नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन र नेतृत्वको सवाल

नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन र नेतृत्वको सवाल

 संगिता पाख्रीन ।
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन यही मिति २०८१ असार १६-२० काठमाडौमा सम्पन्न हुने निर्णय भएअनुसार महाधिवेशनको निम्ति सम्पूर्ण तयारीहरु लगभग पूरा भइसकेको छ । नेता कार्यकर्तामा एक प्रकारले उल्लासमय र उमङ्गमय वातावरण छाएको देखिन्छ । पार्टीलाइ थप गतिशील बनाएर भरोसायोग्य मूल कम्युनिष्ट शक्तिको रुपमा स्थापित गर्न सकिने दृढ विश्वास कार्यकर्तामा देखिन्छ ।

नेकपा- एकीकृत समाजवादीले महाधिवेशनमार्फत के कस्तो फैसलाहरु गर्ला त ? राजनैतिक वैचारिक कार्यदिशा के कस्तो अबलम्बन गर्ला त ? यो केवल नेकपा- एकीकृत समाजवादीमा समाहित नेता कार्यकर्ताहरुको मात्र चासोको विषय रहेन,यो विषय सम्पूर्ण नेपाली राजनैतिक दल तथा राजनीतिमा चासो राख्ने स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपालीहरुको चासो र जिज्ञासाको विषय बनेको छ र सम्बन्धित सरोकारवाला सबै दल, संस्था र व्यक्तिहरुले बडो उत्सुकताका साथ हेरिरहेका छन् ।

स्वभावैले कुनै पनि दलको महाधिवेशनको कार्यभार भनेको पार्टीको विगतको कार्य प्रगति, पार्टीले विगतमा अवलम्बन गरेको वैचारिक कार्यदिशा र समग्र आन्दोलनको समीक्षा, आन्तरिक शक्ति निर्माण र सङगठनात्मक अवस्थालगायत सम्पूर्ण सकारात्मक- नकरात्मक, बलियो र कमजोरी पक्षहरुको सूक्ष्म- सूक्ष्म अध्ययन विश्लेषण मूल्याङ्कन र समीक्षा गर्दै आगामी वैचारिक कार्यदिशा, रणनीति र कार्यनीतिहरु तय गर्दै राष्ट्रिय राजनीतिमा राज्य सत्ता प्राप्तिको खातिर पार्टीलाइ मुख्य शक्तिको रुपमा स्थापित गराउँदै राज्य सञ्चालनको मूलप्रवाह शक्ति वा राज्य सत्ता सञ्चालनको मूल शक्ति बन्ने बनाउने ध्येयसहित सक्षम र सबल नेतृत्व निर्माण वा निर्वाचित गराउने कार्यसम्म पर्दछ ।

पार्टीले लिने सैद्धान्तिक – वैचारिक कार्यदिशा, पार्टीको सङ्गठनात्मक प्रस्ताव, अबको नेपाली क्रान्ति वा नेपाली विसेषताको समाजवादी यात्रा कस्तो हुने आदि विषयमा पार्टीले केन्द्रीय सचिवालयमा व्यापक छलफल पश्चात वैचारिक प्रस्तावित दस्तावेज मातहत कमिटीमा छलफलको लागि पठाइसकिएको अवस्था छ र यो तल्लो-तल्लो कमिटी र कार्यकर्तामाझ घनीभूत छलफल र बहस भइरहेको अवस्था छ । महाधिवेशनमा आउने प्रतिनिधिहरु पनि देशव्यापी रुपमा २०८१ असार ५ गते एकसाथ निर्वाचित भैसकेका छन् । उनीहरुले वैचारिक कार्यदिशाबारे महाधिवेशनमा छलफल र निर्णय वा फैसला गर्ने नै छन् ।

महाधिवेशनको मुख्य तीन कार्यभारहरु:
सबैलाई जानकारी छ कि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टी नेपालको लामो कम्युनिष्ट आन्दोलनमा आएको सैद्धान्तिक,वैचारिक विचलनको कारण विद्रोहको जगमा उभिएर स्थापना भएको पार्टी हो । नेपाली कम्युनिष्ट आन्दोलनको लामो ऐतिहासिक उपलब्धिहरु समेत नामेट हुने गरेर कम्युनिष्ट आन्दोलनलाई नै विसर्जन गर्ने हिसाबले नेकपा एमालेमा आएको विचलनलाइ चिर्दै नेपालमा रहेको कम्युनिष्ट आन्दोलनको वर्तमान आवश्यकता र औचित्यलाई पुष्टि गराउँदै वास्तविक र सही समाजवादी आन्दोलनको नेतृत्व गर्ने कम्युनिष्ट पार्टीको आवश्यकता भएर नै नेकपा एमालेको विसर्जनवादी नीति र नेतृत्व विरुद्ध विद्रोह गर्दै नेकपा एकीकृत समाजवादीको स्थापना वा निर्माण गर्नुपरेको हो । त्यसैले विद्रोहको औचित्य पुष्टि गराउँदै अवलम्बन गरिने विद्रोही विचार र नेतृत्वको अनुमोदन गराउनु यो महाधिवेशन को प्रमुख कार्यभार हो । दशौँ राष्ट्रिय महाधिवेशन को मुख्यतया तीन कार्यभारहरु रहेका छन:

क.बिद्रोहको औचित्य पुष्टि र अनुमोदन ।
ख. सही समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्ने क्रान्तिकारी विचारको अनुमोदन ।
ग. विद्रोह गर्ने क्रान्तिकारी नेतृत्वको अनुमोदन ।

यसरी नेकपा (एकीकृत – समाजवादी ) को माहाधिवेधनले मुख्यतया विद्रोह गर्नुपर्ने कारण र एमालेसँग विच्छेद गरिनु पर्ने कारण पुष्टि गराउँदै त्यो विद्रोहलाई अनुमोदन गर्नु प्रथम प्रमुख कार्यभार हो । विभाजन एकता र रुपान्तरणको निम्ति विगतमा हामीले गरेको विद्रोहको औचित्यलाई पुष्टि गर्दै अनुमोदन गराउनु पर्दछ ।
एमालेलगायत अन्य कतिपय कम्युनिष्ट पार्टीहरुले समाजवादी क्रान्तिकारी विचारलाई नै परित्याग वा विसर्जन गरिसकेको अवस्थामा सही समाजवादी आन्दोलनको नेतृत्वकर्ता सही कम्युनिष्ट पार्टीको आवश्यकतालाई ध्यानमा राखेर पार्टी स्थापना गरिएको हुनाले सही मार्क्सवादी समाजवादी विचार, दृष्टिकोण, व्यवाहार र क्रान्तिकारी विचारलाई अनुमोदन गर्नुपर्ने छ ।
त्यसपछिको प्रमुख कार्यभार भनेको विद्रोहताका नेतृत्वदायी भूमिकामा रहेको नेतृत्वकर्ता नेताहरुको अनुमोदन नै हो ।

अबको नेतृत्व

विद्रोहको अनुमोदनसँगै क्रान्तिकारी समाजवादी विचारधाराको अनुमोदन पश्चात सबै भन्दा ठूलो कार्यभार भनेको सही नेतृत्व को छनौट, निर्वाचन वा मनोनयन नै हो । हाललाई नेतृत्वको कुरा गर्दा सर्वप्रथम नेकपा एकीकृत समाजवादी गठन गर्दै गर्दा खेरी धेरै नेता कार्यकर्ताहरुमा आएको दुविधा, अस्पष्टता र ढुलमुले चरित्रलाई ख्याल गर्नु जरुरी छ ।
धेरै नेता कार्यकर्ताहरुले एमालेले लिएको बाटो गलत भएको थाहा पाएर पनि विभिन्न प्रलोभन, राजनीतिलाइ पेसाझैँ स्वार्थपूर्ति गरिखाने माध्यम बनाएर विद्रोह गर्ने आँट गरेनन् । जनताको स्वार्थभन्दा आफ्नो स्वार्थलाइ केन्द्रमा राखेर साँचो र सत्य कुरा बोल्ने सम्म हिम्मत गरेनन् र सही बाटो हिँड्नसम्म हिम्मत गरेनन् । विद्रोह गर्ने आँटै गरेनन् । देश र जनताको लागि सही निर्णय लिनुभन्दा आफू कसरी सुरक्षित हुन्छु आफू कुन पदमा कसरी अटाउन सक्छु ? भन्ने आफ्नै चिन्तामा मात्र रुमलिएको र आफ्नो भविष्यको मात्र चिन्ता गरेको पाइयो ।

यस्तो अवस्थामा एउटा साहसी, दृढ विश्वास, आत्मविश्वाससहितको नेता र नेतृत्वको खाँचो र अपरिहार्यता थियो । जसको नेतृत्व वर्तमान पार्टी अध्यक्ष कमरेड माधव नेपाल बाट मात्र सम्भव भएको थियो । विद्रोहको लाइनमा रहेका धेरै नेताहरु आत्मसमर्पणवादी भगौडाको रुपमा देखा परेको कुरा सबैलाइ विदितै छ । यस्तो अवस्थामा नेतृत्व गरेर विद्रोहको जग वसाल्ने नेता र नेतृत्वको इतिहासले मूल्याङन गर्नुपर्दछ । नेकपा एकीकृत समाजवादी नेपाली कम्युनिष्ट आन्दोलनलाई यहाँ सम्म ल्याई पुर्‍याउने प्रमुख वामपन्थी दलको नेतृत्वदायी भूमिकामा रहने दुई दुई जना (झलनाथ खनाल र माधव नेपाल ) शीर्ष नेताहरु रहेको पार्टी हो । संख्या र आकारमा जे जस्तो अवस्थामा हाल देखा परेको भए पनि भविष्यमा नेपाली समाजवादी क्रान्तिको भावी कार्यभार पूरा गर्ने सबैभन्दा भरपर्दो विश्वासिलो र भरोसायोग्य पार्टी वन्ने हो । अन्य पार्टीहरुले यो विश्वास गुमाइसकेको अवस्था छ । त्यसका निम्ति सतिसाल झैँ अविचलित दृढ इच्छाशक्ति सहितको दूरदर्शी अन्य सबैतिरबाट स्वीकार्य नेतृत्व जरुरी छ ।

यो सँगसँगै विद्रोहताकाको नेतृत्वको अनुमोदन जरुरी छ । जस्ले नेतृत्व गरेर विद्रोह गरे उनको नेतृत्वमा पार्टीलाइ थप संस्थागत गराउनु अहिलेको आवश्यकता हो । ढुलमुले चरित्रको नेताहरुबाट यो सम्भव हुन्न । पार्टी निर्माण पश्चातका छोटो अवधिमा पनि अन्य दलहरु सँगको सहकार्य गठबन्धन आदि गर्ने सवालमा पनि नेताहरुबीच अन्योलता र अस्पष्टता प्रसस्तै देखा परेका थिए । जुन पार्टी काम लाग्दैन भनेर विद्रोह गरियो त्यै पार्टीलाइ हेर्ने र बुझ्ने दृष्टिकोणमा समेत दुविधा उत्पन्न भएको धेरै देखियो । विद्रोह गरेर स्थपना भएको पार्टीमा यस्तो अन्योलता देखापर्नु दुखद कुरा हो यस्तो अवस्थाबाट नेतृत्वले पार लगाउनु पर्दछ । पार्टीको आन्तरिक नेतृत्व गर्ने अलावा थप अन्य शक्ति अन्य दलहरुको र राष्ट्रिय अन्तराष्ट्रिय रुपमा पनि ग्राह्य नेतृत्व निर्माण गर्नुपर्ने हुन्छ ।

यस्तो अवस्थामा हालला सबैभन्दा उपयुक्त नेतृत्व कमरेड माधव नेपालनै देखिनु हुन्छ । हाललाई अन्य विकल्पको खोजी गर्नु जरुरी छैन । तर उहाँले पनि मातहतका अन्य पदाधिकारीहरुमा योग्यतम सक्षम नेताहरु र पार्टको निम्ति योगदान गर्न सक्ने नेताहरुलाई स्थान दिनुपर्ने हुन्छ । हाल काम गर्ने भन्दा बढी नेताहरुलाई रिझाएर नेता बन्ने र अवसर लिने गलत प्रवृत्त हावी छ । यसबाट मुक्त भएर सही नेतृत्वहरुलाई केन्द्रीय कमिटीमा सामेल गराउनु पर्दछ । सबै वर्ग, लिङग, क्षेत्रका नेताहरुलाई समेटेर लैजानु सक्नुपर्दछ । परम्परागत हिसाबले होइन कि अबको दिनमा सबै खाले गलत प्रवृत्तिलाई तिलान्जली दिँदै पार्टीलाइ नयाँ शिराबाट हाँक्ने साहस गर्नै पर्दछ ।
* लेखक नेकपा एकीकृत समाजवादी दोलखा जिल्ला उपाध्यक्ष तथा राष्ट्रिय महाधिवेशन प्रतिनिधि समेत हुनुहुन्छ ।

स्रोतः उज्यालो नेटवर्क अनलाइन ।

 

You might also like