्माणमा व्यक्ति विशेषको योगदान त्यही शिक्षाको कारणले भएको पाइन्छ।नेपाली समाज विविध भाषाभाषिको संगमस्थल हो । नेपालमा सन २०११को जनगणना अनुसार १२३ भाषा बोल्ने १२५ जातिका मानिस बस्छन् । यस्तो विविधताको देशमा हरेक जातजाति, भाषाभाषिको विषयमा विस्तृत अध्ययन गर्नु देशको निधि निर्माण गर्नु हो । नेपालमा चिनिया-तिब्बती, भारोपेली, आग्नेय र द्रविड गरी चार परिवारका भाषाहरू पाइन्छन् । संख्यामा ठूलो सानो हुनसक्छ, तर गरीमा र महत्ताका हिसाबले सबै भाषा उत्तिकै सशक्त छन् । यस लेखमा चिनिया-तिब्बती परिवारको भोट-बर्मेली उपपरिवाराभित्रको मध्य हिमाली शाखाको नेवार परिवारको नेपालभाषाको बारेमा संक्षिप्त प्रकाश पार्ने प्रयत्न गरिएको छ।

परिचय

नेपालभाषा नेवार जातिले बोल्ने भाषा हो ।नेवार शब्द विभिन्न जातजातिको समिश्रणबाट बनेको सामुदायिक नाम हो । नेवार शब्द नेपाल (स्थाननाम) बाट विकास भएको देखिन्छ।नेपालले सुरुमा काठमाडौ उपत्यकालाई बुझाउने गरिएकोमा पृथ्वीनारायण शाहको राज्य विस्तारसँगै यस शब्दको अर्थ विस्तार भई देशवाची बनेको छ । बाबुराम आचार्य  (आचार्य, विसं २०५२) काअनुसार नेवार, नेवालनेवा:को मूल एउटै देखिन्छ । मल्लकालमा नेवारहरूले बोल्ने भाषालाई नेपालभाषा भनिन्थ्यो । नेवारहरू देशभित्र  र बाहिर छरिएर भारतको विभिन्न ठाउँमा समेत बसोबास गरी आएका छन् । नेवारहरूले बोल्ने भाषा चिनियाँ भोट (Sino-Tibetan Family (ST)) परिवारको भोट-बर्मेली (Tibeto Burman Sub-family (TB)) शाखाअन्तर्गतको भाषा हो । यस भाषामा १४औं शदीदेखि नै साहित्य सिर्जना भैसकेको देखिन्छ । यस भाषाको प्राचीनताको बारेमा यसैबाट अनुमान गर्न सकिन्छ ।

नेवारहरूले आफ्नो भाषालाई आधिकारिक  [2]रूपमा नेपालभाषा, जनबोलीमा नेवा:भाए भन्छन् । गैह्रनेवार तथा विदेशीहरूले नेवारी भन्ने गरेको पाइन्छ । तर नेवार अभियन्ताहरूले भाषा र जातिको एउटै नाम नेवार (D. R. Shakya 1997, 41) भनेको मन पराउँछन् । नेवार मूलत: काठमाडौं उपत्यकाका बासिन्दा हुन् । काठमाडौँ उपत्यकाभित्र ४७% र उपत्यका बाहिर ५३% नेवारहरू रहेको तथ्य छ (CBS 2003)।

सन् २०११को जनगणनाअनुसार मातृभाषाको आधारमा नेपालमा १२३ भाषी छन्।तीमध्ये चीन-तिब्बती (ST) परिवारभित्र ७९, भरोपेली (IA) परिवारका १९, आग्नेय(AA) २, ड्रविड (DR) २, कोक्ल्याँटो (Language Isolate) १ छन् (Watters 2005, 17)। त्यसमा वक्ताको हिसाबमा नेपाली ४४.६% (१,१८,२६,९५३), मैथिली ११.७% (३०,९२,५३०), भोजपुरी ६% (१५,८४,९५८), थारु ५.८% (१५,२९,८७५), तामाङ ५.१% (१३,५३,३११), नेवार ३.२% (८,४६,५५७), बज्जिका ३% (७,९३,४१८), मगर ३% (७,८८,५३०), डोटेली ३.% (७,८७,८२७), उर्दु २.६% (६,५१,५४६) छन् (केतवि २०११) । नेपालभाषा वक्ताको हिसाबमा देशको छैठौं ठूलो भाषा हो ।

आनुवंशिक रेखा (Genealogical Affiliation)

माइकल नुनम (Noonam 2003, 23)  को विस्तृत चित्रलाई सङ्क्षेपमा नेपालभाषाको आनुवांशिक रेखा यसरी प्रस्तुत गर्न सकिन्छ।आनुवांशिक र प्रजातिपरक (Typological Classification) धेरै कारणले विवादास्पद देखिएको छ। पहिलोः नेपालभाषा भोट-बर्मेलीउपशाखाको बोदिस समूहको हो कि ? हिमालय समूहको हो ? दोश्रोः यस भाषामा दुई प्रकारका क्रिया सङ्गति रहेका छन् । काठमाडौ उपत्यकामा आत्म र पर (Conjunct- disjunct) को सङ्गति देखिन्छ भने दोलखामा वचन सङ्गति पाइन्छ । यस्तो अवस्थामा दोलखा र पहरीको छुट्टै उपसमूह बनाउनुपर्ने भएको छ । पछि गएर ती त्यस उपसमूहले छुट्टै भाषाको आकार लिन सक्ने पनि देखिन्छ । फेरि संस्कृत, प्राकृत र अन्य भारोपेली भाषाहरूसितको लामो सहबासले गर्दा अत्याधिक मात्रामा व्याकर्णिक र शाब्दिक तहमा ती भाषाहरूले योगदान दिएकोले पनि भाषाको आनुवांशिक वर्गीकरणमा स्पष्ट नभएको हो (Kansakar 1997, 11-28)  । माथिको वर्गीकरणलाई क्रीश वाइल्ड (२०१२)ले यसरी सरलीकरण गरे ।

नेपालभाषाका भेद  

यस भाषाका वक्ता सघन रूपमा नेपाल खाल्डो तथा छरछिमेकका जिल्लामा केन्द्रीत भएको देखिन्छ । जिल्लागत हिसाब ७७ जिल्लामा (पहिलेको ७५जिल्ला) छरिएका छन । यस भाषाको भौगोलिक सामाजिक भाषाभेद देखिएका छन् । नेपालबाहेक भारतका पूर्वी नौवटा राज्यहरू सिक्किम, दार्जिलिङ, सिलगुडी, आसाम, गुहाटी, नैनीताल, गढवाल, अरूणाचल, मणिपुर तथा भुटान, बर्मामा सघनरूपमा बसेका छन् । हाल अष्ट्रेलिया, यूरोप तथा उत्तरी अमेरीका पनि सघन रूपमा बसेका छन् ।

भूगोलको हिसाबमा येँयल (काठमाडौँ-पाटन), खोप (भक्तपुर), दोलखाए (दोलखा) भाषा देखिएका छन् । यसका ससाना उपभेद पनि देखिन थालेका छन् । सामाजिक रूपमा पहरी, गमाल, बलामी, र गोपाली देखिएका छन् ।

पहरी तत्कालीन आठ अञ्चल, ४०जिल्ला र ११०गाविसमा फैलिएका छन् (CBS 2003) । हाल आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठान (आजराउप्र) ले आफ्नो सूचीमा नेवार जातिलाई नम्बर २७ र पहरीलाई नम्वर २८मा अलग अलग समावेश गरिएको छ (NFDIN 2003, 54) ।

यस भाषाका येँयल (काठमाडौँ-पाटन), खोप (भक्तपुर), दोलखा, पही (पहरी) र चिलं (चित्लाङ) गरी पाँच भेद छन् (D. R. Shakya 1992), (जोशी विसं २०६०, क-ज)  । येँयल, खोप, दोलखा, र चिलं भौगोलिक भेद हुन् भने पही सामजिक भेद हो ।

समाजभाषावैज्ञानिक सर्भेक्षणका क्रममा यस अध्येताले सन् २००५ देखि २०१७ सम्म क्षेत्रगत रूपमा पाइएका भेदलाई पनि समावेश गरी अध्ययनका लागि यहाँ संसोधनसहित प्रस्तुत गरिएको छ । उपर्युक्त पाँच भेदलाइ मूलतः येँ-यल, खोप, दोलखा र पही गरी चार भेदमा समेटिएको छ ।

येँयल ले काठमाडौ खाल्डोको  काठमाडौँ र पाटन शहरका साथै पूर्वी, दक्षिणी र पश्चिमी ग्रामीण भेक (हालको १८ नगरपालिका) लाई समेट्द्छ । साथै तराईका जिल्लाहरूमा पनि यस्को पकड देखिन्छ । यसमध्ये खोपअन्तर्गत सबैभन्दा धेरै उपभेद देखिएका छन् । खोप, थिमि बोदेनकदेश (ठीमी – बोडे – नकदेश), नालासाङ्गाभोँत (नाला – सांगा – बनेपा), धौख्यःखम्पुचौकोट (धुलिखेल – श्रीखण्डपुर – चौकोट), पन्ति खोपासी (पनौति – खोपासी) गरी पाँच भेद छन् । पही भित्र गमाल, पही, गोपाली र बलामि चार उपभेद छन् (Shrestha 2010, 1)। दोलखाको द्वालखाए, तौथली, दुति र लिस्ती गरी चार उपभेद छन् । पहीको आफ्नै उपभेद पनि तौखेल, शिखरपा, बोसन, खोपासी, र थोकरपा पाँच छन् । चित्लाङको उपभेदमा बलामि, गमाल, र गोपाली गरी तीन सामाजिक उपभेद देखिएका छन् । बलामिको चित्लाङ बाहेक टेकानपुर (थानकोट), सितापाइला, रानीवन (बालाजु), कागतीगाउँ (ओखरपौवा) उपसहायकभेद छन् । गमालको चिलं (चित्लाङ) र संगू (प्याङगाउँ) गरी दुई भेद छन् । गोपालीको तिष्टुङ, चिलं र थक्वाः(थानकोट) तीन उपभेद छन् । जम्मा जम्मी नेपालभाषाका २८ भेद,उपभेद र सहायक भेद देखिएका छन् । यो तालिका हेर्दा पही भेदमा सबैभन्दा धेरै उप र सहायक भेदको सङ्ग्रह देखिन्छ ।

चित्लाङ उपत्यकामा गमाल, बलामि र पोडेको पकड देखिएको छ (Joshi 2012, 117)। चित्लाङ उपत्यका  र अन्यत्रको बलामीको स्थानीय भेदहरू देखापर्न थालिसकेका छन् । चित्लाङ र ओखरपौवामा वर्णविज्ञान समेत फरकफरक देखा परिसकेका छन् (Gautam 2011), (ओ. श्रेष्ठ नेसं ११३७ (विसं २०७३, सन् २०१७)) । बलामीले सिङ्गो भाषाको आकार लिन खोजेको देखिन्छ । पहरीको भेद शब्दको तहमा देखिएको छ । पहरीका अभियन्ताहरूले नेपालभाषाबाट अलग्ग राखी आदिवासी तथा जनजातिको सूचीमा अलग्गै दर्ता गराइसकेका छन् । आउँदो दिनमा नेपालभाषाको भेदको बारेमा बृहत्तर अध्ययनको आवश्यकता देखिन्छ । यति हुँदा पनि आफ्नो समुदायमा आआफ्नै भाषाको माध्यममा कुराकानी गरिरहेको पाइन्छ । तर येँ-यलका वक्ताहरूसित आफ्नो भाषामा कुरा गर्न रूचाउँदैनन् । यी समूहका मानिसहरू येँ-यल भाषा बुझ्छन्  र बोल्छन् पनि । यसमानेमा यिनीहरू बहुभाषी हुन् । यो बहुभाषिकता येँ-यलले कायम गरेको देखिँदैन ।

तानसेन नगरमा काठमाडौँ उपत्यकाका तीन शहर काठमाडौँ, पाटन र भक्तपुरको समिश्रण पाइन्छ । यस शहरमा तीनवटा शहरका मानिसहरुले आआफ्नै भाषा बोल्छन् र एक आपसमा बुझ्छन् । भाषा संरक्षणको राम्रो उदाहरण यहाँ विद्यमान छ ।

सामान्य हिसाबमा नेपालभाषाको भेद बुझ्दा काठमाडौँ उपत्यकामा उत्तरपुर्वी भागमा खोप र अन्यत्र यलभाषाको प्रभाव देखिन्छ । त्यस्तै तत्कालीन सगरमाथा अञ्चलदेखि पश्चिमका सवै भागमा खोपनेपालभाषाको प्रभाव छ भने बाँकी जिल्लामा यल नेपालभाषाको प्रभाव देखिन्छ ।

 नेपालभाषाको अवस्था

नेपालभाषाको दैनन्दिनी काम गर्न हाल देवनागरी लिपिमा लेख्ने गरिएको छ । यो प्रचलन नेपालभाषा साहित्यका पुनरजागरण कालका चार हस्तीमध्ये गद्यगुरू पदवीबाट सम्बोधित पं. निष्ठानन्द बज्राचार्यले चलाउनुभयो।अष्टसहस्रिका प्रज्ञापारमिताको २१वटा श्लोकलाई अनुवाद गरी प्रज्ञापारमिता देवीया एकविंशति श्लोकया भाषासहीत देवनागरी लिपिमा नेसं १०२९ (ईसं१९०९)मा प्रेसबाट निकाल्नु भयो । यो पुस्तक नेपालभाषामा पहिलो मुद्रित पुस्तक हुनपुग्यो  र देवनागरीलिपिको विधिवत प्रारम्भ पनि यहीबाट भएको मान्नुपर्छ (क. मल्ल नेसं १०९९, १) ।

नेपालभाषामा लेखिएका उपलब्ध अभिलेखमा करीब ९०प्रतिशत प्रचलित नेपाललिपिमा लेखिएको पाइन्छ । केही केही भुजिंमोल तथा रञ्जनामा पनि पाइन्छ । रञ्जना विक्रमको १२औं (नेसं.२२० अर्थात सम्वत् आलृ ६ कार्तिकशुक्लपंचम्यां) शदीमा रञ्जना अक्षर प्रयोग गरी उष्णीषविजय धारिणी ग्रन्थ लेखिएको  देखिन्छ (राजवंशी विसं२०५९, २८) । यो अभिलेख राष्ट्रिय पुस्तकालय नं १६६मा सुरक्षित छ। रञ्जनाको पूर्वरूप सिध्दमलिपिबाट ईसं३०८ (विसं ३६५)मा चीनमा ललितविस्तर (भगवान बुध्दको जीवनी)को अनुवाद भइसकेको देखिन्छ (राजवंशी विसं२०५९, १), (Chaudhary 1986, 13) । उक्त अनुवादमा सिध्दमलिपिको नाम स्पष्ट नलेखिएपनि ६४ प्रकारका अक्षरको नाम दिइएको छ[3] । पाँचौ सदीको पहिलो चौथाइमा सिध्दमलिपिको एक अध्याय नै राखेर किताब छापियो । महापरिनिर्वाण सूत्रको अनुवादमा ४२ अक्षर समावेश गरिएको छ ।

अनन्त चौधरीका अनुसार ब्राह्मीलिपिको आनुवांशिकता यसरी गएको छ – ब्राह्मी > उत्तरीशैली > गुप्तलिपि > कुटिललिपि > नागरी > बांगला > नेवाः (चौधरी सन् १९७३, ५) ।कलिन मसिकाले यसरी प्रस्तुत गरेः  ब्राह्मी (६शदी) > उत्तरीगुप्ता (४-५शदी) > कुटिला / सिध्दमात्रिका (८-१०शदी) > उत्तरकुटिला / पूर्वबंगाली (४-५शदी) > नेवाः (Masica 1991, 133-153) ।

काशीनाथ तमोटले यसलाई नेपाली संस्करण बनाएर यसरी प्रस्तुत गरेः ब्राह्मी > पूर्व लिच्छवी > उत्तर लिच्छवी > नेपाललिपि  र त्यसपछि नेपाललिपिका तीन शैली अर्थात फोन्ट (क) प्रचलित (ख) रञ्जना (ग) भुजिंमोल (तमोट विसं २०४८, ५-१२)। विसं २०१७ सालमा नेपाल सरकार, पुरातत्व विभागले गुप्तालिपिलाई पूर्वलिच्छवी र कुटिला लिपिलाई उत्तरलिच्छवी नाम राख्ने निर्णय गरेर नेपालीकरण गरे (राजवंशी विसं२०५९, ३)।

प्रेसबाट छापिएको अक्षर पाएपछि आफ्ना अक्षरहरूप्रति नेपालीहरू उदासीन भए । पन्नाप्रसाद वैद्यको नेपालदेशया अक्षरबोध नेसं १०७० (ईसं १९५०) र नेसं १०७३ (ईसं १९५३) मा पं हेमराज शाक्यको नेपाललिपि सङ्ग्रह प्रकाशन भएपछि नेपालीहरूमा आफ्ना अक्षरप्रति पुनःजागरण आएको मानिन्छ (क. मल्ल नेसं १०९९, ii-iii)

 

[3] शंकरमान राजवंशी(२०५९;२)ले भारतीय प्राचीनमलिपिमाला पृष्ठ१७लाई उध्दृत गरी ६४लिपिको नाम यसरी दिएका छन्- (१) ब्राह्मी, (२) खरोष्ठी, (३) पुस्करसारी, (४) अंग, (५) वंग, (६) मगध, (७) मांगल्य, (८) मनूष्य, (९) अंगूलीय, (१०) शकारि, (११) ब्रह्मवल्ली, (१२) द्राविड, (१३) कनारि, (१४) दक्षीण, (१५) उग्र,  (१६) संख्या, (१७) अनुलोम, (१८) ऊर्ध्वधनु, (१९) दरद, (२०) खास्य, (२१) चिन, (२२) हूण, (२३) मध्याक्षविस्तर, (२४) पुष्य, (२५) देव, (२६) नाग, (२७) यक्ष, (२८) गन्धर्व,  (२९) किन्नर, (३०) महोरग, (३१) असुर, (३२) गरूड, (३३) मृगचक्र, (३४) चक्र, (३५) वायुमरु, (३६) भौमदेव, (३७) अंतरिक्षदेव, (३८) उत्तरकुरूध्दीप, (३९) अपरगौडादि, (४०) पूर्वविदेह, (४१) उत्क्षेप, (४२) निक्षेप, (४३) विक्षेप, (४४) प्रक्षेप, (४५) सागर, (४६) बज्र, (४७) लेखप्रतिलेख, (४८) अनुद्रुत, (४९) शास्त्रवर्त, (५०) गणावर्त, (५१) उत्क्षेपावर्त, (५२) विक्षेपावर्त, (५३) पादलिखित, (५४) द्विरुत्तरपदसंधिलिखित, (५५) दशोत्तरपतसंधिलिखित, (५६) अध्याहारिणी, (५७) सर्वरुतसारसंग्रहणी, (५८) सर्वसारसंग्रहणी, (५९) विद्यानुलोम, (६०) विमिश्रित, (६१) ऋषितपस्तप्त, (६२) धरणीप्रक्षेपणा, (६३) सर्वौषधनिष्यन्द, (६४) सर्वभूतरुद्ग्रहणीलिपि। 

लेखक त्रिभुवन विश्वविद्यालय, नेपालभाषा केन्द्रीय विभागका प्रमुख हुनुहन्छ।

You might also like